नेपालको निजीक्षेत्रले यो वर्ष निर्यात बढाउन सकिने सम्भावना औंल्याएको छ । खासगरी हस्तकला, हातेकागज, पश्मिना, ऊनी गलैंचा, तयारी पोशाक, चिया, कफी, जुटजन्य सामग्री, अलैँची, मुसुरो दाल, जडीबुटीलगायत वस्तुमा यस्तो सम्भावना बढी देखिएको निजीक्षेत्रको ठम्याइ छ । राजनीतिक अन्योल र पूर्ण बजेटको अभावमा पनि निजीक्षेत्रमा उत्पादन र निर्यात वृद्धिका लागि देखिएको उत्साह निश्चय पनि प्रशंसायोग्य छ । तर, यो निर्यात वृद्धिको सम्भावना नेपाल राष्ट्र बैंकले ल्याएको पुनर्कर्जा नीति र निर्यातमा नगद प्रोत्साहन दिने सरकारी नीतिका कारण बढेको हो ।
यद्यपि जुन कारणले निर्यात सम्भावना बढेको भनिँदै छ, त्यो भने स्थायी हुनसक्ने देखिँदैन । त्यसैले उद्यमी व्यवसायी आफैले यो वृद्धिलाई स्थायी बनाउन प्रयास गर्नुपर्छ । अहिले बन्दहडतालजस्ता उद्योग–व्यवसाय प्रतिकूल वातावरणमा समेत कमी आइरहेकाले निर्यातजन्य वस्तुको उत्पादन वृद्धि हुने अपेक्षा निजीक्षेत्रको छ । तर, यस्ता क्रियाकलाप पूर्ण रूपले बन्द भइसकेको छैन । त्यसैले निजीक्षेत्रले अझै पनि अत्यन्त सतर्कताका साथ मुलुकको औद्योगिक वातावरणलाई आफूअनुकूल बनाउन प्रयास जारी राख्नुपर्छ ।
(सम्पादकीयबाट) वर्ष ८, अंक ४, शुक्रवार २२ भदौ, २०६९