देशमा ५७ वटा लघुवित्त वित्तीय संस्थाहरूले करीब ६० लाख घरधुरीलाई घरदैलोमा गएर वित्तीय सेवा दिएका छन् भने धेरै सहकारी संस्थाले समेत लघुवित्त सेवा प्रवाह गरिरहेका छन् । कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएर, बैंक तथा वित्तीय संस्था ऐन २०७३ बमोजिम नेपाल राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाको इजाजत पत्र लिएर लघुवित्तले वित्तीय सेवा प्रवाह गर्दै आएका छन् । त्यसैले लघुवित्तहरू लगभग शतप्रतिशत नै नीतिनियम तथा कानूनबमोजिम सञ्चालन भएको नियामक निकायको प्रतिवेदन छ । देशमा गरिबीको रेखामुनिको जनसंख्या करिब ५० प्रतिशत रहेको अवस्थामा विपन्नलाई वित्तीय सेवाको सहज पहुँच दिएर देशमा गरिबी न्यूनीकरण गर्ने, महिला सशक्तीकरण गर्ने, स्वरोजगार वृद्धि गर्ने, लैङ्गिक समानता गराउने र उद्यमशीलता विकास गराउने उद्देश्यले लघुवित्त सेवाको शुरुवात, विकास र विस्तार भएको हो । भर्खरै प्रकाशित राष्ट्र बैंकको लघुवित्त सम्बन्धी अध्ययन प्रतिवेदनले लघुवित्त सेवाले धेरै हदसम्म आफ्नो उद्देश्यमुताबिक नै कार्य गरेको देखाएको छ । यद्यपि हाल नेपाली सामाजिक राजनीतिमा लघुवित्त जस्तो सामाजिक वित्तीय सेवामाथि आरोप प्रत्यारोप गर्ने कार्य भइरहेको छ ।
आर्थिक, सामाजिक तथा व्यावसायिक समस्या आउनुमा लघुवित्तका सरोकारवालाहरू, लघुवित्तका ऋणी सदस्य, लघुवित्त संस्था तथा कर्मचारी, नियामक निकाय, समाज र समग्रमा सरकार सबै दोषी रहेका छन् ।
लघुवित्तमाथि प्रश्नैप्रश्न
विश्वव्यापी रूपमा गरिबी न्यूनीकरणको लागि एक सशक्त माध्यमको रूपमा मानिएको लघुवित्त सेवा हाल आएर नेपालमा किन विवादित बनेको छ ? विगतमा सामाजिक सेवा, विपन्न वर्गको सारथी तथा सहाराको रूपमा मानिएको लघुवित्त सेवा आज किन विपन्नकै माझ अलोकप्रिय, विवादित बन्यो ? हिजो लगानीकर्तालाई आकर्षक प्रतिफल दिन, सरकारलाई ठूलो करभुक्तान गर्न सफल लघुवित्त संस्थाहरू आज किन वित्तीय रूपमा धराशयी हुँदै छन् ? लघुवित्त संस्थामा कार्यरत कर्मचारीहरू कार्यक्षेत्रमै असुरक्षित महसुस गरिरहेका छन्
किन ? किन सूदखोर, लुटेरा मिटरब्याजीका रूपमा परिभाषित गरिएको छ ? समुदायमा विपन्नको घरआँगनमा हुने लघुवित्त कारोबार र कारोबार सञ्चालन गर्ने कर्मचारी किन असुरक्षित हुँदै गए ? देशभित्र बढ्दै गएको वित्तीय संस्थाविरोधी समूहले लघुवित्त, सहकारी संस्था र अनौपचारिक क्षेत्रका वित्तीय दलाल मिटरब्याजीलाई किन एउटै डालोमा राखेर संघर्ष गर्न पुगे ? लघुवित्त संस्थाहरूमा किन निष्क्रिय कर्जा बढिरहेको छ ? कर्जा असुली किन भएन ? लघुवित्तपीडित भन्दै संघर्षमा उत्रनुको कारण के हो ? उनीहरू कस्को नेतृत्वमा आन्दोेलित छन् ? के आन्दोलनका नेतृत्वकर्ता लघुवित्तका ग्राहक हुन् ? तिनले लघुवित्त सेवाग्राहीहरूलाई किन उक्साइरहेका छन् ? यी तमाम प्रश्नहरूको उत्तर खोज्न जरुरी भएको छ ।
