काठमाडौं । एक दशकअघि समस्याग्रस्त घोषणा भएको नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापनमा नेपाल राष्ट्र बैंक असफल देखिएको छ । राष्ट्र बैंकले नियुक्त गरेको व्यवस्थापनबाट लामो समयदेखि फाइनान्स सञ्चालन भए पनि कम्पनी खारेजीमा लैजाने वा पुनः सञ्चालन गर्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन ।
राष्ट्र बैंकले २०६८ पुस २८ मा यो कम्पनीलाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरी सुधारका लागि ६ महीना दिएको थियो । तर, २ वर्षसम्म पनि अवस्था सुधार नभएपछि २०७० माघदेखि राष्ट्र बैंक आपैmले व्यवस्थापन लिएर सञ्चालन गर्दै आएको छ । यो फाइनान्स सञ्चालन गर्न राष्ट्र बैंकले व्यवस्थापन समूह छनोट गरी पठाउने गरे पनि हालसम्म दायित्व फरफारक हुन सकेको छैन ।
कम्पनीलाई खारेजीमा लैजानेभन्दा पनि पुनः सञ्चालन गर्ने वा मर्जरमा लैजाने सोच रहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । ‘हामी फाइनान्स खारेज गर्ने पक्षमा छैनौं,’ ती अधिकारीले भने, ‘पुनः सञ्चालन गर्ने वा मर्जर गर्ने सोच हो, तर अदालतमा मुद्दा चलिरहेकाले कुनै निर्णय गर्न सकिएको छैन ।’
फाइनान्सलाई हाल राष्ट्र बैंकले नियुक्त गरेको तीन सदस्यीय व्यवस्थापन समूहले सञ्चालन गरिरहेको छ । गतवर्षदेखि फाइनान्सको संयोजकमा रोशनकुमार अधिकारी छन् । एक वर्षका लागि नियुक्ति पाएका उनको कार्यकाल आगामी वैशाखमा सकिँदै छ । आवश्यकता र कार्यप्रगतिका आधारमा राष्ट्र बैंकले ६/६ महीना गरी १ वर्षसम्म कार्यकाल थप गर्न सक्ने प्रावधान छ ।
फाइनान्सले प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्ममा यसले २४ करोड ६० लाख रुपैयाँ निक्षेप फिर्ता गर्न बाँकी छ । यसैगरी कम्पनीले ३ करोड ८७ लाख रुपैयाँ कर्जा असुल गर्न बाँकी छ ।
तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठले फाइनान्स कम्पनीलाई वाणिज्य बैंकमा रुपान्तरण गर्ने भन्दै २ अर्ब रुपैयाँभन्दा बढी पूँजी पुर्याएका थिए । तर, उनले नक्कली ऋण देखाएर उक्त रकम पूँजी बढाउन प्रयोग भएको भेटिएपछि राष्ट्र बैंकले पूँजी घटाएर २३ करोड रुपैयाँमा सीमित गरेको छ ।
समस्याग्रस्त बैंक, वित्तीय संस्थाको संख्या बढ्दै गएपछि राष्ट्र बैंकले २०७० चैतबाट समस्याग्रस्त संस्था रिजोलुशन महाशाखा नै गठन गरी यस्ता संस्थाको निगरानी शुरू गरेको थियो । समस्याग्रस्त संस्थाको समस्या समाधान भएपछि २०७४ सालमा महाशाखा खारेज भइसकेको छ ।
समस्याग्रस्त घोषणा भएकामध्ये अब नेपाल शेयर मार्केट एन्ड फाइनान्स र क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स मात्र बाँकी छन् । यीमध्ये क्यापिटलले आगामी शनिवार एकैपटक १३ वर्षको साधारणसभा बोलाएको छ । यो कम्पनीमा सञ्चालक समिति परिवर्तन गरी पुनः सञ्चालन गर्न लागिएको हो ।
राष्ट्र बैंकले पछिल्लोपटक पुस पहिलो साता कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिएको छ । समस्याग्रस्त वित्तीय संस्था खारेजीमा लैजान कठिन हुन देखिएपछि कर्णालीलाई पनि पुनः सञ्चालन गर्ने वा अन्य संस्थासँग मर्जरमा लैजाने विकल्पका साथ काम भइरहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।