लघुवित्त संस्थाहरूले विसं २०४९ देखि निरक्षर र गरीबीको रेखामुनि रहेका समुदायलाई लक्षित गरेर विनाधितो समूहमा आधारित लघु कर्जा, लघु बचत, लघु बीमाको कार्यक्रम सञ्चालन गर्दै आएका छन् । लघुवित्त संस्थाले विपन्न परिवारका व्यक्तिलाई उनीहरूको नाम लेख्न सिकाएर, कर्जा र बचतको महत्त्वबारे जानकारी दिएर, सामूहिकताको भावना विकास गर्दै ससानो उद्यम, व्यवसाय सञ्चालन गर्न आवश्यक तालीम प्रदान गरी, वित्तीय साक्षरता तालीम दिई स्वरोजगार हुनुपर्छ, स्वाभिमानी बन्नुपर्छ र महिलावर्गले समाजमा अपहेलित भएर होइन, सम्मानजनक तरीकाले इज्जतसाथ बाँच्न पाउनुपर्छ भनेर शुरूदेखि नै जनचेतना
जागृत गर्दै आएको छ ।
लघुवित्त संघर्ष समितिमा आबद्ध मानिसबाट कर्मचारीहरूमाथि दुव्र्यवहार, धम्की र कुटपिट भएकाले कर्मचारीको मनोबल कमजोर भएको छ । यस्तो कार्यमा संलग्न जो भएपनि कानूनी दायरामा ल्याई बैंक वित्तीय संस्थाको संरक्षण गर्न आवश्यक छ ।
लघुवित्तको योगदान
लघुवित्तकै कारण देशभर गाउँघरमा तरकारी पसल, फलफूल पसल, चियापसल, किराना पसल, व्यावसायिक गाईपालन, भैंसीपालन, कुखुरापालन, बाख्रापालन, बंगुरपालन, माछापालन, रिक्सा सञ्चालन, टाँगा सञ्चालन, मर्मत पसल र स्थानीय हाटबजारसमेत सञ्चालनमा आएका छन् । लघुवित्तकै कारण स्थानीय स्तरमा उत्पादित वस्तुले बजार पाएको र केही हदसम्म आर्यआर्जन र जीविकोपार्जनमा सहयोग मिलेको छ ।
उनीहरूले व्यवसायबाट प्राप्त रकममा खर्च कटाई आम्दानी गरेको रकमबाट बचत जम्मा गरेका छन्, छोराछोरीलाई पढाएका छन्, स्वास्थ्योपचारमा खर्च गरेका छन्, टिनको छानोको घर बनाएका छन्, केहीले घडेरी जोडेका छन्, घरघरमा टेलिभिजन जडान, मोबाइलको प्रयोग र साइकल तथा मोटरसाइकलको समेत प्रयोग गर्न सक्ने भएका छन् । देशमा साक्षरता दर बढाउन, मृत्युदर घटाउन, स्वास्थ्य केन्द्र तथा हस्पिटलमा पहुँच पुर्याउन र आर्थिक क्रियाकलापमा सक्रियता बढाउन लघुवित्त संस्थाहरूको अहम् भूमिका रहेको छ ।
लघुवित्तको अवस्था
२०८० पुस मसान्तसम्मको तथ्यांकको आधारमा लघुवित्त संस्थामा आबद्ध कुल २७ लाख ३५ हजार ७४५ जना ऋणीले रू.४ खर्ब ३९ अर्ब ६१ करोड कर्जा उपभोग गरेका छन् । दोहोरो कर्जा लिएका ऋणी संख्या ९ लाख ११ हजार ९१५ जनामध्ये करीब २ प्रतिशत ऋणी लघुवित्तविरुद्धको आन्दोलनमा लागेको अनुमान गर्न सकिन्छ । ती पनि धेरैजसो करकापमा लागेर, त्रासमा परेर आन्दोलनमा लागेको पाइन्छ । त्यस्ता ऋणीसदस्यले कर्जाको सदुपयोग नगरेका कारण, फजुल खर्च गरेको कारण र लिएको कर्जा अन्य व्यक्ति वा समूहलाई दिएका कारण कर्जा तिर्न नसकी डिफल्टर बनेको स्पष्ट छ । कोभिडपछि देखिएको आर्थिक शिथिलताले कर्जा तिर्न नसकेको देखिन्छ । कर्जा सदुपयोग नगर्नु, उत्पादित वस्तुले बजार नपाउनु, पाए पनि उचित मूल्य नपाउनु आदि पनि कारण हुन् । साथै नियमनकारी निकायले ल्याएको नीति एक सदस्यले एकभन्दा बढी संस्थाबाट कर्जा लिन नमिल्ने बाध्यकारी व्यवस्थाले मन्दीको समयमा रोटेशनमा वित्तीय संस्थाहरूबाट कर्जा लिई भुक्तान गर्दै आएकोमा रोटेशन बन्द भएर थप मारमा परेको पाइन्छ । यसले पनि ऋणीहरू समस्यामा परेकोे देखिन्छ ।
