नेपाली कूटनीतिक नियोगहरूका उद्देश्यहरूमा निर्यात प्रवर्द्धन एक महत्त्वपूर्ण पक्षका रूपमा रहेको छ । निर्यात प्रवर्द्धनका विभिन्न पाटाहरूमा निर्यात सम्बद्ध सूचना प्रवाह पनि एक एउटा पाटोको रूपमा रहेको छ । ताजा सूचनाहरू समयमै नेपाली निर्यातकर्तालाई उपलब्ध गराउनु यी क्रियाकलापहरूको महत्त्वपूर्ण अंशका रूपमा रहेको छ ।
यसै सन्दर्भमा नेपाली निर्यातकर्ता र निर्यात इच्छुक व्यवसायीहरूका अधिक रूपमा सोधिने प्रश्नहरूका बारेमा विवेचना हुनु जरुरी छ । वास्तवमा नेपाली निर्यातकर्ता र इच्छुक नेपाली व्यवसायीहरूका लागि लक्षित बजारमा बारेमा पाँचथरी प्रश्न रहेको पाइन्छ । नेपाली निर्यातकर्ता र इच्छुक व्यवसायीहरूको पहिलो प्रश्न भनेको सम्बद्ध देशहरूमा लाग्ने भन्सारदर र अन्य गैरभन्सार शुल्कहरू कति छ भन्ने तथ्यांकसँग सम्बद्ध हुन्छ ।
दोस्रो प्रश्न लक्षित देशमा आफ्ना वस्तुहरू निर्यात गर्दा सम्बद्ध देशहरूले लागू गरेका गैरभन्सार मापनहरू जस्तै गुणस्तरका प्रावधानहरू, आवश्यक पर्ने कागजातलगायत प्रक्रियागत पक्षहरू रहेका हुन्छन् । तेस्रो प्रश्नमा लक्षित बजारमा आयोजना हुने व्यापार मेलाहरूका बारेमा जानकारीहरू रहेका हुन्छन् । चौथो प्रश्न लक्षित देशहरूका क्रेताहरू कोको हुन् र तिनसँग कसरी सम्पर्क कायम गर्न सकिन्छ भन्ने रहने गरेको छ । पाँचौं प्रश्न, कुनकुन मूल्यका कस्ता खालका वस्तुहरूको बजारमा माग रहेको छ भन्ने हुन्छ । उपर्युक्त पाँचओटा प्रश्नको उत्तर दिन नेपाली कूटनीतिक नियोगहरूमा पाँचथरी तथ्यांक र सूचनाको भण्डार हुनु आवश्यक छ ।
नेपाली कूटनीतिक नियोगहरूले उपर्युक्तबमोजिमका तथ्यांक र सूचनाहरू नियमित रूपमा संकलन गरी आफ्नो कम्प्युटरमा एक्सेल सीटमा अद्यावधिक गरी राख्नुपर्छ । यसका लागि ठूलो अभ्यास, धनराशी र ज्ञानको आवश्यकता पर्दैन ।
भन्सार दर र गैरभन्सार दरसम्बन्धी तथ्यांक, सम्बद्ध देशहरूमा लाग्ने भन्सारदर र अन्य गैरभन्सार शुल्कहरूका बारेमा नेपाली कूटनीतिक नियोगहरूसँग नियमित रूपमा अद्यावधिक गरिएको तथ्यांकको भण्डारण हुनुपर्छ । नेपालमा रहेका निर्यातकर्ता र प्रवद्र्धक निकायहरूलाई यस्ता तथ्यांकहरू प्राप्त गर्न कठिन भए तापनि नेपाली कूटनीतिक नियोगहरूका लागि यी क्षेत्रका तथ्यांक भण्डारहरू कायम गर्न कुनै कठिनाइ हुँदैन । विश्वका हरेक देशहरूले एचएस कोडका आधारमा आयातमा लाग्ने भन्सार र गैरभन्सार दरहरूका बारेमा प्रकाशित सूची नै जारी गरेका हुन्छन् । सम्बद्ध देशका अर्थ प्रशासनहरूसँग पुस्तक र सफ्ट कपीका रूपमा पनि यस्ता तथ्यांकहरू सेवाग्राहीहरूलाई सजिलै उपलब्ध हुने गर्छन् । यस्तै आन्तरिक कर सम्बद्ध तथ्यांक र प्रावधानहरू पनि वेबपेजमा सहजै उपलब्ध हुने गर्छन् । यी दस्तावेज कूटनीतिक नियोगको एउटा साधारणपत्रका आधारमा पनि सजिलै प्राप्त गर्न सकिने हुन्छ ।
