काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष (आव) २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेपछिको पहिलो कारोबार दिन आइतवार शेयरबजारमा अर्को उछाल आएको छ । शेयर लगानीकर्ता र बैंक, वित्तीय संस्थाको मागबमोजिम मौद्रिक नीतिले प्रावधानहरू ल्याएपछि शेयरबजारमा त्यसको प्रभाव देखिएको हो ।
यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११३ दशमलव ४२ अंक बढेर २ हजार ६८१ दशमलव ५६ बिन्दुमा पुगेको छ, जुन २९ महीनायताकै उच्च हो ।
यसअघि २०७८ फागुन ११ गते नेप्से २ हजार ७२० बिन्दुमा थियो । आइतवार इन्ट्रा डेमा नेप्से २ हजार ७०८ दशमलव ५८ बिन्दुसम्म पुगेको थियो । नेपाली कांग्रेस र नेकपा (एमाले) सम्मिलित सरकार बनेदेखि नै शेयरबजार उकालो लागेको छ ।
बजार बढ्दा सबैभन्दा बढी बैंकिङ समूहको सूचक ९ दशमलव ८९ प्रतिशत बढेको छ । १९ओटै वाणिज्य बैंकको शेयर मूल्य उच्चदरले बढेको छ । यस दिन २ पटकसम्म नेप्सेमा सकारात्मक सर्किट ब्रेकर लाग्यो । बैंकिङ समूह उच्च दरले बढेपछि सकारात्मक सर्किट लागेको हो । ठूलो संख्यामा शेयर संख्या रहेकाले बैंकिङ समूहको शेयरमा लगानीकर्ताको खासै चासो थिएन । तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १० वाणिज्य बैंकको लाभांश क्षमता ऋणात्मक थियो । यसले गर्दा पनि लगानीकर्ता वाणिज्य बैंकको शेयरमा आकर्षित थिएनन् ।
गत शुक्रवार सार्वजनिक भएको मौद्रिक नीतिले कर्जा प्रवाह बढाउन बैंकहरूको पूँजीकोषमा राहत हुने व्यवस्था घोषणा गरेको छ ।
असल कर्जाको जोखिम व्यवस्था १ दशमलव १० प्रतिशतमा झार्नुका साथै जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरवलोकन गर्ने घोषणा गरिएको छ ।
निष्क्रिय वर्गमा वर्गीकृत कर्जा नियमित भइसकेको अवस्थामा ६ महीनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महीनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने घोषणा गरिएको छ । यो व्यवस्थाले गर्दा बैंकको सम्भावित जोखिमबापतको व्यवस्थामा छुट्ट्याउनुपर्ने रकममा कमी आई नाफामा सकारात्मक प्रभाव पर्छ । त्यसैगरी मौद्रिक नीतिले गत आवको आम्दानी साउन मसान्तसम्म प्राप्त भएमा नाफामा जोड्न पाउने व्यवस्था गरेको छ ।
मौद्रिक नीतिले रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा बढाएर २ करोड ५० लाख पुर्याउनुका साथै नियामकीय जगेडा कोषहरूलाई पूरक पूँजीकोषमा गणना गर्न दिने घोषणा गरिएको छ ।
त्यसैगरी रेगुलेटरी रिजर्भको रकम टियर टु क्यापिटलमा गणना गर्न पाउनेजस्ता व्यवस्थाले बैंकहरूको नाफा बढाउने भएकाले लगानीकर्ताहरू वाणिज्य बैंकहरूमा आकर्षित भएका हुन् ।
त्यस्तै संस्थागत लगानीकर्ताका कर्जामा २० करोडको क्याप हटाइएपछि शेयरबजारमा थप रौनकता आएको देखियो । यसअघि अगाडि संस्थागत लगानीकर्ताको लागि शेयर धितो कर्जामा २० करोडसम्मको सीमा थियो । त्यसलाई चालू आवको मौद्रिक नीतिले खारेज गरेको छ । व्यक्तिले लिने शेयर धितो कर्जामा रहेको १५ करोड रुपैयाँको सीमा भने यथावत् छ ।
‘मौद्रिक नीतिले संस्थागत लगानीकर्तालाई लगाइएको शेयर धितो कर्जाको सीमा हटेपछि यसले बजारमा मागको आकार बढाउँछ,’ लगानीकर्ता ताराप्रसाद फुल्लेलले भने, ‘माग बढ्नेबित्तिकै समग्र बजार बढ्छ जुन आइतवार देखियो ।’
त्यस्तै दुई ठूला दल मिलेर अहिले नयाँ सरकार गठन भएकाले राजनीतिक स्थिरता आई अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने आशाका साथ पनि मानिशहरूले शेयरबजारमा लगानी गरिरहेको फुल्लेलको भनाइ छ । पोखराकी लगानीकर्ता विष्णु पराजुली पनि मौद्रिक नीतिकै कारण शेयरबजार बढेको बताउँछिन् । बजार बढ्न थालेसँगै पोखराका ब्रोकर हाउसमा लगानीकर्ता जाने क्रम बढेको उनी बताउँछिन् । ‘नेप्सेले २५ सय बिन्दु नाघेपछि नयाँ तथा पुराना लगानीकर्ता धेरै ब्रोकरका कार्यालयमा भेला हुने गरेका छन्,’ उनले भनिन् ।