काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गते (आज) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार १९ गतेदेखि साउन २ गतेसम्म र आयोजना प्रभावित स्थानीयमा असार १९ गतेदेखि साउन ९ गतेसम्म आईपीओ विक्री गरेको थियो ।
स्थानीयमा कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ जारी गरेको थियो । स्थानीयका लागि छुट्याएको शेयरमध्ये ६ लाख १६ हजार ६२० कित्ता आईपीओ भने वितरण हुन सकेन । स्थानीयमा वितरण हुन नसकेको उक्त शेयरसमेत जोडेर सर्वसाधारणमा विक्री गर्न लागिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने २ लाख कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।
यीबाहेक ४० हजार कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूका लागि र १ लाख कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणमा २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याइएको छ ।
सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासन अवधि छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ १० गतेसम्मका लागि तोकिएको छ । सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले यो आईपीओ समेत छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल ए इस्यूअरदेखि केयर एनपी डी इस्यूअरसम्मको रेटिङ प्रदान गर्ने गर्दछ, जसमा केयर एनपी ट्रिपल ए इस्यूअर रेटिङ्गले बलियो आधारको संकेत गर्दछ भने केयर एनपी डी इस्यूअर रेटिङ्गले कमजोर आधारको संकेत गर्दछ ।
कम्पनीको परिचय :
नेपालमा रहेको अपार जलस्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरूको पहीचान गरी निर्माण र सञ्चालन गर्ने अभिप्रायले यो कम्पनी २०६७ साल साउन २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएका थियो । पछि २०७८ साल असार २५ गतेदेखि यो कम्पनी पब्लिक लिमिटेडमा परिणत भई कारोबार गर्दै आएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर, काठमाडौंमा रहेको छ । यस कम्पनीले दोलखा जिल्लामा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७७ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रूपैयाँ रहेको छ ।
पूँजी संरचना :
अधिकृत पूँजी ८० करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी पनि ८० करोड रूपैयाँनै छ । हाल कम्पनीमा संस्थापक शेयरधनीहरूबाट चुक्ताभएको पूँजी भने ५२ करोड रूपैयाँ छ । सर्वसाधारणमा समेत शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ कायम हुनेछ । कम्पनीमा हाल संस्थापक तर्फ ६५ प्रतिशत शेयर स्वामित्व रहेको छ । आयोजना प्रभावित र सर्वसाधारणतर्फ ३५ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । कम्पनीले आईपीओबाट संकलित रकम कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानीको लागि प्रयोग गरिने जानकारी दिएको छ ।
वित्तीय अवस्था :
व्यापारिक उत्पादन सुरू गरिसकेको भएपनि कम्पनी अझै संचित नोक्सानीमै रहेको छ । आर्थिक वर्ष ०७८÷७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १३ करोड ४१ लाख रूपैयाँभन्दा बढी संचित नोक्सानीमा रहेको छ । चालू आर्थिक वषृ ०८०÷८१ भित्र संचित नोक्सानी घटाएर १३ करोड ३० लाख रूपैयाँमा झार्ने प्रक्षेपण कम्पनीले गरेको छ । वास्तविक प्रतिशेयर नेटवर्थ ७४ रूपैयाँ रहेको कम्पनी वास्तविक ८ रूपैयाँ ३७ पैसा प्रतिशेयर नोक्सानीमा रहेको देखिन्छ । विगत तीन आर्थिक वर्षको नेटवर्थमा भएको औसत प्रतिफल १३ दशमलव ७८ प्रतिशत ऋणात्मक रहेको छ । चालू आर्थिक वर्षभित्र नेटवर्थमा औसत प्रतिफल ३ रूपैयाँ ३५ पैसा कायम गर्ने प्रक्षेपण कम्पनीको छ ।
सञ्चालक समिति :
कम्पनीमा चार सदस्यीय सञ्चालक समिति रहेको छ । सञ्चालक समितिको अध्यषमा कृष्ण बहादुर उप्रेती रहेका छन् । अध्यक्ष उपे्रती राष्ट्रिय सहकारी बैंकमा २०७५ सालदेखि र हाम्रो सगरमाथा बहुउदेश्यीय सहकारी संस्थामा २०६४ सालदेखि हालसम्म अध्यक्ष पदमा रहेका छन् । राष्ट्रिय सहकारी महासंघमा २०७३ सालदेखि हालसम्म सञ्चालक पदको जिम्मेवारी समेत अध्यक्ष उप्रेतीले पुरा गरिरहेका छन् । यी वाहेक जिल्ला सहकारी महासंघमा २०६२ सालदेखि २०७२ सालसम्म उप्रेतीले अध्यक्षको जिम्मेवारी पुरा गरेका थिए । कम्पनीको सञ्चालकहरूमा भने नारायण दत्त तिमल्सिना , रामहरी बजगाई र राधेश्याम खड्का रहेका छन् । सञ्चालकहरूको समेत कम्पनीको १ करोडका दरले शेयर स्वामित्व कायम गरेका छन् ।
आईपीओले पहिलो कारोबारका लागि पाउन सम्भावित मूल्य
कुनै पनि कम्पनीको आईपीओ सबैभन्दा पहिलो प्राथमिक बजारमा विक्री खुला हुन्छ । प्राथमिक बजारमा विक्री गरेको आईपीओ बाँडफाँट गरी कारोबारयोग्य बनाउन भने धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनुपर्दछ । प्राथमिक बजारमा हामीले खरीद गरेको यस कम्पनीको आईपीओ दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएपछि दोस्रो कारोबार दिनदेखि कारोबारयोग्य हुनेछ । कम्पनीको आईपीओ पहिलो कारोबारका लागि बजार सञ्चालकले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज तोक्नेछ । यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता ७४ रूपैयाँदेखि अधिकतम प्रतिकित्ता २२२ रूपैयाँसम्मको मूल्य रेञ्ज नेप्सेले पहिलो कारोबारका लागि तोक्ने देखिन्छ ।