यस परिस्थितिमा नेपाली कूटनीतिक नियोगहरूले उपर्युक्त बमोजिमका तथ्यांक र सूचनाहरू नियमित रूपमा संकलन गरी आफ्नो कम्प्युटरमा एक्सेल सीटमा अद्यावधिक गरी राख्नुपर्छ । यसका लागि ठूलो अभ्यास, धनराशी र ज्ञानको आवश्यकता पनि पर्दैन । रुचिपूर्वक सम्बद्ध देशका सरकारी निकायहरूको वेबपेज र कार्यालयहरू भ्रमण गरी यस्ता तथ्यांक र सूचनाहरू सहजै प्राप्त गर्न सकिन्छ । यी तथ्यांक र सूचनाहरू निर्यातकर्ता र इच्छुक नेपाली व्यवसायीहरूका लागि अति महत्त्वपूर्ण सम्पत्तिका रूपमा रहेका हुन्छन् । विभिन्न देशका कूटनीतिक नियोगहरूले आफू कार्यरत मुलुकका यस्ता भन्सार र गैरभन्सार करहरूका सूचीहरू तयार गर्न विभिन्न सरकारी निकायहरूको भ्रमण गरिरहेका हुन्छन् भने वेबपेजहरूबाट डाउनलोड गरी यस्ता सूचना ग्राहकमैत्री हुने गरी आफ्ना सूचना भण्डारमा भण्डारण गरी राखेका हुन्छन् । यी सूचना उनीहरू आफ्ना सेवाग्राही र सम्बद्ध सरकारी नीतिनिर्माताहरूलाई नियमित रूपमा उपलब्ध गराइरहेका हुन्छन् । नेपाली कूटनीतिक नियोगहरूले पनि यो अभ्यास आफ्ना कार्यक्षेत्रमा लागू गर्दै माथि उल्लिखित शीर्षकमा तथ्यांक संकलन गरी व्यवस्थित रूपमा भण्डारण गरी राख्नुपर्छ । यस्ता तथ्यांकलाई बढी ग्राहकमैत्री बनाउन र सूचना प्रवाह प्रभावकारी बनाउन थप वर्गीकरण गरी सम्बद्ध सरोकारवाला पक्षलाई उपलब्ध गराउनुपर्छ । यस्तो तथ्यांक र सूचनाहरू नियमित रूपमा प्रवद्र्धक निकायहरूमा सम्प्रेषण गर्न सकेको खण्डमा नेपाली सेवाग्राहीहरूले सजिलैसित प्राप्त गर्ने अवस्था सृजना हुन जान्छ । यस पक्षलाई दृष्टिगत गर्दै नेपाली कूटनीतिक नियोगहरू आफ्नो कार्यक्षेत्र भएका देशहरूले लागू गरेका भन्सार र गैरभन्सार करहरूका डाटाबेशहरू तयार गरी नेपाली निर्यातकर्ता र इच्छुक व्यवसायीहरूलाई खोजेको बखत सहज रूपमा उपलब्ध गराउने व्यवस्था हुन जरुरी छ ।
उपभोक्ताको चाहना कस्तो रहेको छ भन्ने विषय पनि निरन्तर अध्ययन र अनुभव संकलनको विषय भएको हुँदा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले बजारको प्रवृत्ति र अभ्यासका बारेमा सूक्ष्म रूपमा अवलोकन गरी उपभोक्ताहरू कुन दिशामा जान चाहिरहेका छन् भन्ने वर्गीकृत सूचनाहरूको भण्डारण पनि तयार गरिरहनुपर्छ ।
लक्षित देशका आयातसम्बन्धी प्रक्रियागत पक्षहरूका सूचनाहरू पनि सम्बद्ध देशहरूले सम्बद्ध कार्यालयका वेबपेजहरूमा विभिन्न शीर्षकअन्तर्गत व्यवस्थित रूपमा प्रकाशित गरेका हुन्छन् । यसका अतिरिक्त आयात सम्बद्ध परिपत्रहरू, आवधिक निर्णयहरू र नजीरहरूलाई विभिन्न शीर्षकअन्तर्गत वेबपेजमा नै प्रकाशित गरेका हुन्छन् । केही यस्ता सूचनाहरू सम्बद्ध कार्यालयहरूले अनुरोधका आधारमा उपलब्ध गराउने गरेका हुन्छन् । यस्ता सूचनाहरू सम्बद्ध देशका भन्सार विभाग, कर विभाग, क्वारेन्टाइन विभाग, गुणस्तर नियमन विभाग, खाद्य प्रशासनजस्ता विभिन्न विभागमा छरिएर रहेका हुन्छन् । ती सूचनाहरूलाई एकीकृत रूपमा प्राप्त गर्न नेपालस्थित निर्यातकर्तालाई असहज हुने भए तापनि विदेशस्थित नेपाली नियोगहरूलाई खासै गाह्रो कार्य होइन । यी सूचना उनीहरू सजिलै प्राप्त गर्न सक्छन् । यस्ता सूचनाहरू प्राप्त गर्न नेपाली नियोगलाई पनि खासै थप जनशक्ति र थप धनराशी आवश्यक पर्ने पनि होइन । भन्सार र गैरभन्सार सम्बन्धी तथ्यांक प्राप्त गरेझैं यस्ता सूचनाहरू पनि सोही विधिअनुसार प्राप्त गरी ग्राहकमैत्री वर्गीकरण गरी सेवाग्राहीलाई उपलब्ध गराउन सकिन्छ ।
