अर्थतन्त्र नक्कलबाट चल्दैन, सुझबुझबाट चलाउनुपर्छ । अर्थशास्त्रका सिद्धान्त विश्वभरी नै एउटै हुन्छन् तर आर्थिक क्रियाकलाप परिस्थतिअनुसार फरक छन् । अर्थशास्त्रका आधारभूत कुराहरू जस्तै उपलब्ध साधनको सबैभन्दा आवश्यक ठाउँमा प्रयोग गर्ने, माग र आपूर्तिको सन्तुलनबाट मूल्य निर्धारण हुने, मूल्यमा गुणस्तर ब्रान्डको पनि भूमिका रहने, यी सूक्ष्म अर्थशास्त्रका आधारभूत पक्ष हुन् । सूक्ष्म अर्थशास्त्रले व्यक्तिको आर्थिक अवस्था र उसको जीवनमा खुशी बेखुशीका विषयमा ध्यान दिन्छ । यसैबाट व्यक्तिको शिक्षा, स्वास्थ्यमा पँहुचजस्ता विषयहरू समेत गणना गर्न सकिन्छ । यसरी देशभरका व्यक्तिको संयुक्त रूपबाट बन्ने अर्थशास्त्रलाई बृहत् अर्थशास्त्र भनिन्छ । यसबाट राष्ट्रिय आय, प्रतिव्यक्ति आय, कुल गार्हस्थ्य उत्पादनजस्ता तथ्यांक निकाल्न सकिन्छ ।
देश वा परिवारको आर्थिक अवस्था सुधार्ने हो भने यी सिद्धान्तलाई ध्यानमा राखेर आर्थिक नीति र गतिविधिमा ध्यान दिनुपर्ने हुन्छ । नेपालको अर्थतन्त्रलाई विप्रेषणले धानेको छ । तत्काल यसको विकल्प देखिएको छैन भन्ने मानसिकताले हामी अलमलिएका छौं । यो संसारमा विकल्पहीन केही पनि छैन । नेपालको विकास अन्य देशको मोडल चोरेर हुँदैन । यहीँको माटोअनुसार उत्पादन वा सेवाको परिकल्पना गरेरमात्र सम्भव हुने विषय हो ।
ओपेकमा आबद्ध देश तेल बेचेर सम्पन्न छन्, चीन कपडा, इलेक्ट्रिक सामान निर्यात गरेर धनी छ, अमेरिकाले आईटीको विविध प्रयोग र हतियारबाट विश्वमा राज गरेको छ । बंगलादेश तयारी पोशाकमा अब्बल छ, नेपालले पनि एक चिजमा विज्ञता पाउनुपर्छ । यसका लागि नेपालको अर्थशास्त्रको ढाँचा तयार पार्ने किसिमको दिमागको खोजी हुन आवश्यक छ । धन ज्ञानको उपार्जन हो ।
आर्थिक नीति यस्तो विषय हो, जसमा अलिकति पनि तलमाथि भयो भने देशको अर्थतन्त्र नै खलबलिन्छ । बेलायतकी पूर्वप्रधानमन्त्री लिज ट्रसले लिएका २ आर्थिक निर्णयले महँगी यति बढ्यो कि त्यहाँको तल्लो वर्ग तरकारी किन्न नसक्ने अवस्थामा पुग्यो । उनले विद्युत् खपतलाई नियन्त्रण गरेर जनताको पैसा बचाउन सीमा तोकेकी थिइन् । त्यसले राज्यलाई एकै महीनामा लाखौं पाउन्ड घाटा लाग्यो । अर्को निर्णय थियो, आयकरको दर घटाउने । कर घटेर जनतालाई केही फाइदा भएन, राज्यलाई करोडौं पाउन्ड घाटा लाग्यो । फलस्वरूप प्रधानमन्त्रीको कुर्सी नै गयो ।
नीति, कानून र संविधानमा अनावश्यक परिवर्तन देशको आर्थिक विकासको बाधक हो । स्थिरता नै विकासको आधार अर्थात् जग हो । हामीले नबुझेको कुरा स्थिरताविना विकासको जग बन्दैन । तर, हामी संविधान र कानून परिवर्तन गरिरहेका छौं । एउटा व्यक्तिलाई हेरेर नीति परिवर्तन गर्ने प्रवृत्तिले लगानीमा असर पर्छ । हामी विकासमा परिवर्तनलाई ठूलो देख्छौं तर विकसित देशले स्थिरताको निरन्तरतालाई आधार मानेर विकास गरेका छन् ।
