काठमाडौं । शुक्रवार राजावादी प्रदर्शनकारीले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिराजस्ता महँगा सामान लुटे ।
उनीहरूले भाटभटेनी लुटपाट मात्रै गरेनन् तिनकुनेमा निजी घरमा आगजनी गरे भने ‘सन्चो’ बनाउने जडीबुटी उत्पादन कम्पनीमा समेत आगो लगाए । सरकारी गाडीहरू जलाए । सरकारी तथा निजी सम्पत्ति प्रदर्शनकारीको निशानामा परेपछि थप क्षति हुन नदिन स्थानीय प्रशासनले कफ्र्यू नै लगायो ।
शुक्रवार भएको राजावादीहरूको अराजक प्रदर्शनपछि निजीक्षेत्रमा फेरि त्रासको स्थिति उत्पन्न भएको छ । संविधानप्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंसक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथि आक्रमण भएको भन्दै निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले निन्दा गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले राजावादीहरूको हिंसक घटनाबाट ठूलो क्षति पुगेको र यसबाट फेरि निजीक्षेत्र त्रस्त बनेको बताएको छ । उसले घटनाको भत्र्सना गर्दै क्षतिपूर्ति माग गरेको छ । ‘सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिमा आक्रमण, आगजनी, लुटपाटलगायत हिंसक घटनाबाट ठूलो क्षति पुगेकोमा यसको भत्र्सना गर्दै क्षतिपूर्ति हुनुपर्ने महासंघको माग छ,’ महासंघले भनेको छ ।
महासंघले संविधानले दिएको अधिकारभित्र रही शान्तिपूर्ण रूपमा माग राख्न सकिने भए पनि हिंसात्मक आन्दोलन, लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण निन्दनीय रहेको बताएको छ । यस्ता घटनाको पुनरावृत्ति रोक्न र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न महासंघले सम्बद्ध निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ ।
नेपाल उद्योग परिसंघले पनि निजी सम्पत्ति तथा सञ्चारगृहमा तोडफोडको विरोध गरेको छ । ‘विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आम सर्वसाधारण, विभिन्न पेशा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यावसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाटजस्ता कार्य जहिले पनि निन्दनीय छ,’ परिसंघले विज्ञप्तिमार्फत भनेको छ, ‘निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाटजस्ता अराजक गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याई सुरक्षित रूपमा व्यापार, व्यवसाय, पेशा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघ माग गर्छ ।’
नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनका नाममा व्यवसायी र व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा भएको नोक्सानीको क्षतिपूर्ति माग गरेको छ । शुक्रवार काठमाडौंमा भएको प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिबाट भएको क्षतिपूर्ति पाउनुपर्ने माग महासंघले गरेको छ ।
आन्दोलनका क्रममा भएको आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिबाट व्यावसायिक वातावरण र व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुन पुगेको महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताए । उनले निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिबाट भएको क्षतिको क्षतिपूर्ति सरकारले व्यवसायीलाई दिलाउनुपर्नेमा जोड दिए । उनले भने, ‘हरेकपटक आन्दोलन, हडताल हुँदा व्यवसायीहरू नै मारमा पर्ने गरेका छन् । यसले व्यावसायिक वातावरण बिग्रन्छ ।
सधैं व्यवसायी मारमा पर्नुपर्ने विडम्बनापूर्ण अवस्था छ ।’ आन्दोलन र प्रदर्शनका क्रममा सर्वसाधारणको निजी जायजेथा, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति र अन्य व्यापारिक गतिविधिमा आक्रमण, आगजनी, लुटपाटलगायत हिंसक घटनाबाट ठूलो क्षति पुगेकोमा यसको क्षतिपूर्ति हुनुपर्ने महासंघको भनाइ छ ।
