काठमाडौं । ठूला बीमा कम्पनीले चासो नदिएपछि लघुबीमा कारोबारका लागि स्थापना भएका कम्पनीले बजार अंश बढाउन थालेका छन् । गरीब तथा विपन्न वर्गमा बीमाको पहुँच पुर्याउन भन्दै तत्कालीन बीमा समितिले २०७१ सालमा लघुबीमा निर्देशिका जारी गरेको हो । त्यसपछि २०७५ सालमा बीमा कम्पनीहरूलाई कुल व्यवसायको १० प्रतिशत लघुबीमा गर्न निर्देशनसमेत दिएको थियो ।
कम्पनीहरूले यो व्यवसायमा रुचि नदेखाएपछि नेपाल बीमा प्राधिकरणले २०७९ मङ्सिरमा तीनओटा कम्पनीलाई लघु जीवन बीमा र चारओटालाई निर्जीवन लघु बीमाको अनुमति दियो । प्राधिकरणले अनुमति दिएका सबै कम्पनीले कारोबार शुरू गरेसँगै लघुबीमा व्यवसाय लघुबीमा कम्पनीमा सर्न थालेको छ । ठूला कम्पनीहरूले भने लघुबीमा व्यवसाय छोेड्न थालेका छन् ।
सञ्चालनमा आएको १ वर्षमै लघुबीमा कम्पनीहरूले कुल लघु बीमा बजारको ८५ प्रतिशत अंश ओगटिसकेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरूले कुल १ लाख ४७ हजार बीमालेख जारी गरी ३१ करोड ३६ लाख रुपैयाँ लघु बीमाशुल्क उठाएकोमा लघुबीमा कम्पनीहरूले मात्र १ लाख २७ हजार बीमालेख जारी गरी २९ करोड ४८ लाख रुपैयाँ त्यस्तो बीमाशुल्क उठाएका छन् ।
२०८१ असारमा १४ ओटा ठूला निर्जीवन बीमा कम्पनीमध्ये पाँचओटाको लघुबीमा व्यवसाय नगन्य छ । असारसम्ममा नेशनल इस्योरेन्स, दि ओरिएन्टल, एनएलजी, हिमालयन एभरेष्ट र युनाइटेड अजोड इन्स्योरेन्सले विक्री गरेको लघु बीमालेखको संख्या सयभन्दा कम छ ।
प्राधिकरणले चारओटा कम्पनीलाई निर्जीवन लघुबीमाको अनुमति दिएको अघिल्लो आवको अन्त्यमा नेपाल माइक्रो र स्टार माइक्रोले कारोबार शुरू गरेका थिए । यस्तै प्रोटेक्टिभ माइक्रोले गत आवको शुरूमा र ट्रस्ट माइक्रोले गत चैतबाट कारोबार शुरू गरेको थियो । गत आवमा यी कम्पनीमध्ये सबैभन्दा बढी नेपाल माइक्रोले ४९ हजार ४७३ बीमालेख जारी गरी १० करोड ३१ लाख बीमाशुल्क उठाएको छ ।
निर्जीवन लघुबीमालाई कम्पनीहरूले चासो नदिए पनि लघु जीवन बीमामा भने पुराना कम्पनीको उपस्थिति बलियो छ । गत आवसम्ममा कुल लघुबीमा व्यवसायमध्ये लघुबीमा कम्पनीहरूको अंश मात्र ३ प्रतिशत हाराहारीमा देखिएको छ ।
गत आवसम्ममा कम्पनीहरूले ३६ लाख बीमालेख विक्रीबाट २ अर्ब ८३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा लघुबीमा कम्पनीले मात्र १ लाख ६ हजार बीमालेखबाट १६ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् ।
लघुबीमाको कारोबार गर्न अनुमति पाएकामध्ये गार्जियन माइक्रो लाइफ अघिल्लो आवको अन्त्यमा र क्रेष्ट माइक्रो लाइफले गत आवको साउन तथा लिबर्टी माइक्रो लाइफले पुसमा कारोबार शुरू गरेको हो ।
यसमध्ये सबैभन्दा बढी क्रेष्ट माइक्रो लाइफले गत आवसम्ममा ५८ हजार बीमालेख विक्रीबाट ९ करोड ७६ लाख बीमाशुल्क संकलन गरेको छ ।
प्राधिकरणका प्रवक्ता तथा सुुशीलदेव सुवेदी लघुबीमाको पहुँच बढाउन छुट्टै कम्पनीलाई लाइसेन्स दिइएको र यसबाट बजार पनि विस्तार भएको बताउँछन् । तर, पुराना कम्पनीलाई कुल बीमाको १० प्रतिशत लघु बीमालेख जारी गर्न समयसीमा नतोकिएकाले प्राथमिकतामा नपरेको उनको भनाइ छ ।
लघुबीमा व्यवसाय विस्तारका लागि बीमा ऐन, २०७९ मा न्यून आय भएका, सामाजिक तथा भौगोलिक रूपले पिछडिएका व्यक्तिलाई लक्षित गरी गर्ने बीमालाई लघुबीमाको रूपमा व्याख्या गर्दै लघुबीमा कारोबारका लागि छुट्टै कम्पनी स्थापना गर्न सकिने उल्लेख गरिएको छ । उक्त ऐनको प्रावधानअनुसार प्राधिकरणले नयाँ कम्पनीहरूलाई अनुमति दिएको हो ।