काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी ५–६ वर्षमा नेपाल र भारतबीच करिव १५ हजार मेगावाट विजुली आयात निर्यात गर्ने प्रसारण लाइन बन्ने स्थिति रहेको बताएका छन् ।
बिहिवारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेपाल पूर्वाधार सम्मेलनमा उनले उनले हाल बनिरहेका र वन्ने योजनामा रहेका प्रसारण लाइनबाट उक्त परिमाणको विजुली आयात निर्यात हुनसक्ने वताएका हुन् ।
यद्यपि नेपाल र भारत ४०० केभी र १३२ केभीका करिव एक दर्जन अन्तरदेशीय प्रसारण लाइनबाट जोडिएका छन् । तिनीहरूको हालको क्षमता करीव २ हजार मेगावाट सम्म मात्र विजुली बोक्ने क्षमता रहेको घिसिङले वताए ।
नेपाल भारत बिच गत वर्ष भएको भएको दीर्घकालिन विद्युत ब्यापार सम्झौता अनुसार दक्षिणी छिमेकीले १० वर्षमा १० हजार मेगावाट विजुली नेपालबाट आयात गर्नेछ । तर त्यसका लागि आन्तरिक र अन्तरदेशीय प्रसारण लाइन बनाउनु जरुरी हुन्छ ।
हाल दुई देशबीच ४०० केभी क्षमताको एउटा ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मात्र उपलब्ध छ जसबाट करीव १ हजार मेगावाट विद्युत मात्र प्रसारण हुनसक्छ । अन्य अन्तरदेशीय प्रसारण लाइन वने कम क्षमताका १३२ केभी प्रसारण लाइनहरू छन् ।
९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना बनाईरहको भारतीय सरकारी कम्पनी एसजेभीएन लिमिटेडले ढल्केवर–सितामरी अन्तरदेशीय प्रसारण लाइन बनाइरहेको छ । प्राधिकरणका अनुसार उक्त प्रसारण लाइन निर्माण पुरा हुने चरणमा छ । त्यस्तै बन्दै गरेको बुटवल–गोरखपुर प्रसारण लाइन पनि एक देखि डेढ वर्षमा पुरा हुने अपेक्षा रहेको घिसिङले वताए । नेपालतर्फको करिव १८ किलोमिटर खण्ड अमेरिकी सहयोग संस्था–मिलेनियम च्यालेञ्ज कर्पोरेसनको सहयोगमा बनाउन केही समय अघि ठेक्का लागेको छ भने करिव १०० किलोमिटरको भारतीय खण्ड भने नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डियाको संयुक्त उपक्रमले भारतमा तिव्र रहेको बनाउँदै निर्माण गर्दै गरेको प्राधिकरणले जनाएको छ । यिनीहरू पनि ४०० केभी प्रसारण लाइन हुन् ।
त्यस्तै उही क्षमताको इनरुवा–पुर्णिया र लम्की–वरेली अन्तरदेशीय प्रसारण लाइन पनि पाईप लाईनमा रहेका छ । इनरुवा–पुर्णिया आर्थिक वर्ष २०८४/८५ भित्र लम्की–वरेली भने २०८५/८६ भित्र सम्पन्न गर्न नेपाल र भारत सहमत भइसकेका छन् ।
घिसिङका अनुसार इनरुवा–पुर्णिया लाइनबाट भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेशसँग प्रसारण लाइन जोड्ने योजना रहेको पनि वताए । भारत र बङ्गलादेश प्रसारण लाइनको क्षमता अभिवृद्धि भए आगामी १० वर्षमा ५ हजार मेगावाट विजुली बागलादेश पनि निर्यात गर्न सकिने घिसिङले वताए ।