काठमाडौं । लगानीयोग्य पूँजी (तरलता) को अवस्था सहज भएपछि बैंक, वित्तीय संस्थाले मुद्दती निक्षेप घटाउन थालेका छन् । बैंकहरूले व्यक्तिगत तथा संस्थागत मुद्दती ब्याजदर घटाउँदा यस्तो निक्षेपको अंश पनि घट्न थालेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पुससम्ममा बैंक, वित्तीय संस्थासँग रहेको कुल ६७ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेपमा मुद्दतीको अंश ५२ दशमलव ५ प्रतिशत रहेको छ । १ वर्षअघि आव २०८१/८२ पुसमा यस्तो निक्षेपको अंश ५९ दशमलव ९ प्रतिशत थियो ।
अघिल्लो वर्ष तरलता अभाव हुँदा बैंक, वित्तीय संस्थाहरूले मुद्दती निक्षेप बढाएका थिए । सर्वसाधारणलाई बढी ब्याजदर दिएर निक्षेप आकर्षित गर्न मुद्दतीमा जोड दिनुका साथै बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नेपाली सेनाजस्ता ठूला संस्थागत निक्षेपकर्ताबाट रकम तान्ने होडबाजी गरेका थिए ।
गत आवदेखि तरलता सहज भएसँगै बैंकहरूले मुद्दती निक्षेप घटाउँदै आएका हुन् । राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले बैंकहरूसँग साढे ६ खर्ब रुपैयाँभन्दा बढी कर्जा दिने क्षमता भए पनि विस्तार हुन सकेको छैन । कर्जाको माग नभएपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेको र मुद्दती निक्षेपको अंश पनि घट्दै गएको पूर्वबैंकर पर्शुराम कुँवर क्षत्री बताउँछन् । बैंकहरूले ब्याजदर घटाएपछि संस्थागत लगानीकर्ताले पनि बैंकका निक्षेप राख्नुको सट्टा सरकारी ऋणपत्रजस्ता उपकरणमा लगानी गर्न थालेका छन् । मुद्दती निक्षेपको अंश घट्दै गए पनि बैंकहरूमा साधारण र चल्ती प्रकृतिको निक्षेप अंश भने बढ्दै गएको छ । २०८० पुसमा बैंकहरूसँग रहेको कुल निक्षेपमा साधारण बचतको अंश २६ दशमलव ७ प्रतिशत रहेकोमा २०८१ पुसमा बढेर ३४ दशमलव १ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
बैंकहरूले साधारण बचतमा दिने न्यूनतम ब्याजभन्दा मुद्दती निक्षेपमा थप ५ प्रतिशत बिन्दुले अधिकतम ब्याज दिन पाउँछन् । राष्ट्र बैंकको निर्देशनअनुसार कल निक्षेपबाहेकका ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा धेरैले फरक पार्न नपाइने व्यवस्था छ । यसैगरी व्यक्तिगत निक्षेपभन्दा संस्थागत निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले कम हुनुपर्ने प्रावधान छ ।
नेपाल बैंकर्स संघले २०८१ साउनदेखि भद्र सहमति अन्त्य गर्दै बैंकहरूले आफूखुशी ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेको थियो । त्यसयता क्रमश: ब्याजदर घटाएका बैंकहरूले फागुनमा भने अधिकांशले स्थिर राखेका छन् । फागुनमा ग्लोबल आइएमई बैंकले मात्र मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतले बिन्दुले बढाएको छ ।