लघुवित्त संस्थाहरू धराशयी भएमा अन्य बैंक तथा वित्तीय संस्थामा समेत प्रत्यक्ष प्रभाव पर्छ । त्यसले समग्र देशको अर्थतन्त्रलाई नकारात्मक असर गर्ने भएकाले यसमा ध्यान दिन आवश्यक छ ।
सरकारले लघुवित्त संघर्ष समितिसँग वार्ता गर्न बनाएको कार्यदलले समयमा निर्णय गर्न नसकेर अन्योल थपेको छ । लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान गर्न बनेको अध्ययन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ तर निर्णय गर्न नसकेर थप अन्योल सृजना भएको छ ।
लघुवित्त संस्थाहरूको निष्क्रिय कर्जा बढेर ८ प्रतिशतभन्दा माथि पुगिसकेको छ । ५ प्रतिशतभन्दा बढी कर्जा जोखिम व्यवस्थापन खर्च भएमा त्यो खर्च गर्नुपर्ने तर कर प्रयोजनका लागि ५ प्रतिशतभन्दा बढी कर्जा जोखिम व्यवस्थापन खर्च छूट नहुने व्यवस्था छ । यसबाट संस्था नोक्सानमा गए पनि कर तिर्नुपर्ने बाध्यता छ । एक सदस्य एक संस्थाको व्यवस्थाले कर्जा आवश्यक भएका सदस्यहरूलाई समेत कर्जा प्रवाह गर्न मिलेको छैन र कर्जा असुलीमा समस्या छ ।
लघुवित्त संघर्ष समितिमा आबद्ध मानिसहरूबाट कर्मचारीहरूमाथि दुव्र्यवहार, धम्की र कुटपिट भएकाले कर्मचारीको मनोबल कमजोर भएको छ । उनीहरूमा नैराश्य छाएकाले यसलाई रोक्न सरकार र सम्बद्ध निकायले बैंक वित्तीय संस्थाप्रतिको आक्रमण रोक्न आवश्यक छ । यस्तो कार्यमा संलग्न जो भएपनि कानूनी दायरामा ल्याई बैंक वित्तीय संस्थाको संरक्षण गर्न आवश्यक छ । आम जनताको बचतको संरक्षण गर्न र आम जनतामा विश्वास जगाउन आवश्यक छ । समयमा नै यसमा ध्यान दिइएन भने देशको आर्थिक अवस्था झन् बिग्रन गई भयावह स्थिति सृजना हुने सुनिश्चित देखिन्छ ।
राष्ट्र बैंकले चाल्नुपर्ने कदम
केही समयका लागि एकल कर्जा सीमाभित्र रही एक सदस्यले तीनओटा संस्थासम्म कर्जा लिन पाउने व्यवस्था लागू गर्नुपर्छ । रू. १० लाख वा त्योभन्दा बढी कर्जा ब्यालेन्स भएका सदस्यको कर्जा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले स्वीकार गर्न सक्ने कानूनी व्यवस्था गर्नु आवश्यक छ । त्यस्तै रू. ७ लाखभन्दा बढी र रू. १० लाखभन्दा कम कर्जा ब्यालेन्स भएका सदस्यलाई निजले बस्न चाहेको लघुवित्त संस्थामा मात्र बस्न पाउने कानूनी व्यवस्था गरी एकपटकका लागि त्यस्ता ऋणीहरूका लागि कर्जाको पुनर्तालिकीकरण गर्न दिनुपर्छ । व्यवसाय असफल भई समस्यामा परेका ऋणीहरूको कर्जा निष्क्रिय वर्गमा परेको भए पनि एकपटकलाई पुनर्तालिकीकरण गर्न दिने कानूनी व्यवस्था आवश्यक छ । लघुवित्त संस्थाहरूले २ वर्ष वा त्योभन्दा बढी अवधिका लागि बचत जम्मा गर्न सक्ने व्यवस्था गर्नुपर्छ । लघुवित्त संस्थाले प्रथम वर्षमा रू. १ लाख, दोस्रो वर्षमा बढीमा रू. ३ लाख र तेस्रो वर्ष वा त्योभन्दा बढीका लागि रू. ५ लाखसम्मको (पारिवारिक सहमति अनिवार्य गर्नपर्ने) विनाधितो कर्जाको व्यवस्था गर्नुपर्छ । रू. ५ लाखभन्दा बढीको कर्जाका लागि धितो अनिवार्य गर्नुपर्छ । त्रैमासिक रूपमा नै कर्जा सूचना केन्द्रबाट तथ्यांक लिएर नियमविपरीत कर्जा लगानी गर्ने संस्थालाई तुरुन्त कारबाही गर्नुपर्छ । हिमाली र पहाडी जिल्लामा रहेका शाखा एकआपसमा मर्जर तथा प्राप्ति गर्न सक्ने सजिलो नीतिगत व्यवस्था लागू गर्नुपर्छ ।
