लघुवित्त सेवामा समयसापेक्ष परिवर्तन गर्न अनिवार्य लघुबीमा शुरू गर्नुपर्ने देखिन्छ । विपन्न समुदायमा समूहमा बसेर लघुवित्तबाट वित्तीय कारोबार गरिरहेका लक्षित वर्गमा हालसम्म पनि बीमाको पहुँच अत्यन्तै न्यून छ । पछिल्लो तथ्यांकअनुसार करीब ४४ प्रतिशत जनसंख्यामा बीमाको सेवा पुगेको छ । अधिकांश जनतामा बीमाको सेवा पुगेको छैन । बीमाका सेवाहरू जनमैत्री भए पनि वितरण प्रणाली जनमैत्री छैन । जनमानसमा बीमा भन्नेबित्तिकै प्रिमियम उठाउने र क्षतिपूर्ति नदिने कार्यक्रमको रूपमा परिचित छ । सरकारकै जमानतमा कोरोना बीमा कार्यक्रम शुरू गर्नु र त्यसको क्षतिपूर्ति सबै बीमितलाई नदिनुले बीमा व्यवसायको विश्वसनीयता गुमेको अवस्था विद्यमान छ । लघुवित्त संस्थाको सहजीकरणमा विभिन्न बीमा कम्पनीहरूबाट प्राय:जसो लघुवित्त कर्जा ऋणीहरूकोे बीमा गर्ने गरिएको छ । ऋणीहरूले कर्जा समयसीमा भित्रै नतिर्दा अधिकांश बीमा पोलिसीको म्याद गुज्रिसकेकाले त्यो पनि प्रभावकारी भइरहेको छैन । लघुवित्तका ऋणीले लिएको कर्जाबाट सञ्चालन हुने तथा गर्ने परियोजना, उनीहरूको सम्पत्ति, स्वास्थ्यको बीमा अत्यन्तै न्यून छ अर्थात् प्राय: भएको छैन भन्दा हुन्छ ।
विपन्न समुदायको पहुँचमा रहेको लघुवित्त संस्थामार्फत प्रदान गर्ने सेवामा लघुबीमासहित पूर्णता भयो भने लघुवित्त सेवाले बोकेको उद्देश्यअनुसारको सफलता प्राप्त गर्न सकिन्छ ।
विपन्नहरूद्वारा सञ्चालन गरिएको व्यवसाय तथा तिनका परिवारका सदस्यको स्वास्थ्यमा आउने समस्याका कारण हुने उपचार खर्च, आकस्मिक घटना तथा प्राकृतिक प्रकोपका कारण हुने नियन्त्रणभन्दा बाहिरको आर्थिक व्ययको जोखिमबाट सुरक्षा प्रदान गर्न सकेमा मात्रै लघुवित्त सेवाको उपलब्धि कायम राख्न सकिन्छ । यसका लागि विपन्न परिवारद्वारा लघुकर्जा सुविधा लिएर सञ्चालित व्यवसाय, पशुधन, कृषिबालीका साथै उनीहरूको जीवन तथा स्वास्थ्यबीमा अपरिहार्य भइसकेको छ । लघुबीमा राम्रो र प्रभावकारी रूपमा समुदायमा सञ्चालन हुन सकेमा मात्रै त्यसबाट विपन्न वर्गलाई आर्थिक सुरक्षा, जोखिम वहन तथा भविष्यका लागि बचत गर्न सक्ने वातावरण प्राप्त हुनेछ । व्यवसाय, पशुधन तथा कृषिमा क्षति पुगेमा बीमामार्फत क्षतिपूर्तिको व्यवस्था हुन सकेमा परिवारहरू पुन: व्यवसाय सञ्चालन कायम राख्न सक्छन् । व्यवसायमा पर्न सक्ने भवितव्यबाट हुन सक्ने ठूलो आर्थिक क्षतिको जोखिमबाट परिवारको आर्थिक अवस्था टाट पल्टिन सक्छ । यसले गर्दा कर्जा लिएर