झूटो बोल्ने बानी परेका मानिशहरूका लागि स्थानविशेषले खासै असर गर्दैन भन्ने आमविश्वास रहेको पाइन्छ । तर, हालै गरिएको एक अध्ययनमा भने बढी झूटो बोल्नेहरूले घरको तुलनामा कार्यालयलगायतका स्थानहरूमा तथ्यहरूलाई बङ्ग्याउन तयार हुने हालै गरिएको एक अध्ययनमा पाइएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र जर्मनीको बोन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको उक्त संयुक्त अध्ययनमा मानिशहरूले घरमा झूटो बोल्दा बढी असजिलो अनुभव गर्ने गरेको पाइयो । तर, उनीहरू नै कार्यालयमा भने झूटो बोल्दा सहज अनुभव गर्ने अनुसन्धानकर्ताहरूको भनाइ छ । यसका लागि अनुसन्धानकर्ताहरूले जर्मनहरूको इमानदारी परीक्षण गर्न उनीहरूलाई घरमा फोन गर्दै आफूसँग रहेको कुनै सिक्कालाई ‘टस’ गर्न आग्रह गरे ।
अध्ययनमा सामेल जर्मनहरूको इमानदारी जाँच्न अनुसन्धानकर्ताहरूले पल्टिएको सिक्काबारे सही उत्तर दिनेहरूलाई नगदसम्म दिने प्रलोभन दिए । यसमा टस गरिएको सिक्का तलपट्टि फर्किएमा १५ यूरो अथवा त्यसबराबरको गिफ्ट भौचर दिने तर माथिपट्टि हुने गरी पल्टिएमा केही पनि नदिने जानकारी गराए । अनुसन्धानकर्ताहरूका अनुसार मानिशहरूको व्यवहार प्रत्यक्ष रूपमा अवलोकन गर्न नसकिए पनि घरमा बसेर उत्तर दिने ६ सय ५८ जनामा गरिएको उक्त अध्ययनमा सामेलहरूले आफ्नो इमानदारी उल्लेख्य रूपमा प्रदर्शन गरेका थिए ।
वर्ष ८, अंक ७०, मंगलवार १२ मङ्सिर, २०६९