काठमाडौं । भद्रकाली प्लाजास्थित नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रांगणमा साढेको प्रतिमा धमाधम तयार भइरहेको छ । बढेको बजारलाई चिनाउने साढेको प्रतिमा नेप्सेको प्रांगणमा बन्ने भएको हो ।
नेप्सेको प्रांगणमा साढे ठडाउने काम ललितपुरका कालिगढले गरिरहेका छन् । उक्त मूर्ति पितलको छ । चार्जिङ बुल ६ फुट अग्लो र ७ फुट लम्बाइको हुनेछ।
प्रतिमाको तौल १ हजार २०० किलोग्रामको हुनेछ। अधिकांश अन्तरराष्ट्रिय स्टक एक्सचेन्जहरूको परिसर वा अगाडि पूँजीबजारको प्रतिबिम्बको रूपमा साढेको प्रतिमा राख्ने गरिन्छ। परियोजनाको कुल लागत १ करोड ४८ लाख रुपैयाँ छ । दशैंअघिसम्म प्रतिमा स्थापना र उद्घाटन गर्ने योजना छ ।