लघुवित्तको उपलब्धि
देशमा वित्तीय सेवाको पहुँचमा वृद्धि र समावेशी अर्थतन्त्र विकासको लागि लघुवित्तबाहेक अन्य औपचारिक वैकल्पिक वित्तीय सेवा न विगतमा थियो न निकट भविष्यमा नै हुने देखिन्छ । लघुवित्त सेवाकै कारण देशमा उल्लेखनीय रूपमा वित्तीय सेवाको पहुँचमा वृद्धि भएको हो । यसबाट विपन्न, दलित, जनजाति, अशिक्षित, सुकुम्बासी, निमुखा महिलाहरूले घरआँगनैमा समूहमा आबद्ध भएर वित्तीय कारोबार गर्न पाएका छन् । उनीहरूले आफूसँग भएको ससानो रकम जम्मा गरेर बचत खाता सञ्चालन गरेका छन् । आफ्नो शीप, क्षमता र इच्छा अनुसारको व्यवसाय गर्न विनाधितो कर्जा पाएका छन् । आफू र आफ्नो व्यवसायको बीमा गरेका छन् । लघुवित्त सेवामार्फत आर्थिक सामाजिक अवस्थामा व्यापक परिवर्तन गर्न सकेको, उद्यमी बनेको, स्वरोजगारी बन्दै धेरै जनालाई रोजगारी दिन सफल भएको पाइन्छ ।
लघुवित्त क्षेत्रमा आएका नयाँ लगानीकर्ता, संस्था, सञ्चालक तथा नेतृत्वकर्ताहरूमा लघुवित्तप्रति समाजको सन्तुष्टि र लघुवित्तमा रहेको कर्जा गुणस्तरलाई देखेर जति धेरै लगानी गर्न सक्यो उति धेरै मुनाफा आर्जन गर्न सकिन्छ भन्ने सोच बढ्यो ।
लघुवित्तका पिता डा. पन्तको सोच
लघुवित्त सेवा शुरुवात भएको ३० वर्ष पूरा भएको छ । यसले समाजमा पारेको प्रभावको अध्ययन गहिराइमा पुगेर गर्नु आवश्यक छ । लघुवित्त संस्था आफै एक्लै हुर्किएका होइनन् । देशमा आर्थिक विकास, बैंकिङ विकास, स्वरोजगारीताको विकास, महिला सशक्तीकरण कसरी गर्न सकिन्छ भनी ग्रामीण विकास र विपन्न वर्गकोे उत्थानको लागि लागिपरेका अभियन्ता तथा लघुवित्तका पिताका रूपमा परिचित डा. हरिहरदेव पन्तलगायतका व्यक्तित्वहरूको निरन्तर अध्ययन, सोच र परीक्षणपश्चात् लघुवित्त सेवा शुरु भएको हो । मौद्रिक नीतिका ज्ञाता डा. पन्तले नेपालमा लघुवित्त सेवा नाफा कमाउन स्थापना गरेका थिएनन् । उनले वित्तीय सेवाको पहुँचमा महिलाहरूलाई पुर्याएर मात्रै महिला सशक्तीकरण गर्न सकिन्छ, गरिबी न्यूनीकरण गर्न सकिन्छ भन्ने मान्यतामा लघुवित्त सेवाको धारणा अघि सारेका थिए । त्यसैले लघुवित्त सेवाभित्र वित्तीय सेवा, कर्जा, बचत, बीमा र विप्रेषण मात्र नभएर शिक्षा, स्वास्थ्य, शीपविकास, वित्तीय साक्षरता लगायतका गैरवित्तीय सेवाहरू समेत पर्दछन् । राष्ट्र बैंकको मातहतमा लघुवित्त सेवालाई राख्दा यस्मा वित्तीय अनुशासन कायम हुन्छ र सेवाले निरन्तरता पाउँछ भन्ने सोच रहेको पाइन्छ ।
