जनकपुरधाम । चालू आर्थिक वर्ष सकिन डेढ महीनाभन्दा कम समय रहँदा समेत मधेश प्रदेश सरकारले प्रदेशमा रहेका स्थानीय तहलाई सशर्त, विशेष र समपूरक अनुदान पठाउन सकेको छैन । प्रदेश सरकारले केही स्थानीय तहमा विशेष र समपूरकको अनुदान पठाए पनि सशर्त बजेट हालसम्म एउटा पनि स्थानीय तहमा पठाउन सकेको छैन ।
मधेश प्रदेश सरकारले स्थानीय तहहरूलाई सशर्त १ अर्ब ६३ करोड ५७ लाख, विशेष ४२ करोड ७५ लाख र समपूरक अनुदान २८ करोड ४० लाख रुपैयाँ पठाउनुपर्नेमा हालसम्म निकासा गरिएको छैन । प्रदेश सरकारले चालू आर्थिक वर्षमा वित्तीय हस्तान्तरणअन्तर्गतको रकम निकासा नगर्दा प्रदेशका १ सय ३६ ओटा स्थानीय तहको विकास निर्माण प्रभावित भएको छ ।
योजना छनोटसँगै पहिलो र कार्यप्रगतिका आधारमा दोस्रो किस्ता हस्तान्तरण हुनुपर्नेमा प्रदेशले हालसम्म एउटा किस्ता पनि नपठाउँदा स्थानीय तहलाई वित्तीय स्रोत जुटाउन समस्या भएको छ ।
प्रदेश सरकारले स्थानीय तहलाई वित्तीय हस्तान्तरण नगरे प्रदेशको ‘ग्रेड’ घट्छ । परिणामस्वरूप, आगामी आवमा संघीय सरकारबाट प्रदेशले प्राप्त गर्ने अनुदान कटौती हुन सक्छ ।
गत आर्थिक वर्षमा पनि स्थानीय तहलाई पठाउनुपर्ने विभिन्न अनुदान रकम अन्तिम समयमा पठाउँदा अधिकांश स्थानीय तहले उक्त रकम परिचालन गर्न सकेका थिएनन् । स्थानीय तहले समपूरक अनुदान सडक, सिँचाइलगायत भौतिक पूर्वाधारमा खर्च गर्नुपर्छ । आयोजनाको प्रकृति हेरेर प्रदेशले कुल लागतको ७० प्रतिशतसम्म निकासा गर्न सक्छ । बाँकी रकम स्थानीय तहले बेहोर्नुपर्छ । पालिकाले समपूरकका आयोजना माघभित्र प्रदेश सरकारमा पठाउनुपर्छ र सोहीअनुसार पहिलो किस्ता निकासा हुन्छ ।
सशर्त अनुदानको पहिलो किस्ता भदौभित्र निकासा गर्नुपर्ने व्यवस्था मधेश प्रदेश सशर्त अनुदानसम्बन्धी कार्यविधि २०७८ मा छ । कार्यप्रगतिका आधारमा दोस्रो किस्ता हस्तान्तरण हुनुपर्नेमा अहिलेसम्म कुनै किस्ता गएको छैन । सशर्त अनुदान रकम प्रदेश सरकारले तोकेको आयोजनामा खर्चनुपर्छ । ती आयोजना सोही आवमा सक्नुपर्ने व्यवस्था छ ।
विशेष अनुदानको रकम शैक्षिक विकासका योजना, आधारभूत स्वास्थ्य सेवा, खानेपानीलगायत क्षेत्रमा खर्च गरिन्छ । स्थानीय तहले विशेष अनुदानबाट कार्यान्वयन गर्ने आयोजना तथा कार्यक्रम वार्षिक बजेटमा समावेश गरेका हुन्छन् । विशेष अनुदान पनि दुई किस्तामा निकासा हुन्छ ।
मधेश सरकारले प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जका लागि विशेष अनुदानबापत १ करोड र समपूरकतर्फ ५० लाख रकम विनियोजन गरेको छ । त्यस्तै, प्रदेशका उपमहानगरपालिका जनकपुरधाम, कलैया र सिमराका लागि ७५ लाखको दरले विशेष अनुदान र ५० लाखको दरले समपूरक बजेट अनुदान विनियोजन गरेको छ ।
त्यसैगरी नगरपालिकाका लागि विशेष अनुदान २१ करोड ८० लाख र समपूरक अनुदान १ अर्ब ४६ करोड रकम विनियोजन गरेको छ । गाउँपालिकाका लागि विशेष अनुदानतर्फ १७ करोड ७० लाख र समपूरकतर्फ १ अर्ब १८ करोड रकम बजेट विनियोजन गरेको छ ।
मधेश प्रदेश सरकारले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका लागि एकमुष्ट १ अर्ब ६३ करोड ५७ लाख सशर्त अनुदान विनियोजन गरेको छ ।