काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
साधारणसभामा करीब ९१.६२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरूको उपस्थिति थियो । उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरूउपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।
यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०८१/८२ को लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र प्रकाश जंग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत तोकेको छ ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको सत्रौं वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
समीक्षा अवधिमा कम्पनीको २ करोड ३० लाखभन्दा बढी ग्राहक पुगेको उल्लेख गर्दै अध्यक्ष अर्यालले भने, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ४२ अर्ब ११ करोड आम्दानी गरी रु ६ अर्ब २३ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कबापत आफ्नो कुल आयमध्ये ४१ अर्ब ५९ करोड राजस्वको रूपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको छ ।’
कम्पनीका अध्यक्षले साधारणसभामा शेयरधनी महानुभावहरूले उठाएका विभिन्न सुझावहरूको कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । साथै उनले सुझाव दिने शेयरधनीहरूप्रति आभार व्यक्त गरे ।
साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम आजबाट एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरूलाई वितरण गर्ने व्यवस्था मिलाएको कम्पनीले जानकारी दिएको छ ।