काठमाडौं । मौद्रिक निति सार्वजनिक पछि नेप्से परिसूचक १३ दशमलव २१ प्रतिशत वृद्धि भएको छ । मङ्सिर २२ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीति लिएपछि शेयर बजारमा उत्साह देखिएको हो । राष्ट्र बैंकले मौद्रिक नितिको पहिलो त्रैमासिक समिक्षा मार्फत शेयरधितो कर्जामा लगाएको १५० प्रतिशतको जोखिम भार अहिले घटाएर १२५ प्रतिशतमा झारेको हो भने ब्याजदर घटाउने निति ल्याएको थियो । त्यसपछिको १० कारोबार दिनमा नेप्से परिसूचक दुई दिन घटेको छ भने बाँकी ८ दिन बढेको हो ।
बजार बढ्दा उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस समूहको परिसूचक मङ्सिर २४ गते ४ हजार ९३८ दशमलव ०५ विन्दुमा रहेकोमा पुस ५ गते अर्थात बिहीवार बढेर ६ हजार १३८ दशमलव ४३ विन्दुमा पुगेको थियो । यस समूहका कम्पनीले आकर्षक लाभांश दिने भएकाले पनि लगानीकर्ता बढि आकर्षित भएको देखिन्छ । त्यस्तै दोस्रोमा लगानी समूहको परिसूचक १५ प्रतिशत वृद्धि भएको छ ।
त्यसपछि हाइड्रोपावर समूहको १२ दशमलव २३ प्रतिशत वृद्धि भएको हो । पछिल्लो समय लगानीकर्ताले कम भोल्यूम भएका कम्पनीको शेयर बढी ट्रेड गरिरहेका छन् । सोही कारण पनि हाइड्रोपावर कम्पनीको शेयर मूल्य उच्च दरमा वृद्धि भएको हो । भरखर आईपीओ निष्कासन गरेका हाइड्रोपावरको २० देखि ३० प्रतिशत शेयर निष्कासन गरेको छन् अरु संस्थापकको होल्ड भएको छ । यी कारणले गर्दा हाइड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको जानकारहरु बताउँछन् ।
बाणिज्य बैंक समूहको परिसूचकभने सबैभन्दा कम १ दशमलव ८६ प्रतिशत वृद्धि भएको छ । यस समूहका कम्पनीको शेयर भोल्यूम बढी हुने भएकाले पछिल्लो समय लाभांशदर घट्दै गएकाले लगानीकर्ताका रोजाइमा नपरेको लगानीकर्ता बताउँछन् ।
स्रोत : नेप्से