उद्यम गर्ने आत्मविश्वासमा कमी आउँछ । त्यसैले स्वरोजगारी तथा व्यवसायतर्फ आकर्षित हुन नसकेको विपन्न समुदायमा सहुलियतपूर्ण विश्वसनीय लघुबीमाको व्यवस्था प्रभावकारी रूपमा सञ्चालन गर्न सकेमा विपन्न समुदाय वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गर्नेतर्फ उत्प्रेरित हुन सक्छन् । अन्यथा सम्भावित जोखिम र भविष्यमा हुन सक्ने आफ्नो आर्थिक अवस्था तथा भएको वास पनि गुम्ने डरले अतिविपन्न वर्ग लघुवित्त संस्थाबाट विनाधितो कर्जा लिनबाट वञ्चित भइरहनेछ । अतिविपन्न वर्गले लघुवित्त संस्थामार्फत विनाधितो कर्जा लिन नसकेको र डराइरहेको अवस्थामा उक्त वर्गलाई लघुवित्तको दायरामा ल्याउन लघुकर्जा, लघु बचतका साथसाथै अनिवार्य रूपमा लघुबीमा सेवा प्रदान गरी सेवामा पूर्णता दिएमा मात्रै प्रभावकारिता आउनेछ । अन्यथा व्यवसाय, पशुधनको मृत्यु, परिवारमा आय आर्जन गर्ने सदस्यको मृत्यु तथा कुनै सदस्यको रोगव्याधिको उपचारका लागि हुन सक्ने ठूलो आर्थिक व्ययभारले लघुवित्त सेवाको धेरै वर्षको सेवापश्चात् अतिविपन्नबाट विपन्न तथा निम्न मध्यम वर्गतिर उकालो लागेका तमाम परिवार कुनै पनि बेला अतिविपन्न वर्गमा पुग्न सक्छन् । यसर्थ लघुवित्त सेवाका साथसाथै विपन्न वर्गलाई अनिवार्य लघुबीमाको आवश्यकता झनै टड्कारो रूपमा रहेको छ ।
देशका दूरदराजका गाउँमा बस्ने विपन्न समुदायमा लघुवित्त सेवाकोे पहुँचमा वृद्धि निरन्तर भइरहेको छ, तर अपेक्षित मात्रामा हुन सकेको छैन । लघुवित्त संस्थाबाट प्रदान हुने कर्जा कृषिक्षेत्रमा अधिकतम प्रवाह भएको छ । सरकारले कृषकका लागि कृषि व्यवसाय बीमाको शुल्कमा ८० प्रतिशतसम्म अनुदान व्यवस्था गरे पनि यो सफल हुन सकेको छैन । विपन्न समुदायमा पुग्ने सेवा एउटै ढोकाबाट प्राप्त नहुनु, विपन्नलक्षित कार्यक्रमबीच समन्वय नहुनु, विपन्नमा लघुबीमाको सहज पहुँच नहुनु, लघुबीमाका बारेमा समुदायमा चेतनाको कमी हुनु, बीमाको विश्वसनीयता नहुनु, क्षतिपूर्ति समयमा नपाउनु आदि यसका कारण रहेका छन् ।
विपन्न समुदायको पहुँचमा रहेको लघुवित्त संस्थामार्फत प्रदान गर्ने सेवामा लघुबीमासहित पूर्णता भयो भने लघुवित्त सेवाले बोकेको उद्देश्यअनुसारको सफलता प्राप्त गर्न सकिन्छ । लघुवित्त संस्थाले विपन्नलाई प्रदान गर्ने हरेक सेवाको बीमामार्फत सुनिश्चित र सुरक्षित गरिनुपर्छ । लघुवित्त सेवामा सहभागी हुने परिवारका सदस्यहरूको जीवन, संस्थामार्फत प्रवाह हुने कर्जा, संकलन हुने बचत तथा बचत खाता