काठमाडौं । निर्जीवन बीमाकम्पनीहरुको नाफा अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा ४४ दशमलव ७० प्रतिशत वृद्धि भएको छ । गत आवको चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीहरुले कुल रू. ३ अर्ब ५७ करोड नाफा कमाएकोमा गत आवमा बढेर रू.५ अर्ब १७ करोड भन्दा बढी पुगेको हो ।
१४ कम्पनीहरुमध्ये सबैभन्दा बढी नाफा राष्ट्रिय बीमा कम्पनीले रू. ७७ करोड २५ लाख कमाएको हो । यस कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ६३ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. ४७ करोड ३४ लाख नाफा कमाएको थियो । त्यस्तै दोस्रोमा नेको इन्सुरेन्स कम्पनीले रू. ५५ करोड ३१ लाख नाफा कमाएको छ ।
प्रतिशतका आधारमा सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा १८४ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवमा यस कम्पनीले रू. १४ करोड ६ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ४० करोड भन्दा बढी पुगेको हो । दोस्रोमा सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ९३ प्रतिशत वृद्धि भएको छ । निर्जीवन १४ कम्पनीहरुको नाफा अघिल्लो आवको तुलनामा गत आवमा सबैको वृद्धि भएको छ ।
अघिल्लो आवमा रू. १२ करोड ५६ लाख नोक्सानीमा रहेको नेशनल इन्स्योरेन्स कम्पनीले गत आवमा रू. २० करोड १८ लाख नाफामा रहेको छ ।