काठमाडौं । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा देशको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । अघिल्लो आवसम्म ऋणात्मक वृद्धि वा सामान्य वृद्धि भइरहेको क्षेत्र सुध्रिएपछि अर्थतन्त्रमा सुधार आएको राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ ।
कार्यालयले बुधवार सार्वजनिक गरेको चालू आव २०८१/८२ को दोस्रो त्रैमासको कुल गार्हस्थ्य उत्पादनसम्बन्धी प्रतिवेदनअनुसार उक्त त्रैमासमा अघिल्लो आवको सोही अवधिको तुलनामा देशको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
उत्पादनमूलक उद्योग, निक्षेप तथा कर्जा, निर्माण, खनिज क्षेत्रहरूले लय समात्दा त्यस्ता सूचकहरू धनात्मक भएको कार्यालयले जनाएको छ । प्रतिवेदनअनुसार अर्थतन्त्रका १८ ओटा औद्योगिक वर्गीकरणमध्ये सबैको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक छ ।
खासगरी निर्माण र उत्पादनमूलक क्षेत्र विगत २ आवमा लगातार ऋणात्मक वृद्धिको शिकार भएका थिए । यी क्षेत्रमा चालू आवको पहिलो त्रैमासमा केही सुधार भई दोस्रो त्रैमासमा थप सुधार भएको छ ।
बुधवार सार्वजनिक तथ्यांकमा निर्माण क्षेत्रको वृद्धिदर ९ दशमलव १ र उत्पादनमूलक क्षेत्रको ७ दशमलव ४ प्रतिशत रहने प्रक्षेपण छ । अघिल्लो आवको सोही अवधिमा उत्पादनमूलक क्षेत्रको वृद्धिदर ४ प्रतिशतले ऋणात्मक थियो ।
निर्माण सामग्रीको आयात तथा घरेलु उत्पादन वृद्धिसँगै निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ९ दशमलव १ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । थोक तथा खुद्रा व्यापारको क्षेत्रमा पनि सुधार भई वृद्धिदर ६ दशमलव १ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार आयात र निर्यात दुवैमा सुधार भएको छ । आयातित वस्तु नै धेरै व्यापारमा उपयोग हुन्छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आयात कर्जा केही महीनायता तुलनात्मक रूपमा धेरै बढेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकृत ढुण्डीराज लामिछानेले चालू आव २०८१/८२ को दोस्रो त्रैमासमा अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार, कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादनमा भएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिले गर्दा व्यापार क्षेत्रको वृद्धि थप विस्तार भएको बताए ।
‘गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको दोस्रो त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार हुन गएको प्रारम्भिक अनुमान छ,’ उनले भने । यो त्रैमासमा सार्वजनिक प्रशासन तथा रक्षा, स्वास्थ्य, घरजग्गा कारोबारलगायत सेवाक्षेत्रका अन्य क्रियाकलापको वृद्धिदर सामान्य रहने अनुमान गरिएको छ ।
यातायात तथा भण्डारणसँग सम्बद्ध क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै छ भने खानी तथा उत्खनन दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र बनेको छ । यी क्षेत्रलाई विद्युत् तथा ग्यास क्षेत्रले पछ्याउने अनुमान गरिएको छ ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान गर्ने कृषिक्षेत्रको वृद्धिदर ३ दशमलव २ प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान छ ।
धानको उत्पादनमा भएको वृद्धिका साथै तरकारी, अमिलो जातको फलफूल तथा हिउँदे फलफूल र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव परेको लामिछानेले बताए ।
अर्थशास्त्री केशव आचार्य सूचकांकहरूले सकारात्मक संकेत गरे पनि अझै पनि लगानीकर्ताको मनोबल बढ्न नसक्नु र सरकारले कुल पूँजीगत बजेटको ३० प्रतिशतसम्म पनि गर्न नसक्नु लज्जास्पद भएको बताउँछन् । ‘सूचकांकहरू एकतिर देखाइन्छ, वास्तविकता अर्कै हुन्छ,’ उनले भने, ‘निर्माण व्यवसायीले अझै पनि ठूलो रकम पाएका छैनन् । कामहरू रोकिएका छन्, त्यसबारे सरकारले सोचेको देखिँदैन ।’
तथ्यांक कार्यालयले भने विगत तीनओटा आवहरूको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन वृद्धिदर र चालू आवको दोस्रो त्रैमासको वृद्धिदर हेर्दा नेपालको आर्थिक वृद्धिदरमा उतारचढाव देखिए पनि आव २०७९/८० देखि सुधारात्मक रूपमा निश्चित दिशा तय गर्न खोजेको बताएको छ ।