ललितपुर । माघे संक्रान्ति आउन एक साता बाँकी रहँदा ललितपुरका दीपु जोशीको परिवारका सदस्यहरूलाई चाकु बनाउने चटारो छ ।
ललितपुरका टंगालस्थित जोशी चाकु कारखानाबाट चाकु उत्पादन गरी विक्री गर्दै आइरहेका उनीहरू कामदार पनि लगाएर चाकु बनाउन खटिरहेका देखिन्छन् ।
अरु समयभन्दा माघे संक्रान्तिको चाकुको माग बढेकाले उनीहरूको व्यस्तता बढेको हो । उनीहरूले करीब ६० वर्षअघिदेखि चाकु उत्पादन गरी विक्री गर्न थालेका हुन् ।
उनको कारखानामा उत्पादित चाकु ललितपुर, काठमाडौं, भक्तपुरसँगै काभ्रेपलाञ्चोकको बनेपासम्म विक्री हुन्छ । प्रति २०० ग्रामको चाकु ६० रुपैयाँमा विक्री गर्ने गरेको उनी बताउँछन् ।
माघे संक्रान्तिमा चाकुसँगै घिउ र लड्डु खाने चलन छ । नेवार समुदायमा भने काजकिरियाको बेलामा पनि चाकु खाने गरिन्छ । त्यस्तै चिसो लागेका मानिसलाई चाकु खुवाएमा सन्चो हुने मान्यता छ । सुत्केरी महिला र शरीर कमजोर भएका बेला चाकु खाएमा शरीरमा तागत दिने बूढापाका बताउँछन् ।
हेर्नुस् तस्वीरहरू