दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले रोल्वालिङ डाइभर्सनबाट थप साढे २२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनालाई सुक्खा मौसममा पनि ४ सय ५६ मेगावाट (मेवा) क्षमतामा उत्पादन गर्न सक्ने बनाउने उद्देश्यले फर्काउन लागिएको रोल्वालिङ डाइभर्सनबाट उक्त विद्युत् उत्पादन गर्ने भएको हो । शुरूमा डाइभर्सन मात्र गरी आयोजनाको बाँधमा पानी खसाल्ने योजना भए पनि अध्ययनले थोरै खर्चमा थप विद्युत् उत्पादन गर्न सक्ने देखाएपछि इजाजत पत्रको लागि आवेदन गरिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
६ किलोमिटर सुरुङ निर्माण गरी तामाकोशीको बाँधमा पानी खसाल्नुपूर्व साढे २२ मेवा विद्युत् उत्पादनका लागि डिजाइन भइरहेको उनले जानकारी दिए । रोल्वालिङ डाइभर्सन आयोजनाले अत्यन्त सुक्खा मौसममा पनि प्रतिघण्टा १ सय ६७ गिगावाट विद्युत् उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ ।
न्यौपानेका अनुसार रोल्वालिङ डाइभर्सन निर्माण गर्न सामान ढुवानीका लागि साबिकको लामाबगर गाविसको क्षोतक्षोतबाट गौरीशङ्कर गाविसको रिकुसम्म केबुलकारको अन्तरराष्ट्रिय टेण्डरमार्फत ठेक्का सम्झौता भई काम पनि शुरू भइसकेको छ । माथिल्लो तामाकोशीको काम अन्तिम चरणमा पुगेपछि रोल्वालिङ डाइभर्सनबाट साढे २२ मेवा विद्युत् उत्पादनको काम शुरू हुने डा. न्यौपानेको भनाइ छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.