काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १४ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । सभा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-७ स्थित होटल सारथीमा उक्त दिन बिहान ११ बजेबाट शुरु हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतबारे छलफल हुनेछ ।
सभाका लागि आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने पनि सभाको एजेन्डा छ ।
संस्थापक शेयरलाई साधारण सेयरमा परिणत गर्ने सम्बन्धमा पनि सभामा छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परेमा सोको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको कम्पनीले जानकारी दिएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन ३ गतेसम्म शेयर खरीद गरी कायम रहने शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट घोषणा गरेको ६ दशमलव ३२ प्रतिशत लाभांश रद्द गरेको थियो । नेपाल राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गर्न निर्देशन दिएपछि कम्पनीले उक्त प्रस्ताव रद्द गरेको हो ।