काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १५ करोड ७९ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २० करोड ५४ लाख पुगेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा ७ रुपैयाँ ७० पैसाबाट बढेर १० रुपैयाँ १ पैसा पुगेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा रू. २ खर्ब १० अर्बभन्दा बढी छ । चुक्तापूँजी रू. ८ अर्ब २० करोड रहेको कम्पनीले पहिलो त्रैमाससम्ममा सञ्चित मुनाफामा रू. ७१ करोड १९ लाख र महाविपत्ति कोषमा रू. १ अर्ब ११ करोडभन्दा बढी सञ्चिति गरेको छ ।
कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा १४ दशमलव ३० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको जम्मा आम्दानी रू. १५ अर्ब ७२ करोड रहेकोमा चालू आवमा रू. १७ अर्ब ९७ करोड पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ३१ रुपैयाँ ९९ पैसा छ ।