भाटभटेनी सुपरमार्केट्सले शुक्रवार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा केही समूहले कोटेश्वरस्थित आफ्नो स्टोरमा प्रवेश गरेर विभिन्न सामग्री लुटपाट गरेको जानकारी दिएको छ । उक्त समूह एक्कासि भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी, कपडा, फलफूल, जुसलगायत सयौं वस्तु लुटपाट गरेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको भिडियोअनुसार भाटभटेनीमा क्षति त्यति ठूलो भएको छैन ।
‘भाटभटेनीमा त्यति ठूलो क्षति भएको छैन । सिसाहरू फुटाइएको छ, इन्जिनीयरहरूले क्षतिको विवरण तयार गर्दै छन् । मोबाइल, घडी, रक्सी, बियर हुस्कीहरू लुटपाट गरेका छन्,’ गुरुङले सार्वजनिक भिडियोमा भनेका छन् । ‘निजीक्षेत्रका व्यवसायीहरूलाई आक्रमण गर्नु दु:खद र नियोजित घटना हो ।’
भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले भाटभटेनीको भवनमाथि इँटा र ढुंगा प्रहार हुँदा क्षति पुगेको बताएका छन् । ‘क्षतिको मूल्यांकन र फुटेका सिसा केही दिनभित्रै पुनर्निर्माण गरिने जानकारी गराउँदै कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको जानकारी गराउन चाहन्छु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एक्कासि हूलहुज्जत गरी स्टोरमा प्रवेश गरेर लुटपाट र क्षति पुर्याउनेहरूलाई सरकारले छिट्टै कानूनी दायरामा ल्याउने विश्वास भाटभटेनीले गरेको छ । राजावादीहरूले शुक्रवार गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीले लगाएको आगोले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन क्षतिग्रस्त बनेको छ । प्रदर्शनकारीले भवनको सिसामा ढुंगा प्रहार गर्नुका साथै कम्पनी परिसरभित्रका गाडीहरूमा आगजनी गरेका थिए । शनिवार बिहानसम्म कम्पनीको भवन र करीब डेढ दर्जन
सवारीसाधन जलिरहेका देखिन्थे । शुक्रवार बेलुकी अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिन सफल भए पनि भवनबाट अझै धुवाँ निस्किरहेको थियो । कम्पनीले उत्पादन गर्ने सन्चो बोत्तलहरू भवनको परिसरमा छरिएका थिए । कम्पनीका महाप्रबन्धक संगीता यादवले कम्पनीका दुईओटा भवन जलेको बताइन् । उनका अनुसार गाडी, कम्पनीभित्रका मेशिनहरू नष्ट भएका छन् । ‘कम्पनीको भवनभित्र आगजनी गरियो । भवन जले, गाडी जले, भागेर ज्यान बचायौं । अहिले उत्पादन बन्द छ,’ उनले भनिन् । उनले क्षतिको यकीन विवरण तयार हुन बाँकी रहेको बताइन् ।
राजसंस्था समर्थित प्रदर्शनकारीले काठमाडौंको तीनकुनेमा निषेधित क्षेत्र तोड्न लाग्दा भएको झडपपछि ठूलो जनधनको क्षति भएको थियो । अहिले क्षतिको विवरण संकलनको काम चलिरहेको प्रहरी अधिकारीहरूको भनाइ छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले प्रदर्शनकारीले केही निजी घरमा तोडफोड तथा आगजनीसँगै सरकारी कार्यालय, गाडीसमेत जलाएको बताए । ‘क्षतिको विवरण संकलन हुँदै छ,’ उनले भने, ‘छिट्टै बताउनेछौं ।’
प्रदर्शनकारी आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको थियो भने आन्दोलनकारीले निजी घरमा आगजनी गर्दा फोटो पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको भवनमा ढुंगामुढा भएको थिएको थियो । त्यसको ठीक पारितर्फ नेपाल आयल निगमको ७ हजार ६६० किलोलिटर हवाई इन्धन भण्डारण गरिने डिपो छ । ‘आगोको सानो झिल्कोमात्रै त्यहाँ परेको भए विमानस्थल त खरानी हुन्थ्यो नै, सिनामंगलका दुवैतर्फका बस्ती तहसनहस हुन समय लाग्ने थिएन । सुरक्षा सर्तकता कारण थप क्षति हुनबाट जोगिएको छ,’ एक उच्च प्रहरी अधिकारीले आर्थिक अभियानसँग भने ।