काठमाडौं । नबिल स्टक डिलर लिमिटेडले पछिल्लो ६ महीनाको अवधिमा ६ करोड ६७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत असार मसान्तससम्मको तुलनामा पछिल्लो ६ महीनामा साढे ११ प्रतिशत खुद नाफामा वृद्धि देखिएको हो । गत असार मसान्तसम्म कम्पनीले ५ करोड ९८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
नेपालमा दोस्रो स्टक डिलरको रूपमा गत भदौ २० गतेदेखि कारोबार शुरु गरेको यस कम्पनीको सञ्चालन नाफा पुस मसान्तसम्म ७ करोड ३५ लाख रुपैयाँभन्दा बढी छ । सञ्चालन नाफा भने असार मसान्तसम्मको तुलनामा घटेको हो । गत असार मसान्तसम्म कम्पनीको सञ्चालन नाफा ८ करोड ६३ लाख रुपैयाँभन्दा बढी थियो ।
६ महीनामा वित्तीय खर्च १८ लाख ६९ हजार रुपैयाँभन्दा बढी भएको कम्पनीले सञ्चालन आम्दानी यस अवधिसम्म ९ करोड ५८ लाख रुपैयाँभन्दा बढी गरेको छ । तेस्रो तहको धितोपत्र दलाल व्यवसायीको रूपमा यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स पाएको हो । धितोपत्र बजारमा पृथक पहिचान कायम गर्ने गरी अघि बढेको यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ५२ करोड रुपैयाँ छ ।
नेपाल धितोपत्र बोर्डले तेस्रो तहको ब्रोकर लाइसेन्सका लागि १ अर्ब ५० कराड न्यूनतम चुक्ता पूँजी तोकेको थियो । तोकेभन्दा बढी पूँजी कायम गरी यस कम्पनीले ६८ नम्बर ब्रोकर कम्पनीको नामबाट सेवा प्रदान गरिरहेको छ ।
पुस मसान्तसम्म कम्पनीको जगेडा कोषमा १२ करोड ६६ लाख रुपैयाँभन्दा बढी सञ्चित छ । कुल सम्पत्ति २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँभन्दा बढी रहेको यस कम्पनीको कुल दायित्व ९२ करोड ७२ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ३३ पैसा छ ।