काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि छोटो सूची (सर्टलिस्ट)मा परेका उम्मेदवारहरूमध्ये २ जनाको अन्तर्वार्ता आइतवार (आज) सम्पन्न भएको छ ।
अर्थमन्त्रालय स्रोतका अनुसार आज धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको अन्तर्वार्ता भएको हो ।
आज अन्तरवार्तामा बोलाइएका तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अन्तरवार्तामा उपस्थित भएनन् ।
यसअघि छोटो सूचीमा परेका ५ जनामध्ये ३ जना अन्तरवार्तामा सहभागी भएका थिएनन्, जसका कारण धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया रोकिएको थियो ।
त्यो बेला सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले अन्तरवार्ता दिएका थिए ।