लघुवित्तको सफलताको आधार
लघुवित्त सेवाको विकास विस्तार यसको उद्देश्य अनुरूप भएकाले लघुवित्त संस्थाले सफलता पाएका हुन् । सेवा लिने र दिने दुवै पक्षले नैतिकतालाई पालना गर्दै समाजमा एकता, विश्वास, सहयोग तथा सामुदायिक भावना, सामूहिक जिम्मेवारी र निरन्तर उत्पे्ररणा नै लघुवित्त सेवा सफलताका आधार हुन् । लघुवित्त सेवामा शतप्रतिशत असुली कायम गर्न लघुवित्त सेवा लिने र दिने दुवै सफल थिए । लघुवित्त संस्थाबाट लिएको ससानो कर्जाबाट लक्षित वर्गले सिधै उत्पादनमूलक तथा मुनाफा दिने उद्यममा लगानी गर्थे, नगरेर सुखै थिएन । उद्यममा लगानी नगरे समूह तथा केन्द्रको दबाबमा तत्कालै कर्जा रकम फिर्ता गर्नु पर्दथ्यो । सामूहिक दबाब, जिम्मेवारी र दायित्वले गर्दा कर्जाको दुरुपयोग गर्ने मौका नै पाउँदैनथे । कर्जा दिने लघुवित्तका फिल्ड कर्मचारी पनि हरेक ऋणीको घरमा पुगेर पारिवारिक तथ्यांक संकलन, अनिवार्य समूह तालिम, समूहमा सबैका बीचमा छलफल गरेर कर्जा सिफारिस गर्थे । कर्जा सदुपयोग गर्ने जिम्मेवारी ऋणीको हुन्थ्यो भने गराउने जिम्मेवारी समूह तथा केन्द्रका सदस्य, अध्यक्ष र केन्द्रप्रमुखको हुन्थ्यो । कर्जा लिएको सात दिनभित्रै फिल्ड कर्मचारी ऋणी सदस्यको घरमा गएर कर्जा सदुपयोगिता निरीक्षण समूह तथा केन्द्र सदस्य पदाधिकारीको रोहबरमा गर्थे । यसले गर्दा समूहमा सामूहिक दायित्व र सामूहिक दबाब हुन्थ्यो र शतप्रतिशत कर्जा सदुपयोग हुन्थ्यो, शतप्रतिसत नै असुली हुन्थ्यो ।
लघुवित्तमा समस्याको बीजारोपण
लघुवित्त क्षेत्रमा आएका नयाँ लगानीकर्ता, संस्था, सञ्चालक तथा नेतृत्वकर्ताहरूमा लघुवित्तप्रति समाजको सन्तुष्टि र लघुवित्तमा रहेको कर्जा गुणस्तरलाई देखेर जति धेरै लगानी गर्न सक्यो उति धेरै मुनाफा आर्जन गर्न सकिन्छ भन्ने सोच बढ्यो । फलस्वरूप देशमा धेरै लघुवित्त र तिनका धेरै शाखाहरू खुले । कर्मचारीलाई लगानी गर्ने लक्ष्य तोकिदिए । लघुवित्तमा बिनाधितो कर्जा सीमा वृद्धि गर्नुपर्छ भनेर नियामक निकाय तथा सरकारसँग पहल गरे । नियामक निकायले पनि शाखा खोल्न लचिलो नीति लियो । प्रतिव्यक्ति लघुकर्जाको सीमा हरेक वर्ष वृद्धि गर्दै गयो । पुराना लघुवित्तबाट कर्जा लिएका सदस्यहरूलाई नयाँ लघुवित्तले हामी धेरै कर्जा