काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कायम चुक्तापूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार रूपैयाँको आधारमा कम्पनीले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस कम्पनीले आगामी माघ मसान्तसम्म २० अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्नुपर्नेछ । ४ दशमलव ७५ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी १३ अर्ब ४२ करोड २१ लाख ८६ हजार रूपैयाँ कायम हुनेछ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले जेठ १७ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले जेठ ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बुक क्लोजको अघिल्लो अन्तिम कारोबार दिन जेठ ३ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।