काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कोषको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ३६ दशमलव ७४ प्रतिशत वृद्धि भएको छ ।
कोषले अघिल्लो आवमा रू. ६६ करोड ३९ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ९० करोड ७८ लाख पुगेको हो । गत आवमा कोषको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा कोषको आम्दानी ११ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कोषको कुल आम्दानी रू. १ अर्ब ६२ करोड रहेकोमा गत आवमा बढेर रू. १ अर्ब ८१ करोडभन्दा बढी पुगेको छ । कोषको शेयर पूँजी रू. ५ अर्ब ३१ करोड छ भने जगेडामा रू. २२ अर्ब ३६ करोड भन्दा बढी सञ्चिति गरेको छ ।
गत आवमा नाफामा वृद्धि भए पनि कोषको प्रतिशेयर आम्दानी भने घटेको छ । अघिल्लो आवमा कोषको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३० पैसा रहेकोमा गत आवमा घटेर १७ रुपैयाँ ०८ पैसामा कायम भएको हो । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कोषको प्रतिशेयर आम्दानी घट्न पुगेको हो । गत आवमा कोषको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ८१ पैसा रहेको छ ।