र कर्जाबाट सञ्चालन हुने हरेक व्यवसाय उद्यमको बीमा अनिवार्य गरिनुपर्छ । बीमा एकपटक गरिसकेपछि स्वत: नवीकरणको व्यवस्था गर्दा अवधि सकिएको, नवीकरण नभएको बहानामा क्षतिपूर्ति नपाउने अवस्था रहने छैन । यसरी लघुवित्त संस्थाले प्रदान गर्ने हरेक कर्जाबाट सञ्चालन हुने उद्यम व्यवसाय तथा परियोजनाको अनिवार्य बीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएमा लघुकर्जाको कर्जा सदुपयोग सुनिश्चित हुनेछ । हाल लघुवित्त सेवाको प्रमुख चुनौती भनेकै कर्जाको सदुपयोग नहुनु हो जुन चुनौती लघुकर्जाबाट सञ्चालन हुने व्यवसाय उद्यमको अनिवार्य बीमाको व्यवस्थाबाट समाधान हुन जानेछ । उद्यम व्यवसायको अनिवार्य बीमा र दोहोरो बीमा गर्न नसकिने व्यवस्था गरिदिँदा एकै व्यवसायमा बहुसंस्थाको लगानी स्वत: बन्द हुन जानेछ । कर्जा सदुपयोगबाट उत्पादनमूलक र नाफामूलक व्यवसायमा लगानी भई व्यवसायको प्रतिफलको सुनिश्चितता हुनेछ । यसरी अनिवार्य लघुबीमाबाट कर्जा सदुपयोगको वातावरण सृजना हुनेछ । यसले लघुवित्तमा रहेका कर्जा लिएर कमिशन आफूले खाएर कर्जा अरूलाई चलाउन दिने, धेरै जनालाई कर्जा लिन लगाएर एकै जनाले कर्जा चलाउनेलगायत समस्याको समाधानमा लघुबीमा सहयोगी हुने देखिन्छ । लघु उद्यम तथा व्यवसायको अनिवार्य लघुबीमाबाट सम्भावित जोखिमको कारण हुन सक्ने क्षतिपूर्ति मिल्नेछ । क्षतिपूर्तिका कारण उद्यम गर्ने आँटमा वृद्धि भएर जानेछ । समुदायमा उद्यम गर्ने आँट र विश्वास बढेर जाँदा उद्यमीहरूको संख्यामा वृद्धि हुनेछ ।
सबैको स्वास्थ्य उपचारमा समान पहुँच गराएर आर्थिक तथा सामाजिक सुरक्षा प्रदान गर्दै लघुवित्त सेवाले गर्दै आएको विपन्नलाई वित्तीय सेवाको पहुँचमा पुर्याएर गरीबीको घट्दो दर कायम राख्न लघुवित्त सेवामा अनिवार्य लघुबीमा सेवाको भूमिका एकदमै महङ्खवपूर्ण हुनेछ ।
सामान्यत: विपन्न वर्गले बीमासेवाको उपभोग गर्न शुरूमा बीमा प्रिमियम तिर्नुपर्ने भन्नेबित्तिकै अस्वीकार गर्ने गर्छन् । उनीहरूलाई बीमा गराउँदा हुने फाइदा र नगराउँदा हुने जोखिमका बारेमा विस्तृत जानकारी गराउनु आवश्यक हुन्छ । बीमा गराउँदा लाग्ने चर्को शुल्कको र क्षतिपूर्तिको प्रत्याभूति पनि अर्को ठूलो चुनौतीका रूपमा रहेको हुन्छ । विपन्नले लिने सानो कर्जा त्यसमा पनि बीमा शुल्कको कारण पर्ने भारले उनीहरू समस्यामा परेको अनुभव गर्ने छन् । यसका लागि बीमा शुल्कमा सरकारी अनुदान र स्तरीय सुविधाका लागि प्रत्याभूति गराउनु आवश्यक छ । विपन्न समुदायमा परिवारको एउटै सदस्यलाई औषधि उपचार गराउनु पर्नेबित्तिकै परिवार आर्थिक बिचल्लीमा पर्ने गरेको छ । स्वास्थ्य बीमाको अभावमा लघुवित्त सेवाका माध्यमबाट आर्थिक उन्नति गरिरहेका परिवार, एउटै सदस्य बिरामी पर्ने र उपचार गराउँदाको खर्चका कारण पुन: अतिविपन्न वर्गमा पुग्ने गरेको पाइन्छ । सबैको स्वास्थ्य उपचारमा समान पहुँच गराएर आर्थिक तथा सामाजिक सुरक्षा प्रदान गर्दै लघुवित्त सेवाले गर्दै आएको विपन्नलाई वित्तीय सेवाको पहुँचमा पुर्याएर गरीबीको घट्दो दर कायम राख्न लघुवित्त सेवामा अनिवार्य लघुबीमा सेवाको भूमिका एकदमै महत्त्वपूर्ण हुनेछ ।
नेपालमा पछिल्लो दशकमा लघुबीमा सेवामा धेरै नै प्रगति भएको छ । तर, विपन्नलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको बीमासेवा भने ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भनेजस्तै भएको छ । दूरदराजका ग्रामीण विपन्न जनजाति, दलितपीडित सुकुमबासी, विपन्न गरीब परिवार सबै सुविधाबाट वञ्चित छन् । बीमासेवाको वितरण प्रणालीमा रहेको कमजोरीले गर्दा निर्धन तथा विपन्नहरूको बीमासेवामा पहुँच नपुगेको हो । नेपालमा विपन्नको घरदैलोमा पुग्न सफल प्रभावकारी औपचारिक कार्यक्रम भनेको लघुवित्त कार्यक्रम मात्रै हो । लघुवित्त कर्मचारीको निरन्तर अथक प्रयास र उत्प्रेरणापछि समूहमा सम्मिलित भई लघुकर्जा कारोबार गरिरहेका विपन्न समुदाय यथेष्ट सम्पूर्ण बीमासेवाको अभावमा विभिन्न जोखिमबाट पीडित भएर लघुवित्तको किस्ता तिर्न नसकेर पीडित भएका छन् । छिमेकी पीडितलाई देखेर लघुवित्तको समूहमा काम गर्ने सोच बनाएकाहरू पनि लघुवित्त सेवा लिन अनकनाएको अवस्था छ । त्यसैले समुदायमा रहेका सबै अतिविपन्नलाई समेत वित्तीय सेवाको पहुँचमा ल्याउन, लघुवित्त सेवाको उद्देश्य पूरा गराउन, कर्जाको सदुपयोग गराएर विपन्नको भविष्य सुरक्षित गराउन, लघुवित्त सेवामा हाल देखिएका विकृति, बढ्दो जोखिम कर्जा घटाउन तथा विद्यमान विभिन्न समस्याको समाधान गरेर चुनौतीको सामना गरी लघुवित्त सेवामा सबलता र प्रभावकारिता ल्याउन लघुवित्त सेवाग्राहीहरूलाई अनिवार्य लघुबीमा सेवामा सहभागी गराउनैपर्छ ।
विपन्नहरूलाई सबै खाले लघुबीमा सेवा प्रवाह लघुवित्त संस्थाबाटै गर्दा लघुबीमा सेवाको वितरण प्रभावकारी हुने भएकाले नियामक निकाय तथा सरकारले यसका लागि आवश्यक नीति निर्माण गरेर कार्यान्वयन तत्कालै गर्न आवश्यक छ ।
लेखक लघुवित्तसम्बन्धी ज्ञाता अधिवक्ता हुन् ।