काठमाडौं । निर्माण व्यवसायीले सिमेन्ट र डन्डीको बढ्दो मूल्यवृद्धि कायमै रहे सम्पूर्ण निर्माण कार्य रोक्ने चेतावनी दिएका छन् । विगत १ महीनामा पटकपटक गरी सिमेन्ट प्रतिबोरा २०० रुपैयाँभन्दा धेरै र डन्डी प्रतिकिलो १५ रुपैयाँले महँगिएको उल्लेख गर्दै निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले मूल्यवृद्धि निरन्तर भइरहे सम्पूर्ण निर्माण कार्य रोक्ने चेतावनी दिएको हो ।
महासंघले आफ्ना सदस्यलाई मंगलवार पत्राचार गर्दै आआफ्ना चालू आयोजनाहरूमा मूल्यवृद्धि भएको अनुपातमा दाबीका लागि सम्बद्ध निकायमा यथाशीघ्र पत्राचार गर्न भनेको छ । मूल्यवृद्धि निरन्तर भइरहे सम्पूर्ण निर्माण कार्य रोक्न बाध्य हुने बेहोरासमेतको पत्राचार सम्बद्ध आयोजनाहरूमा गर्न पनि सदस्यहरूलाई आग्रह गरिएको छ । महासंघले सिमेन्ट र डन्डी उत्पादकहरूले ठोस कारणविनै कार्टेलिङ गरी मूल्य बढाएको दाबी गरेको छ ।
मङ्सिर २६ गते सिमेन्ट उद्योगी र निर्माण व्यवसायीबीच सिमेन्टको अधिकतम तोक्ने सहमति भएको भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको थियो । उद्योगमन्त्री दामोदार भण्डारीले बढाइएको मूल्य केही घटाउन सिमेन्ट उद्योगीलाई आग्रह गरेका थिए ।
महासंघका अध्यक्ष रवि सिंहले सिमेन्ट र डन्डीको अस्वाभाविक रुपमा मूल्यवृद्धि हुँदा निर्माण कार्य गर्न आफूहरूलाई समस्या भइरहेको बताए । उनका अनुसार निर्माण सम्झौता हुने बेलाको जिल्ला दररेट एउटा हुने र अहिले मूल्य बढ्दा आफ्नो लागत बढ्ने भएकाले सरकारले मूल्यवृद्धिले पारेको असर सम्बोधन गर्नुपर्ने माग निर्माण व्यवसायीले गरेका हुन् ।
‘अहिले बढेको बजार मूल्यअनुसारको दररेट पुन: तोक्ने व्यवस्था गर्नुपर्छ । अहिलेको समस्याका कारण कुनै पनि आयोजनाहरू सम्पन्न हुन सक्दैनन् । त्यसकारण सिमेन्ट र डन्डीको मूल्यवृद्धिको अनुपातमा दाबी गर्न नपाए हामी सम्पूर्ण निर्माण कार्य रोक्न बाध्य हुनेछौं,’ उनले आर्थिक अभियानसँग भने ।
यसअघि गत मङ्सिर २६ गते निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको पनि उनले दाबी गरे । उक्त छलफलमा काठमाडौं उपत्यकामा ओपीसी सिमेन्ट प्रतिबोरा ७०० र पीपीसी सिमेन्ट ६०० रुपैयाँमा उपलब्ध गराउने प्रतिबद्धता सिमेन्ट व्यवसायीले गरेको पनि उनको दाबी छ ।
- सिमेन्ट प्रतिबोरा २०० रुपैयाँभन्दा धेरै र डन्डी प्रतिकेजी १५ रुपैयाँले महँगिएको गुनासो
- चालू आयोजनाहरूमा मूल्यवृद्धि भएको अनुपातमा भुक्तानी दाबी गर्न सदस्यहरूलाई निर्माण व्यवसायी महासंघको आग्रह
- सिमेन्ट उद्योगी भन्छन्– अहिले मूल्य घटाउने सम्भावना छैन
- सिमेन्टको मूल्यवृद्धिले दीर्घकालीन आयोजनामा खासै फरक नपर्ने सडक विभागको भनाइ
तर, उक्त सहमतिलाई बेवास्ता गर्दै सिमेन्ट उद्योगीले अहिले ओपीसीको प्रतिबोरा ७०५ र पीपीसीको ६८० रुपैयाँ मूल्य तोकेको सिंहले बताए । साथै सिमेन्ट उद्योगीले अहिले उत्पादनसमेत घटाएर अभाव सृजना गरेर मूल्यवृद्धि गर्ने बहाना बनाएको उनले बताए ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारूले भने अहिले मूल्य बढेको नभई घटेको मूल्य समायोजन गरिएको बताए ।
‘सिमेन्टको मूल्य गतवर्षको भन्दा कम छ । सिमेन्टको मूल्य बढेको नभई समायोजन मात्र गरिएको हो । आर्थिक गतिविधि कम हुँदा सिमेन्ट उद्योगहरू घाटामा छन् । अहिले हामी मूल्य घटाउने भन्दा पनि कसरी उद्योगलाई चलायमान बनाउने भन्ने विषयमा केन्द्रित छौं,’ मारूले भने, ‘मूल्य घटाउने सम्भावना छैन । यद्यपि सिमेन्ट उद्योगले यसबारे आफै निर्णय लिन भने सक्नेछन् ।’
सडक विभागका महानिर्देशक रामहरि पोखरेलले निर्माण व्यवसायीले भनेजस्तो सिमेन्टको मूल्यवृद्धिले दीर्घकालीन आयोजनाहरूमा खासै फरक नपर्ने बताए ।
उनका अनुसार १ वर्षभित्र सक्नुपर्ने आयोजनामा केही असर पर्ने भए पनि १ वर्षभन्दा बढी समयमा सक्नुपर्ने आयोजनाको हकमा नेपाल राष्ट्र बैंकले जारी गर्ने मूल्यवृद्धिको सूचकअनुसार व्यवसायीलाई मूल्यवृद्धिको अनुपातमै रकम दाबी गर्न पाउने सुविधा दिने गरिएको छ ।