काठमाडौं । कोरोना महामारीअघि लामो समयसम्म चीन नेपालमा पर्यटक पठाउने दोस्रो ठूलो मुलुकका रूपमा रहेकोमा अहिले संयुक्त राज्य अमेरिकाले उक्त स्थान ओगटेको छ । सन् २०२४ को १० महीनामा नेपाल आउने पर्यटक संख्यामा भारतीयपछि अमेरिकी रहेको पछिल्लो तथ्यांकले देखाएको हो ।
पर्यटन बोर्डले मंगलवार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्म नेपालमा भारतबाट २ लाख ७३ हजार ३१६ पर्यटक आएका छन् । अमेरिकाबाट सोही अवधिमा ९३ हजार २३९ पर्यटक आएको बोर्डको तथ्यांकले देखाउँछ । उक्त अवधिमा चीनबाट ८३ हजार ३९० पर्यटक आएको देखिन्छ । बोर्डका अनुसार सन् २०२४ को १० महीनासम्ममा ९ लाख ४१ हजार ३२ पर्यटक नेपाल आएका छन् ।
अमेरिकी, बेलायतीलगायत पर्यटक ल्याउन बढी केन्द्रित हुने शक्ति ट्राभल्स एन्ड टुर प्रालिका प्रबन्ध निर्देशक सुरेश नकर्मीले भने नेपालमा आउने अमेरिकन पर्यटकको संख्या बढी देखिनुमा दशैंतिहारको मौका पारेर अमेरिकामा बसोवास गर्ने गैरआवासीय नेपाली आउनु एउटा प्रमुख कारण रहेको बताए ।
‘चाडपर्वको अवसरमा नेपाली मूलका अमेरिकी बढी आउने हुँदा अक्टोबर र नोभेम्बरमा अमेरिकी पर्यटकको संख्या बढी देखिने गरेको छ,’ उनले भने, ‘दशैंताका अमेरिकी राहदानीवाहक नेपाली मूलका अमेरिकी धेरै आउँछन् । अंक राम्रो देखिए पनि होटेलहरूको अकुपेन्सी राम्रो छैन, पर्यटकीय भिसा लिएर आउँछन् घरमा आएर बस्छन् ।’
तथ्यांकले पनि अमेरिकाबाट आउनेको संख्या सेप्टेम्बर र अक्टोबरमा चीनको तुलनामा धेरै रहेको देखाउँछ । पर्यटकीय सिजन शुरू हुने महीनामै नेपालीका प्रमुख चाडपर्व पर्ने हुँदा व्यवसायी नकर्मीले भने जस्तै अमेरिकाबाट नेपाल आउने पर्यटक दोस्रो स्थानमा पर्छन् । तर, बोर्डको तथ्यांकले यीबाहेकका अन्य महीनामा पनि अमेरिकाबाट आउने पर्यटकको संख्या चीनको तुलनामा धेरै छ । बोर्डका अनुसार सन् २०२४ को अप्रिल, मे, जुन र जुलाईमा चीनबाट आउनेभन्दा अमेरिकाबाट आउने पर्यटकको संख्या धेरै छ ।
- भारतपछि अमेरिकाबाट धेरै आए पर्यटक
- सन् २०२५ मा चीन नै दोस्रो स्थानमा आउन सक्ने व्यवसायीको अनुमान
- १० महीनामा आए ९ लाख ४१ हजार पर्यटक
लामो समयदेखि चिनियाँ पर्यटक भित्र्याउँदै आएको साथी नेपाल ट्राभल एन्ड टुर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत किशोरराज पाण्डे भने सन् २०२५ मा चीन दोस्रो स्थानमा उक्लने दाबी गर्छन् । कोरोना महामारीपछि चीनको अर्थतन्त्रमा शिथिलता आएको र चीनतर्फ हवाई उडानको संख्या धेरै बढ्न नसक्दा चिनियाँ पर्यटकको संख्यामा अपेक्षाकृत बढ्न नसकेको उनले बताए । ‘अर्काे वर्षदेखि दोस्रोमा आउने अपेक्षा छ,’ पाण्डेले भने, ‘८/९ महीनादेखि नेपाल–चीन उडान नै कम थिए भने हवाई भाडा पनि महँगो छ ।’
‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार सन् २०१९ मा नेपालमा आउने पर्यटकको सूचीमा संयुक्त राज्य अमेरिका तेस्रो स्थानमा छ । त्यस वर्ष पर्यटक आमगन संख्याको हिसाबले चीन दोस्रो स्थानमा छ । कोरोना महामारीको शुरुआती वर्ष सन् २०२० मा नेपालमा पर्यटक आउने सूचीमा पाँचौं स्थानमा रहेको अमेरिका अहिले सन् २०२४ को १० महीनामा दोस्रो स्थानमा उक्लेको छ । पहिलोमा भने सदा जस्तै छिमेकी मुलुक भारत छ ।
बोर्डका अनुसार यस वर्षको अक्टोबरमा १ लाख २४ हजार ३९३ पर्यटक नेपाल आएका छन् । सन् २०१९ को अक्टोबरमा १ लाख ३४ हजार ९६ पर्यटक आएका थिए । बोर्डका अनुसार सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका थिए ।