लगानीबाट हुने आयको गणना
सरकार सधैं कर कसरी असुल्ने भन्ने ध्याउन्नमा रहन्छ । जागीर वा अन्य कुनै व्यवसाय वा कुनै चल अचल सम्पत्ति अर्कालाई चलाउन (लगानी) दिएबापत तीनओटा उपायबाट व्यक्तिको आय आर्जन हुन्छ । हरेक प्रकारमा आयमा मुनाफा वा लाभ भए त्यस्तो मुनाफा वा लाभ भएको रकममा सरकारले कर लिन आफ्नो दाबी जनाइहाल्छ । सामान्यतया लगानीबाट आय आर्जन गर्ने व्यक्तिको त्यस्तो लगानीमा निरन्तर सहभागिता हुँदैन । अर्थात् आफ्नो अधीनमा रहेको सम्पत्तिलाई आफ्नो सक्रिय सहभागिताविना आय आर्जनमा लगाउने कार्य वा कुनै सम्पत्ति धारण गरी आय आर्जन गर्ने कार्य नै लगानी हो । उदाहरण, ‘क’ ले ‘अ’ बैंक को १० हजार कित्ता शेयर १० लाखमा रुपैयाँँमा खरीद गरेको रहेछ । उक्त शेयर खरीद गरेको कारणले निजले उक्त बैंकको प्रशासनिकलगायत कुनै पनि कार्यमा कुनै सक्रिय सहभागिता जनाउनु पर्दैन ।
व्यवसाय सञ्चालनसँग सम्बद्धबाहेक बैंक तथा वित्तीय संस्थालगायत कम्पनीले नेपालमा स्रोत भएको प्राकृतिक व्यक्तिलाई गरेको भुक्तानी मात्र अन्तिम हुने भएकाले त्योबाहेक ब्याज आयलाई अवस्थाअनुसार लगानी वा व्यवसायको आयमा समावेश गर्नुपर्छ ।
लगानी गरेबापत ‘अ’ बैंकले कुनै आर्थिक वर्षमा लाभांशबापत नगद रू. १ लाख र बोनस २०० कित्ता शेयर ‘क’ लाई दिएको रहेछ भने यसरी प्राप्त हुने नगद तथा बोनस नै लगानीबाट प्राप्त प्रतिफल हो । लगानीबापतको लाभांश भुक्तानीमा अग्रिम कर कट्टी विधिले कर लाग्छ । लगानीको आयका शीर्षकहरूमा लाभांश (माथिको उदाहरणमा दिइएको रू. १ लाख र बोनस शेयर जस्ता रकम), ब्याज, प्राकृतिक स्रोतबापतको (कुनै निकायले पेट्रोलियम उत्खनन गर्न स्वीकृति प्रदान गरेबापत प्राप्त गरिने रकम वा कुनै प्राविधिक सहयोग जस्ता रकम) भुक्तानी, भाडा (निकायका घरभाडाजस्ता रकम), रोयल्टी (कुनै वस्तुको व्यापार चिन्ह वा रोयल्टीबापतका भुक्तानी), लगानी बीमाबाट (मृत्यु वा चोटपटक वा पाँच वर्षभन्दा बढी अवधिको बीमा) प्राप्त लाभ र दफा ६३ को उपदफा (१) बमोजिम स्वीकृति प्राप्त नगरेको अवकाश कोषको (‘अ’ ले रोजगारदाताबाट स्वतन्त्र रूपमा सञ्चालित अवकाश कोषमा हरेक महीना रू. १ हजार जम्मा गर्ने गरेको रहेछ भने अवकाश कोषमा योगदान गरी जम्मा गरेकोे उक्त रकमलाई गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिँदैन) हितबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट गरिएकोे अवकाश भुक्तानीजस्ता रकम लगानीबाट भएको आयमा पर्छन् । गैरव्यावसायिक करयोग्य सम्पत्ति अर्थात् व्यवसाय वा लगानीमा प्रत्यक्ष रूपले प्रयोग नगरिएको तथा गैर व्यावसायिक करयोग्य सम्पत्तिमा पर्ने जग्गा, भवन तथा कुनै निकायमा रहेको हितको नि:सर्ग भएमा त्यस्तो नि:सर्गको समयमा नि:सर्गबापत प्राप्त खुद लाभलाई आयमा समावेश गर्नुपर्छ । यस्तो खुद लाभ गणना गर्दा आम्दानीबाट खर्च घटाई बाँकी रहने लाभबाट कुनै कट्टी नभएको नोक्सानी भए त्योसमेत घटाई बाँकी रहने रकम खुद लाभ हुन्छ ।
