काठमाडौं । नबिल म्युचुअल फण्डले आफ्ना विभिन्न योजनाको रकम फिर्ता भुक्तानी र पुरानो प्रतिफल लिन इकाईधनीहरूलाई अनुरोध गरेको छ । फण्डले परिपक्व भएका योजनाको रकम फिर्ता नलिएका र खारेज भएका योजनाको नगद लाभांश रकम लिन बाँकी रहेका इकाईधनीलाई उक्त रकम लिन अनुरोध गरेको हो ।
फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड १ २०७४ चैत २९ मा र नबिल इक्वीटी फण्ड २०८० कात्तिक १८ मा परिपक्व भएका थिए ।
परिपक्व भएपछि सामूहिक लगानी कोषको व्यवस्थाअनुसार अन्तिम कायम प्रतिइकाई खरीद सम्पत्ति मूल्यका आधारमा कर कट्टा गरी आएको फिर्ता रकमलाई अभौतिक रूपमा धारण गरेका इकाईधनीहरूलाई बैंकमा र भौतिक शेयर प्रमाणपत्र भएकालाई चेकमार्फत वितरण गरेको योजनाले जानकारी दिएको छ । यी दुई योजना परिपक्व भएको समयसम्म कायम इकाईधनीहरूले हालसम्म रकम भुक्तानी फिर्ता नपाएको भए रकम लिनका लागि कार्यालयमा सम्पर्क राख्न फण्डले भनेको छ ।
साथै खारेज भएका नबिल ब्यालेन्स्ड फण्ड १, नबिल इक्वीटी फण्ड र सञ्चालनमा रहेको नबिल ब्यालेन्स्ड फण्ड २ ले विभिन्न आर्थिक वर्षमा वितरण गरेको नगद लाभांश रकम लिन बाँकी इकाईधनीले आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्रै रकम प्राप्त हुने फण्डले जानकारी दिएको छ ।
साथै भौतिक शेयर प्रमाणपत्र भएका इकाईधनीहरूले आफ्नो सक्कल भौतिक शेयर प्रमाणपत्र र परिचयपत्र सहित योजनाको कार्यालयमा सम्पर्क राखी निवेदन दिन सक्नेछन् ।
कोष प्रबर्द्धक नबिल बैंक छ भने योजना व्यवस्थापक एवं डिपोजिटरी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ ।