लघुवित्त निकै नै मुनाफा दिने व्यवसाय भए पनि पछिल्लो समय लघुवित्त क्षेत्रमाथि भइरहेको प्रहारका कारण यसको मुनाफा प्रभावित भएको छ र कतिपय लघुवित्त वित्तीय संस्थाले लाभांश नै वितरण गर्न सकेका छैनन् । यसो हुनुमा नियोजित रूपमा लघुवित्तमाथि आक्रमण हुनु र सरकारले लिएको गलत नीति कारण देखिन्छ । नेपालमा लघुवित्तका बारेमा धेरैमा भ्रमपूर्ण सोचाइ रहेको पाइन्छ । त्यसमा सुधार हुन जरुरी छ ।
नेप्सेमा सूचीकृत लघुवित्त कम्पनीमध्ये हालसम्म १५ ओटाले गत आर्थिक वर्ष (आव) २०७९/८० को मुनाफाबाट शेयरधनीलाई लाभांश दिएका छन् भने २७ कम्पनीले लाभांश नदिने निर्णय गरेका छन् । उनीहरू नियामकीय कडाइ र खराब कर्जा वृद्धिले गर्दा लाभांश दिन नसक्ने अवस्थामा पुगेका देखिन्छन् । लाभांश वितरण गरेका कम्पनीको पनि लाभांश दर घटेको छ । अहिले लघुवित्तले महँगो ब्याज लियो भनेर यसका विरुद्ध अभियान नै चलाइएको छ । कर्जाको साँवाब्याज उठाउन आउने कर्मचारीलाई कालोमोसो दल्न सार्वजनिक आग्रह गर्ने व्यक्तिलाई सरकारले कुनै पनि कारबाही गर्न सकेन, गर्न खोजेन । यसले कर्जाको साँवाब्याज नतिर्न ऋणीहरूलाई प्रोत्साहित गरेको देखिन्छ । यस्तोमा लघुवित्तको मुनाफा प्रभावित हुनु स्वाभाविक हो ।
लघुवित्तले दिने ऋण सानो आकारको हुन्छ । सानो आकारको ऋण लिएर ऋणीले छोटो समयमा निकै आम्दानी गर्न सक्छन् । त्यसले गर्दा उनीहरूलाई ब्याजदर बढी भयो भन्ने समस्या हुँदैन ।
खासमा मानिसहरूमा लघुवित्तप्रतिको बुझाइ नै अपूर्ण देखिन्छ । लघुवित्तले विपन्न वर्गलाई वित्तीय पहुँच दिएर आयआर्जनको राम्रो अवसर दिएको हुन्छ । लघुवित्तले दिने ऋण सानो आकारको हुन्छ । सानो आकारको ऋण लिएर ऋणीले छोटो समयमा निकै आम्दानी गर्न सक्छन् । त्यसले गर्दा उनीहरूलाई ब्याजदर बढी भयो भन्ने समस्या हुँदैन । मानौं, थोक बजारबाट तरकारी ल्याएर खुद्रा बेच्नलाई लघुवित्तले कर्जा दिन्छ । त्यो कर्जा लिएर एकै दिनमा मुनाफा कमाई उसले लघुवित्तलाई कर्जा तिर्न सक्छ । उसका लागि कर्जाको ब्याजदरभन्दा पनि वित्तीय पहुँच ठूलो कुरा हो । लघुवित्त नहुने हो भने उसले साहूमहाजनकहाँ गएर लघुवित्तले लिनेभन्दा निकै बढी ब्याज तिर्नुपर्ने हुन्छ । तर, लघुवित्तले घरमै आएर सामूहिक जमानीमा विनाधितो कर्जा दिन्छ । यस्ता विपन्नले बैंकमा गएर कर्जा लिन सक्दैनन् । दूरदराजका ग्रामीण क्षेत्रमा बैंकको पहुँच पनि छैन ।
लघुवित्तलाई मुनाफा दिने क्षेत्र मानिन्छ । लघुवित्तको यो मान्यता नबुझेका मानिसहरूले लघुवित्तलाई नयाँ साहूकारको उपनाम दिएको पाइन्छ । चर्को ब्याज भयो भनेर लघुवित्तको विरोधमा प्रदर्शन हुन थालेको छ, त्यो पनि प्रायोजित रूपमा । लघुवित्त नहुने हो विपन्नले कर्जाका लागि फेरि साहूमहाजनकै आँगनमा धाउनुपर्ने हुन्छ । त्यसबाट उनीहरूलाई फाइदा होला कि बेफाइदा ? यति कुरो पनि लघुवित्तको विरोध गर्नेले सोचेको पाइँदैन । लघुवित्तलाई समस्यामा पार्ने काम प्रकारान्तरले सरकारले नै गरेको हो । एकातिर लघुवित्तका कर्जा नतिर्न उकास्नेलाई कुनै कारबाही गरेको छैन भने अर्कातिर विभिन्न नियामकीय डन्डा चलाइरहेको छ । सस्तो ब्याजमा कर्जा लगानी गर्नुपर्ने बाध्यता नेपाल राष्ट्र बैंकले खडा गरिदिएको छ । विपन्नलाई समस्या ब्याजदरको हुँदै होइन, वित्तीय पहुँचको हो । विपन्नलाई काम गर्ने वातावरण नबनाइदिनु हो । उनीहरूलाई केकस्तो व्यवसाय गर्न सकिन्छ भनेर नसिकाउनु हो । विपन्न वर्गले ठूलो लगानी गर्न सक्दैनन् । उनीहरूले गर्ने काम पनि सानोतिनो नै हुन्छ । यस्ता सानातिना काममा फाइदा भने बढी हुन्छ । त्यसैले लघुवित्तलाई बढी ब्याज लिएको आरोप लगाउनुु सही देखिँदैन । घरदैलोमै सेवा दिने हुँदा ब्याजदर यसै पनि केही महँगो हुन्छ नै ।
सबै लघुवित्त वित्तीय संस्थाले सही र राम्रो काम गरेका छन् भन्ने चाहिँ हुँदैन । दोहोरो कर्जा दिने, कर्जाबाट गर्ने व्यवसाय नहेर्नेजस्ता समस्या देखिएका छन् । कर्मचारीले कर्जाको लक्ष्य तोकेर काममा लगाउँदा उनीहरूले कर्जा दिनुलाई मात्रै प्राथमिकता दिएको पनि पाइन्छ । यस्ता कम्पनीहरूलाई नियामकले कारबाही गर्नुपर्छ । नियामककै गलत निर्देशनका कारण पनि यस्तो समस्या आएको देखिन्छ । त्यसैले लघुवित्त क्षेत्रलाई बलियो बनाउने हो भने उसको सेवाको प्रभावकारिता हेरिनुपर्छ, उसले लिने ब्याज र मुनाफालाई अतिरञ्जित गरिनु हुँदैन ।