काठमाडौं । नेपाल राष्ट्र बैंकबाट स्वीकृति नपाउने संकेत पाएपछि नबिल बैंकको विदेशी लगानीकर्ता आईएफआईसी बैंक पीएलसीले तत्काल शेयर नबेच्ने निर्णय गरेको छ ।
नबिलले आइतवार नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाउँदै शेयर खरीदविक्री स्थगित भएको जानकारी गराएको छ । २०७९ मङ्सिर १५ गते बैंकले संस्थापक शेयर विक्रीसम्बन्धी सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट स्वीकृति लिन प्रक्रिया अघि बढाएको थियो ।
आईएफआईसीले शेयर विक्री नगरी नबिलमा कायम रहेको संस्थापक शेयरलाई निरन्तरता दिने भनी विक्रीको निवेदन फिर्ता लिएको छ भने खरीद प्रस्ताव पेश गर्ने संस्थापक शेयरधनीले समेत निवेदन फिर्ता लिई शेयर खरीद प्रक्रियाबाट बाहिरिएको पत्रमा उल्लेख गरिएको छ ।
नबिलले आइतवार मात्र जानकारी गराए पनि आईएफआईसीले १ महीनाअघि नै शेयर विक्री गर्ने योजना स्थगित गर्ने निर्णय गरेको थियो । बैंकका कम्पनी सचिव एमडी मोकामेल हकलाई उद्धृत गर्दै बंगलादेशको पत्रिका द फाइनान्सियल एक्सप्रेसले नबिल बैंकमा रहेको शेयर विक्री गर्ने नीति परिवर्तन गरिएको समाचार प्रकाशित गरेको थियो ।
स्रोतका अनुसार शेयर खरीदविक्रीका लागि राष्ट्र बैंकबाट स्वीकृति नपाउने संकेत पाएपछि तत्कालका लागि प्रक्रिया नै बन्द गरिएको हो । राष्ट्र बैंकले शेयर खरीदकर्ता व्यक्तिको नाममा असहमति जनाउँदै निर्णय गर्न आलटाल गर्दै आएको थियो । राष्ट्र बैंकले स्वीकृति नदिने निर्णय नै भने गरेको छैन ।
राष्ट्र बैंकमा पेश भएको निवेदनमा आईएफआईसीको नाममा रहेको २ करोड १० लाख १७ हजार २६४ कित्ता शेयर सारिका चौधरीले किन्ने उल्लेख छ । सारिका चौधरी समूहका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद विनोद चौधरीकी श्रीमती हुन् ।
विनोद चौधरीकी पत्नी सारिका चौधरीले शेयर किन्न खोजेकोमा राष्ट्र बैंकले स्वीकृति दिन आलटाल गर्दै आएको थियो
आईएफआईसीले एनबी बैंकबाट आफ्नो शेयर २०७८ सालमै विक्री गर्न खोजेको थियो । उक्त शेयर किन्न व्यवसायी मोतिलाल दुगड र विनोद चौधरी दुवैले रुचि देखाएका थिए । त्यसपछि उक्त शेयर खरीदको विषयमा दुगड र चौधरीबीचको विवाद अदालतसमेत पुगेको थियो । पछि दुवै व्यापारीबीच विवाद मिलेपछि मुद्दा फिर्ता भयो । त्यसपछि आईएफआईसीको शेयर चौधरी समूहले किन्न सम्झौता गरी एनबी र नबिल बैंकबीच मर्जरको प्रक्रिया अघि बढेको हो । नबिलमा चौधरी ग्रूपले प्रवर्द्धन गरेको आयरल्यान्डस्थित एनबी इन्टरनेशनलको ३९ दशमलव ४४ प्रतिशत र निर्वाण चौधरीको शून्य दशमलव ७० प्रतिशत शेयर छ ।
वरुण चौधरीको शून्य दशमलव ६७ प्रतिशत शेयर रहेको बैंकको वार्षिक प्रतिवेदन २०७९/८० मा उल्लेख छ । आईएफआईसीको शेयर भने ७ दशमलव ७७ प्रतिशत छ । नेपाल बंगलादेश बैंक मर्जर नहुँदा एनबी इन्टरनेशनल र चौधरी परिवारका सदस्यको गरी ५२ प्रतिशत शेयर चौधरी ग्रूपअन्तर्गत रहेको रेटिङ एजेन्सी इक्रा नेपालले उल्लेख गरेको छ ।
एनबी र नबिल बैंक मर्जर भई २०७९ असार २७ देखि एकीकृत कारोबार हुँदै आएको छ । एकीकृत कारोबार शुरू भएको ५ महीनापछि सम्झौताअनुसार आईएफआईसीको नाममा रहेको शेयर खरीदविक्री स्वीकृतिका लागि २०७९ मङ्सिरमा राष्ट्र बैंकमा निवेदन पेश भएको थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) को प्रावधानअनुसार बैंक, वित्तीय संस्था सञ्चालनको ५ वर्षसम्म संस्थापक शेयर विक्री गर्न पाइँदैन ।
त्यसपछि पनि संस्थापक शेयर संस्थापक समूहमै रहने गरी विक्री नभएको अवस्थामा मात्र बाहिर विक्री गर्न पाउने प्रावधान छ । यस्तै २ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका कम्पनी तथा संगठित संस्थाको शेयर विक्रीका लागि राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्छ ।
मर्जरपछि नबिलमा आईएफआईसीको ७ दशमलव ७ प्रतिशत शेयर स्वामित्व छ । औपचारिक रूपमा निवेदन पेश गरेको १ वर्षभन्दा बढी समयसम्म पनि राष्ट्र बैंकले निर्णय नगरेपछि खरीदविक्री प्रक्रिया नै स्थगित गरेको हो । स्रोतका अनुसार राष्ट्र बैंकले शेयर विक्री स्वीकृतिका लागि विदेशी लगानीकर्ता नै खोज्न भनेको थियो । तर, नेपाली लगानीकर्ताले निवेदनअनुसार नै निर्णय गर्न दबाब दिएका थिए ।
(आर्थिक अभियानको छापा संस्करणमा प्रकाशित यो समाचारमा असावधानीवश थपिएको एक वाक्य हटाइएको छ । सं.)