काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार (आज) नेप्सेसँगै कारोबार रकम वृद्धि भएको छ । आज नेप्से १४ दशमलव ११ अंक बढेर २ हजार ६२६ दशमलव ३१ विन्दुमा पुगेको हो ।
आज रू. ५ अर्ब २० करोडको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने रू. ४ अर्ब ४३ करोड बराबरको कारोबार भएको थियो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५७ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ७० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६२ प्रतिशत वृद्धि भएको छ ।
आज ३१२ धितोपत्रको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर ६४ हजार ९१७ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । आत्मनिर्भर लघुवित्तको शेयर मूल्य रू. ५ हजार ३९७ दशमलव ७०, गुराँस लघुवित्तको रू. २ हजार ३७६ र सामुदायिक लघुवित्तको रू. २ हजार ५४ दशमलव ८० पुगेको छ ।
आज सपोर्ट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ६२३ दशमलव ६० मा झरेको छ ।
आज शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा जानकी फाइनान्स छ । यस कम्पनीको शेयर मूल्य ८ प्रतिशत घटेर रू. ९०८ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा पनि यही कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. २० करोड बराबरको कारोबार भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा जोशी हाइड्रोपावर छ । यस कम्पनीको रू. १९ करोड २७ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक घटेको छ भने बाँकी समूहको सूचक बढेको छ । तीमध्ये विकास बैंक समूहको सूचक सबैभन्दा बढी १ दशमलव ७५ प्रतिशत बढेको छ । सर्वाधिक बढ्ने समूहगत सूचकमा विकास बैंक समूहपछि वित्त समूह छ । वित्त समूहको सूचक १ दशमलव ६२ प्रतिशत बढेको छ ।
यस्तै, उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी २ दशमलव ३२ प्रतिशत घटेको छ ।