काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार (आज) नेप्से परिसूचक १३ दशमलव ९५ अंक बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ७४८ दशमलव ७८ विन्दुमा पुगेको छ । आज नेप्सेसँगै कारोबार रकममा वृद्धि भएको छ ।
मंगलवार र बुधवार घटेको बजारमा खरीदकर्ता आकर्षित भएसँगै आज बजार बढेको हो । बजार बढ्दै जाँदा लगानीकर्ता पनि थपिएका छन् । सोही कारण कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन रू. ७ अर्ब ९१ करोड बराबरको कारोबार भएकोमा आज रू. १० अर्ब ३२ करोडभन्दा बढीको कारोबार भएको छ ।
पछिल्लो समय ब्याजदर निरन्तर घट्दो छ । यस्तै, वित्तीय प्रणालीमा तरलता प्रशस्त मात्रामा छ । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारको अनुमान छ ।
बिहीवार सेन्सेटिभ इन्डेक्स शून्य दशलमव ४८ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ५१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४९ प्रतिशत वृद्धि भएको छ ।
आज ३२१ धितोपत्रको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर १ लाख १ हजार ५४५ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्तको शेयर मूल्य रू. ३ हजार ५८, स्वाभिमान लघुवित्तको रू. १ हजार ८५९ र अपर हेवा खोलाको रू. ५८६ दशमलव ३० पुगेको छ ।
बिहीवार रावा इनर्जी डेभलपमेन्टका शेयरधनीले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव १२ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८४७ मा झरेको छ । त्यस्तै कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य ७ दशमलव ३२ प्रतिशत घटेर रू. २ हजार ५८५ कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा जानकी फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. ३५ करोड २४ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९८४ दशमलव ९० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको ङादी ग्रुप पावर कम्पनीको रू. ३१ करोड ६ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये सात समूहको सूचक बढेको छ भने ६ समूहको सूचक घटेको छ । तीमध्ये जलविद्युत् समूहको सूचक सबैभन्दा बढी १ दशमलव ३४ प्रतिशत वृद्धि भएको छ भने व्यापार समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ६२ प्रतिशत घटेको छ ।