बागलुङ (रासस) । जिल्ला स्वास्थ्य कार्यालय, बागलुङले सञ्चालन गरेको ‘सेफ सिम’ प्रविधि परियोजना सफल रहेको पुष्टि भएको छ । गर्भवती तथा शिशु स्याहार र जाँचका लागि मोबाइल प्रविधिमा आधारित यो परियोजना गत वर्षदेखि सञ्चालन गरिएको हो । कार्यक्रम पैंयुपाटा, हटिया, बाटाकाचौर र बुर्तिवाङ गाविसमा सञ्चालन गरिएको थियो । यी गाविसमा स्वास्थ्य संस्थामा हुने प्रसूति दर बढेर ८० प्रतिशत पुगेको बताइएको छ । गाविसहरूमा १ वर्षको अवधिमा एकजनाको पनि मातृमृत्यु नभएको तथ्याङ्क छ । ती गाविसमा उक्त परियोजना सफल बनाउन सबै महिला स्वयम्सेविकालाई ७७ ओटा सफ्टवेयरजडित मोबाइल वितरण गरिएको छ । वन हर्ट र स्वान नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त परियोजना सञ्चालन गरिएको हो ।
कसरी काम गर्छ सफ्टवेयरले ?
गर्भवती भएदेखि सुत्केरी भएको दिनसम्म महिला र नवजात शिशुको नियमित स्याहारसुसार र स्वास्थ्य जाँचका लागि उक्त सफ्टवेयरले आवश्यक सूचना तथा जानकारी मोबाइल फोनमै उपलब्ध गराउँछ । जिल्लाका चार गाविसमा चलाइएको उक्त परियोजनाले सूचनाको सही व्यवस्थापन र अभिलेख प्रणालीको माध्यमबाट कार्यक्रमको प्रभावकारिता बढाएको बताइएको छ । सफ्टवेयरमार्फत सम्बन्धित गाविसका गर्भवती महिलाको नाम र विवरण मोबाइलमा दर्ता गरिन्छ । सोही दर्ताको आधारमै सफ्टवेयरले गर्भ जाँचको समय, प्रसूति हुने समयलगायतको जानकारी दिन्छ । साथै, यसले सुत्केरी अवस्थामा आमा र शिशुको स्याहार तथा स्वास्थ्य जाँचका लागि आवश्यक सूचनासमेत दिने गरेको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर दाहालले बताए ।
मोबाइलबाटै जानकारी
स्वयम्सेविकाले मोबाइलमा प्राप्त सन्देश गर्भवती तथा सुत्केरी महिलाकहाँ पु¥याउने गरेका छन् । मोबाइलले दिएको सूचनाकै आधारमा महिलाहरू समयमै गर्भ जाँच गराउने, प्रसूतिका लागि स्वास्थ्य संस्थामै जाने क्रमसमेत बढेकोे छ । प्रसूति हुने समयभन्दा २ हप्ता पहिलदेखि नै प्रसूतिका लागि निर्धारित समयमा स्वास्थ्य संस्था जान गर्भवती महिलालाई मोबाइलमा सन्देश प्राप्त हुने गर्छ । तत्काल गर्नुपर्ने उपचार तथा स्वास्थ्य जाँचबारे स्वयम्सेविकाले नजिकको स्वास्थ्य संस्थामा मोबाइलबाटै सन्देश पठाउन मिल्ने र त्यो सन्देश सर्भरमार्फत जिल्ला स्वास्थ्य कार्यालय र वन हर्टको केन्द्रीय कार्यालयमा पुग्छ । परियोजना सफल देखिएपछि जिल्लाका सबै गाविस समेटिने गरी सञ्चालनको तयारी गरिएको छ । आगामी वर्षका लागि यूएन फाउण्डेशनले समेत यस परियोजनाका लागि आर्थिक सहयोग गर्ने जानकारी दिइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.