काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले नयाँ आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले सिता हाईड्रोपावर कम्पनी प्रा.लि अन्तर्गत रहेको ६५ मेगावाट क्षमताको दुख खोला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।
उक्त आयोजनाको आर्थिक तथा प्राविधिक पक्षको प्रस्तुती तथा छलफलबाट आयोजना सञ्चालनका लागि उपयुक्त देखिएकाले कम्पनीले उक्त परियोजनामा लगानी गर्ने निर्णय गरेको जानकारी दिएको हो । रकम कति लगानी गर्ने सम्बन्धमा भने कम्पनीले केहि उल्लेख गरेको छैन् ।
परियोजनामा लगानी गर्ने क्रममा समझदारीपत्रमा हस्ताक्षरका लागि भने कम्पनीका सञ्चालक अरुण कुमार केसीलाई अख्तियारी प्रदान गरेको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको छ । यस कम्पनी चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३० करोड ५३ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । दुई ओटा आयोजनबाट विद्युत उत्पादन गरिरहेको कम्पनीले पहिलो त्रैमाससम्म विद्युत विक्रीबाट ४९ करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ छ । रिटर्न अर्निग भने १ अर्ब ३३ करोड २ लाख रुपैयाँभन्दा बढी छ ।