काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको २ दशमलव ३४ प्रतिशत लाभांश बिहीवार (आज)सम्म कायम शेयरधनीले मात्र पाउने भएको छ ।
कम्पनीले लाभांश प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि चैत २९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा चैत १५ गतेसम्म कायम शेयरधनी मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा २ दशमलव २२११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दमलव ११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ३७ करोड ६३ लाख १९ हजार रुपैयाँ कायम हुनेछ ।
सभा लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
हालको चुक्ता पूँजी वृद्धि गर्ने र सोको लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत सभाका लागि तय भएको छ । यस कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।