काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजबाट २१ हजार १३३ कित्ता संस्थापक शेयर निष्कासनमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २८० रुपैयाँ अंकित मूल्यमा यी शेयर निष्कासनमा ल्याएको हो ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र निष्कासन गर्दा वितरण हुन नसकेपछि कम्पनीले दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर जारी गरेको हो ।
इच्छुक खरीदकर्ताहरूले पुस २९ गतेभित्र विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम सम्पूर्ण कित्ता शेयर माग गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र माघ ३ गते दिउँसो ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रमसमेत तय भइसकेको छ ।