नेपालको कृषि अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले निर्माण गरेको २० वर्षे अवधारणा कृषि मन्त्रालयमा रोकिएको छ । ‘कृषि अनुसन्धानका लागि नार्कको रणनीतिक अवधारणा २०११–२०३० परिषद्ले १ वर्षअगाडि नै मन्त्रालय पठाएको नार्कका योजना तथा समन्वय महाशाखाका निर्देशक डा. हीराकाजी मानन्धरले जानकारी दिए । यसअघि सन् २००० मा बनाइएको यस्तै अवधारणा पनि लागू हुन सकेको थिएन । परिषद्मा मन्त्रालयकै सचिव र मन्त्रीसमेत रहने व्यवस्था छ । परिषद्ले अनुमोदन गरेका विषय सीधै मन्त्रिपरिषद् जाने प्रावधान नभएकाले समस्या देखिएको मानन्धरको अनुभव छ । सो अवधारणा पत्र राष्ट्रिय योजना आयोगको सुझावमा बनेको बताइन्छ ।
नार्कका एक पदाधिकारीका अनुसार परिषद्का कार्यकारी निर्देशकलाई मन्त्रालयमा प्राविधिक सचिवको रूपमा राख्नुपर्ने अवधारणाको प्रावधानका कारण यसलाई मन्त्रिपरिषद्मा नलगिएको हो । नार्कलाई मन्त्रालयको मूलधारमा ल्याउने प्रयासस्वरूप यस्तो प्रस्ताव गरिएको मानन्धरले जानकारी दिए । तर, मन्त्रालयका प्रवक्ता डा. प्रभाकर पाठकले भने नार्कको रणनीतिक अवधारणाका बारेमा आफूलाई केही थाहा नभएको बताए । उनले भने, ‘त्यसै पनि निर्माणाधीन कृषि विकास रणनीतिमा कृषि अनुसन्धानको विषय समेटिहालिन्छ ।’
वर्ष ८, अंक १३, आइतवार ३१ भदौ, २०६९