काठमाडौं । आन्तरिक अटोमोबाइल उद्योगलाई बढावा दिँदै नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशमै बनेको ‘क्रेटा ’ आईसीई सार्वजनिक गरेको छ । सँगसँगै, आयातित विद्युतीय गाडी ‘क्रेटा ईभी’ पनि सार्वजनिक गरेको छ ।
‘चुज योर फ्युचर’को थिमसहित हुन्डाई नेपालले क्रेटालाई विद्युतीय र इन्टरनल कम्बसन इन्जिन (आईसीई) दुवै मोडेलमा उपलब्ध गराइएको बताएको छ ।
सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले दुवै खाले गाडी सार्वजनिक गरेको हो । क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँ र क्रेटा आईसीई (मेड इन नेपाल)को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार रुपैयाँ राखिएको छ । सन् २०२५ मा आयात गरिने क्रेटा आईसीईको तुलनामा स्वदेशमै उत्पादितको मूल्य ९ लाख रुपैयाँसम्म सस्तो रहेको कम्पनीले बताएको छ ।
लक्ष्मी ग्रूपअन्तर्गतको लक्ष्मी मोटर कर्पोरेशनले सन् २०२४ देखि नेपालमै हुन्डाईको गाडी एसेम्बल गर्न थालेको हो । शुरूमा हुन्डाईको भेन्यु मोडलको कार एसेम्बल थालेको कम्पनीले अहिले क्रेटाको पनि एसेम्बल गरी स्वदेशी बजारमा ल्याएको हो । ‘स्वदेशमा उत्पादित भेन्यु मोडल पनि आयात गरिएको भन्दा ४ लाख ५० हजार रुपैयाँ सस्तो छ,’ लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले आर्थिक अभियानसँग भने । ‘हामीले क्रेटा ईभी पनि स्वदेशमै एसेम्बल गर्नेबारेमा सम्भाव्यता अध्ययन गरिरहेका छौं ।’ उनका अनुसारे स्वदेशमै उत्पादित क्रेटा आईसीई ४०–५० ओटा बुकिङ भइसकेको छ । ‘करीब १५–२० ओटा विक्री पनि गरिसकेका छौं,’ उनले भने । नेपालीले नै बनाउने र स्वेदशमै उत्पादित गाडी सस्तो भएकाले यो नेपाली ग्राहकमाझ प्रिय हुने उनको अपेक्षा छ ।
हुन्डाईले नेपालमा सन् २०१५ मा क्रेटा विक्री शुरू गरेको थियो । आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय: हरेक उमेरका ग्राहक वर्गलाई सुहाउने भएकाले क्रेटा मिड साइज एसयूभी सेगमेन्टमा १० हजारभन्दा धेरै ग्राहकको रोजाइ र यात्राको साथी बन्न सफल भएको कम्पनीको दाबी छ । ‘हुन्डाई नेपालले विद्युतीय सवारीको इकोसिस्टम विकासमा पनि अगाडि बढ्दै नयाँ पहिचानको डीसी चार्जर नेटवर्क निर्माण गरिरहेको छ, जसमा रिपेयर सप पनि समाहित हुनेछन्, जसले चार्जिङ सुविधा थप प्रभावकारी बनाउनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी ब्याट्री रिसाइक्लिङ र रिसिड्युअल भ्यालु म्यानेजमेन्टका लागि अटेरो इन्डियासँग सहकार्य गर्दै स्थायित्वमा ध्यान दिइएको छ, यसका लाभ ग्राहकले पाउनेछन् ।’