लगानीका सन्दर्भमा प्रतिबन्ध स्वीकार गरी प्राप्त रकम आयमा समावेश गर्नुपर्छ (उदाहण≤ ‘क’ र ‘का’ बीच ‘य’ भन्ने बैंको शेयर ‘क’ ले मात्र खरीद गर्ने शर्त रहेछ । त्यस्तो शर्तमा सहमति जनाएबापत ‘क’ ले ‘का’ लाई वार्षिक रू. १ लाख दिने शर्त रहेछ भने ‘का’ को उक्त आय लगानीमा प्रतिबन्ध स्वीकार गरेबापतको रकम मानिन्छ ) । लगानीका सन्दर्भमा कारोबारको भुक्तानी नगदमा मात्र नभई सम्पत्तिको हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा त्यसरी हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको (उदाहरण, ‘ट’ ले ‘भ’ बैंङ्कमा रू. १० लाख जम्मा गरेकोमा रू. ५ हजार पर्ने टेबल दिएको रहेछ भने उक्त ५ हजार रुपैयाँ ‘ट’ ले आफ्नो लगानीको आयमा समावेश गर्नुपर्र्छ) रकम, ह्रासयोग्य सम्पत्तिको नि:सर्गबापत ह्रास आधारभन्दा बढी ( उदाहरण, आव २०७९/०८० मा ह्रासयोग्य सम्पत्तिको ह्रास आधार मूल्य रू. ५ लाख रहेछ, सोही सम्पत्ति सोही समयमा रू. ७ लाखमा विक्री भएको रहेछ भने बढी भएको रू. २ लाख) रकमलाई पनि लगानीको आयमा समावेश गर्नुपर्छ । यस्तै सम्पत्ति वा दायित्वको नि:सर्गबापतको लाभलाई पनि लगानीको आयमा समावेश गर्नुपर्छ ।
गैरव्यावसायिक करयोग्य सम्पत्ति अर्थात् व्यवसाय वा लगानीमा प्रत्यक्षरूपले प्रयोग नगरिएको तथा गैरव्यावसायिक करयोग्य सम्पत्तिमा पर्ने जग्गा, भवन तथा कुनै निकायमा रहेको हितको नि:सर्ग भएमा त्यस्तो नि:सर्गको समयमा नि:सर्गबापत प्राप्त खुद लाभलाई आयमा समावेश गर्नुपर्छ ।
लगानीको आयमा समावेश नहुने रकम
द्विपक्षीय वा बहुपक्षीय सन्धि वा सम्झौतामा उल्लेख भएबमोजिम कर छूटको सुविधा पाउने व्यक्तिले सोही सन्धिबमोजिम प्राप्त गरेको रकम, ऐनको दफा ५४ अनुसार कम्पनी तथा साझेदारी फर्मबाट वितरण गरिएको लाभांश र नियन्त्रित विदेशी निकायहरूद्वारा वितरण हुने रकमहरू लगानीको आय गणना गर्ने प्रयोजनका लागि समावेश गर्नु पर्दैन ।
पूर्वादेश तथा नजीरहरू
‘विद्युत् गृह निर्माण, उत्पादन र प्रसारण गर्ने निकायलाई लाग्ने आयकरको दरका लागि पूर्वादेश माग गरेकोमा निकायले आफ्नो पूँजी वा अन्य रकम बैंक मा राखी आर्जित आय लगानीबाट भएको आय गणना शीर्षकअन्तर्गत लगानीको आय आयकर ऐनको दफा ९(२) अनुसार भएको मानी २५ प्रतिशतले कर लाग्ने’ भन्ने भोटेकोशी पावर क. लाई २०६४/१२/१२ मा, ‘नेपाल दूरसञ्चार कम्पनीमा लगानी गरेको शेयर विक्री गर्दा खुद लाभमा २५ प्रतिशत कर लाग्ने’ भनी एक अमेरिकी कम्पनीलाई २०७०/९/२३ मा आन्तरिक राजस्व विभागबाट पूर्वादेशहरू जारी भएका छन् । यस्तै मिति २०७५/११/१ मा विभागबाट सानिमा माई हाइड्रोपावरलाई कर छूट प्राप्त विद्युत् उत्पादक कम्पनीलाई मुनाफा र लाभको उद्देश्य राखी बैंकमा जम्मा गरी प्राप्त गरेको ब्याज लगानीको आय हुने पूर्वादेश जारी भएको छ । यती ट्राभल वि. अर्थ मन्त्रालय भएको मुद्दामा सर्वोच्च अदालतबाट ‘मुद्दती ब्याजलाई आयमा गाभी पुन: आयकर निर्धारण गर्न पाउने सरकारलाई कानूनी अधिकारको विद्यमानता भएको देखिन नआउने’ भन्ने फैसला भए पनि परिवर्तित सन्दर्भमा आयकर ऐन,२०५८ को दफा ९२ (१)(ङ) बमोजिम व्यवसाय सञ्चालनसँग सम्बद्धबाहेक बैंक तथा वित्तीय संस्थालगायत कम्पनीले नेपालमा स्रोत भएको प्राकृतिक व्यक्तिलाई गरेको भुक्तानी मात्र अन्तिम हुने भएकाले त्योबाहेक ब्याज आयलाई अवस्थाअनुसार लगानी वा व्यवसायको आयमा समावेश गर्नुपर्छ ।
लेखक कर तथा वाणिज्य कानून क्षेत्रमा विज्ञ अधिवक्ता हुन् ।