आर्थिक विकासको आधार कुनै सूत्रमा बाँधिएको हुँदैन । त्यसैले नीति, कानून र प्रशासनिक झन्झटलाई नियन्त्रित विन्दुमा राखेर काम गर्नेलाई पूर्ण स्वतन्त्रताका साथ काम गर्न दिनुपर्छ । नेपालका २ करोड ९४ लाख मानिसमध्ये कुनै एक जनाको दिमाग पूर्णरूपमा खुल्यो र एउटा मात्र ब्रान्ड नेपालीको प्रयासबाट चल्न सक्यो भने सुधार आउँछ । तर, यसमा राज्यले कतैबाट पनि अवरोध गर्नु हुँदैन ।
भारत विश्वको चौथो अर्थतन्त्र भए पनि त्यहाँको एउटा टाटा समूहमात्र उत्कृष्ट १०० भित्र पर्छ र दक्षिण कोरियाको सामसुङ, जापानको टोयोटा आदिले त्यो देशको अर्थतन्त्रलाई ठूलो टेवा दिएका छन् । तर, नेपालमा त्यस्तो उद्योग एउटा पनि छैन । अर्थशास्त्र त्यो तहमा पुगेर काम गरोस् जसले देशमा प्राप्त स्रोत र साधनबाट आम्दानीको स्रोत बनाउन सकोस् र मानिसको मुहार फेर्न सकोस् । पूर्वदेखि पश्चिमको चुरेमा व्यावसायिक रूपले हरिण र बँदेल पालौं, मासु निर्यात गरांै । गिट्टी र बालुवाबाट भन्दा हजार गुणा बढी कमाइ हुन्छ, वनजंगल पनि मासिँदैन ।
कुनै खोलाको पानीले बाढी ल्याउने, डुबान हुने समस्या छ । केही खोलाको पानी व्यवस्थित गरेर विद्युत् निकालिन्छ र सिँचाइ गरिन्छ । मानिसको जीवन पनि यस्तै हो यसलाई पनि निश्चित उद्देश्यमा अडिग बनाउन सके समाजमा केही परिवर्तन गर्न सकिन्छ ।
नेपालको अर्थतन्त्रको आधार पानी र वनजंगल हो । विद्युत् उत्पादनका लागि व्यापक प्रयास भएको छ । अब त केही मात्रामा विद्युत् निर्यात भएको अवस्था पनि छ । त्यसैले विद्युत् उत्पादन बढाउने प्रयास गर्नुका साथै वनजंगललाई उत्पादनको साधन बनाउन अनेक प्रयास गरौं ।
प्रारम्भिक आँकडा हेर्दा नेपालको जनसंख्याको घट्दो क्रम बढेको छ । भएका युवा विदेश गइरहेका छन् । जसरीतसरी पहाड वा गाउँ छोडेर शहर र तराईतिर आउनेको भीड बढिरहेको छ । खाना पकाउने ग्यासको बढ्दो प्रयोग र घरका झ्यालढोकाको चौकसमा पनि आयातित वस्तुको प्रयोगले नेपालमा वनजंगल बढिरहेको छ । यस्तो बेला अनेक प्रकारका बँदेल, हरिण, कालिज, तित्राको व्यावसायिक उत्पादन गरी मासु निर्यात गर्ने र मौरी पालनलाई व्यावसायिक बनाउँदै लैजान सकिने सम्भावना बढेको छ । यसरी थोरै श्रम र पूँजीबाट धेरै कमाउन सकिन्छ ।
हाम्रो बजार भारत र चीन नै हो । नेपालले दुवै देशमा मासु बेच्न सक्छ, यदि व्यावसायिक तरीकाले सबै स्वास्थ्य परीक्षणका प्रक्रिया पूरा गर्ने हो भने । ४१ हजार वर्गकिलोमीटर क्षेत्रफल भएको नेदरल्यान्ड्स अहिले विश्वमा दोस्रो सबैभन्दा बढी खानेकुरा निर्यात गर्छ भन्ने लगभग ५० हजार वर्गकिलोमीटर वनजंगल रहेको नेपालले वन्यजन्तुको मासु निर्यात गर्नु कुनै आश्चर्यको विषय होइन ।
सरकारी वन, सामुदायिक वन र निजी वनमा कसरी हुन्छ, प्राकृतिक रूपमा माथि उल्लेख भएका जनावर पालन गर्ने हो भने रोजगारी र निर्यात बढ्छ । वनजंगलको सुरक्षा पनि हुन्छ । यसमा बढी लगानी पनि चाहिँदैन । यत्ति हो स्पष्ट नीति ल्याओस् र लगानीका लागि उपयुक्त वातावरण तयार पार्न सकोस् । यसो भए वार्षिक २ खर्बको मासु विहार, उत्तर प्रदेश र पश्चिम बंगालमा मात्र निर्यात हुन्छ ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।