दिन्छौं, हामीकहाँबाट कर्जा लिनुस् भन्न थाले । लघुवित्तका सदस्यले पनि पाए जति कर्जा लिंदै गए । लघुवित्त संस्थामा आन्तरिक नियन्त्रण प्रणाली तथा स्वनियमनको अवस्था कमजोर हुँदै गयो । सदस्यहरू बीचमा पनि कर्जा लिन होडबाजी नैै चल्यो । शीप, क्षमता र उद्यमको आवश्यकता अनुसार कर्जा लगानी हुन छोड्यो । सदस्यहरूले कर्जा लिएर अरूलाई चलाउन दिने र कमिसन लिने गर्न थाले । कतिपयले ऋण पाएकै भरमा शीप, क्षमताभन्दा बाहिरका उद्यम व्यवसाय गर्न थाले ।
कतिपयले केन्द्रभरिका सदस्यलाई कर्जा लिन लगाएर जग्गा र मिटरब्याजीको कारोबार गर्न थाले । कतिपयले त भोजभतेर, विवाह तथा घर बनाउनेजस्ता अनुत्पादक क्षेत्रमा खर्चिए । सदस्यहरूको ऋण निरन्तर बढ्दै गयो तर आम्दानी बढ्न सकेन । एउटा संस्थाबाट कर्जा लिएर अर्को संस्थामा तिर्न थाले । कतिपयले मिटरब्याजमा ऋण लिएर किस्ता तिर्न थाले । समस्या देखिन थालेपछि अन्तमा राष्ट्र बैंकले कसिलो नीति लियो । लघुवित्त संस्थाले पनि लगानीमा कम गर्न थाले । फलस्वरूप लघुवित्त ऋणीले किस्ता तिर्न सक्न छोडे । किस्ता तिर्न समस्या भएपछि लघुवित्त संस्था र ग्राहकबीच द्वन्द्व बढ्न थाल्यो ।
लघुवित्तविरोधी आन्दोलन
लघुवित्तको ऋण तिर्न नसकेका, बेइमानी नियत राखेका, प्रलोभन देखाई धेरै लघुवित्त संस्थाबाट सिदासादा सदस्यहरूलाई ऋण झिक्न लगाई आफूले कुम्ल्याएका, समाजमा आफूलाई केही हुनेखाने सम्झनेहरूले ऋण नतिर्ने बहाना सृजना गरे । वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुको साटो हामीलाई ऋण किन दियौ भनेर लघुवित्त कर्मचारीलाई थर्काउन, हातपात गर्न, कालोमोसो दल्न थालियो । लघुवित्त संस्थाका कार्यालयहरूमा ताला लगाउन थालियो । सरकार मूकदर्शक हुँदा विरोधी क्रियाकलापहरू दिनानुदिन बढ्दै गए । फलस्वरूप लघुवित्त संस्थामा जोखिम तथा निष्क्रिय कर्जा बढ्दै गएको छ । अहिले विरोधी समूहहरूले लघुवित्तको ब्याज महँगो भयो, कर्जा मिनाहा गर्नुपर्यो लगायतका माग राखेर राजधानीमा नाराजुलुस गरिरहेका छन् ।
आर्थिक, सामाजिक तथा व्यावसायिक समस्या आउनुमा लघुवित्तका सरोकारवालाहरू, लघुवित्तका ऋणी सदस्य, लघुवित्त संस्था तथा कर्मचारी, नियामक निकाय, समाज र समग्रमा सरकार सबै दोषी रहेका छन् । जे जसरी पनि यो सबै अवस्थाको जिम्मेवारी अभिभावकले लिनुपर्ने हुन्छ । सबैको अभिभावक सरकार हो । त्यसैले हामी सरोकारवाला सबैले सोधौं, सरकार कहिलेसम्म मूकदर्शक भएर बस्छौ ?
लेखक लघुवित्त र लघुवीमा क्षेत्रमा लामोे अनुभव प्राप्त अधिवक्ता हुन् ।