संस्थाहरूले एक घरपरिवारको कुनै एक व्यक्तिको कर्जा डिफल्ट भएमा सोही घरपरिवारको अन्य व्यक्तिलाई कर्जा दिई असल कर्जा बनाइरहेकाले यसलाई रोक्ने गरी कानूनी व्यवस्था लागू गर्नुपर्छ । कुनै सदस्य डिफल्टर भएमा निजलाई सदस्यता त्याग गरी पुन: सोही रकम बराबर नयाँ ऋणी बनाई कर्जा लगानी गरिरहेकाले यसलाई रोक्नुपर्छ । अन्यथा निकट भविष्यमा लघुवित्त क्षेत्र नै संकटमा जाने निश्चित छ । अध्ययन प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ र कर्जा तथा ब्याज मिनाहा हुँदैन भनेर सर्वसाधारणलाई जानकारी दिनुपर्छ ।
सरकारले चाल्नुपर्ने कदम
नेपाल सरकारले विगत वर्षहरूदेखिको निर्माण व्यवसायीको रकम भुक्तानी गर्न सकेको छैन । दुग्ध उत्पादक कृषकहरूको रकम भुक्तानी भएको छैन । कोभिड बीमामा सरकारले आफ्नो दायित्वको रकम दिन सकेको छैन । चालू आवको ६ महिनामा ७० अर्बभन्दा बढीले बजेट घाटामा गएकोे छ । यस्तोमा कुनै पनि बैंक तथा वित्तीय संस्थाका ऋणीलाई कर्जा र ब्याज मिनाहा गर्न सरकार असमर्थ छ । कथित पीडितहरूलाई यो स्पष्ट पार्न आवश्यक छ ।
जबसम्म देशमा रहेका बैंक तथा वित्तीय संस्था, उद्योगी सबल र सक्षम हुँदैनन् तबसम्म राजस्व बढ्दैन । यसमा सरकारको ध्यान जान आवश्यक छ । कर्जा असुलीमा समस्या भई निष्क्रिय कर्जा बढिरहेकाले कर्जाको वर्गीकरण अनुसार कर्जा नोक्सानी व्यवस्था खर्च गर्ने व्यवस्थामा कुल लगानीमा रहेको कर्जाको ५ प्रतिशतसम्मको खर्चलाई खर्च मान्ने तर त्योभन्दा बढी खर्च हुन गएमा कर प्रयोजनमा छूट नहुने व्यवस्थामा परिवर्तन गर्न आवश्यक छ । लघुवित्तविरुद्धको संघर्ष समितिलाई कर्जा लिएपछि भुक्तान गर्नैपर्छ भनेर निर्देशन दिनुपर्छ । तर, राष्ट्र बैंकको नीति र निर्देशनविपरीत कुनै संस्थाले ब्याज, सेवाशुल्क बढी लिएका छन्, बचत हिनामिना गरेका छन्, नियमविपरीत कर्जा लगानी गरेका छन्, गलत कागजात बनाएका छन् भने त्यस्ता संस्थालाई कारबाही गर्ने प्रतिबद्धता आवश्यक छ । सडक आन्दोलन गरेर भ्रम सृजना गर्ने, अफवाह फैलाउने व्यक्ति वा संगठन वा समूह जोसुकैलाई कानूनी दायरामा ल्याएर कारवाही गरिन्छ भनेर स्पष्ट पार्न विलम्ब गर्न हुँदैन ।
लघुवित्तहरूको मुख्य स्रोत सदस्यहरूबाट संकलित बचत, अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जा, शेयरधनीले लगानी गरेको शेयरपूँजी र जगेडाकोष हो । यदि लघुवित्त संस्थाहरू धराशयी भएमा अन्य बैंक तथा वित्तीय संस्थामा समेत प्रत्यक्ष प्रभाव पर्छ । त्यसले समग्र देशको अर्थतन्त्रलाई नकारात्मक असर गर्ने भएकाले यसमा ध्यान दिन आवश्यक छ । अब पनि राजनीतिक दाउपेचको रूपमा मात्र हेर्ने हो भने समस्या नियन्त्रणबाहिर जान सक्छ ।
लेखक निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत हुन् ।