काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
कम्पनीले पुस २९ गते आफ्नो केन्द्रीय कार्यालय, सिआईटी बिल्डिङ, नयाँ बानेश्वर, काठमाडौंमा ३० औं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक-एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरू कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।