यसका लागि विदेशस्थित कूटनीतिक नियोगहरूले आफ्नो कार्यक्षेत्रभित्र पर्ने देशहरूका गैरभन्सार मापनहरू जस्तै गुणस्तरका प्रावधानहरू, आवश्यक पर्ने कागजातलगायत प्रक्रियागत पक्षहरूका सूचना भण्डारको व्यवस्था गर्ने कार्यलाई आफ्नो नियमित कार्यमा समावेश गर्दै कार्यरत जनशक्तिलाई यस कार्यमा परिचालन गर्नु जरुरी देखिएको छ । यस्ता सूचना पनि एचएसकोडको आधारमा वर्गीकरण गरी उपलब्ध गराउन आवश्यक देखिन्छ ।
नेपाली कूटनीतिक नियोगहरूलाई आफ्नो कार्यक्षेत्रमा पर्ने देशहरूमा आयोजना हुने व्यापार मेलाहरूको बारेमा सबैभन्दा आधिकारिक र ताजा सूचनाहरू प्राप्त गर्न सजिलो हुने हुँदा नियोगमा कार्यरत जनशक्तिलाई यस कार्यमा परिचालन गर्न जरुरी देखिन्छ । विशेष गरी आफ्नो कार्य क्षेत्रमा आयोजना हुने व्यापार मेलाहरूको समय, स्टलहरूको भाडा, मेला प्रदर्शनीहरूको विशेषता र प्राथमिकताका बारेमा सूचना र तथ्यांकको भण्डारण तयार गर्नुपर्छ । यस्ता सूचना र तथ्यांकहरूलाई सेवाग्राहीमैत्री हुने गरी थप वर्गीकरण गरी नेपालस्थित प्रवद्र्धक निकाय र सम्बद्ध वस्तुगत संघहरूलाई सहज रूपमा उपलब्ध गराउने व्यवस्था हुनुपर्छ । यस्ता सूचना र तथ्यांकहरूलाई सम्बद्ध देशका प्रवद्र्धक निकायहरू, आयोजक संस्थाका वेबपेजहरू तथा मेला प्रदर्शनीका बारेमा स्थानीय सञ्चारमाध्यमहरूमा प्रकाशित विज्ञापनहरूबाट संकलन गरी नेपाली कूटनीतिक नियोगहरूले मेला प्रदर्शनीसम्बन्धी आफ्नो सूचना र तथ्यांकको भण्डारण सृजना गर्न सक्छन् । यो कार्य गर्न पनि नियोगलाई अतिरिक्त जनशक्ति र धनराशीको आवश्यकता पर्दैन । कार्यरत जनशक्तिलाई यस कार्यमा परिचालन गरिदिएको खण्डमा मात्रै यस्तो महत्त्वपूर्ण सूचना र तथ्यांक नेपाली निर्यातकर्ता र इच्छुक व्यवसायी माझ पुग्न सक्छ ।
लक्षित देशहरूका क्रेता को को हुन् र तिनीसँग कसरी सम्पर्क कायम गर्न सकिन्छ भन्ने प्रश्नको पनि सबैभन्दा आधिकारिक र यथार्थपरक सूचना दिने कसैमा क्षमता छ भने त्यो विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगमात्र रहेको हुन्छ । यस कार्यलाई सम्पन्न गर्न नेपाली कूटनीतिक नियोगहरूसँग कम्तीमा नेपाली उत्पादनहरू जस्तै उत्पादनहरू खरीद गरिरहेका स्थानीय आयातकर्ताहरूको इमेल, फोन नं. र सम्पर्क ठेगानासहितको अद्यावधिक गरिएको आधिकारिक सूची नेपाली कूटनीतिक नियोगसँग रहनुपर्छ । यस्तो सूची तयार गर्न कूटनीतिक नियोगहरू यस्ता सूचनाहरू आफ्नो कूटनीतिक प्रभाव, अनुसन्धानात्मक शैली, सम्पर्क र संवादका माध्यमबाट संकलन गरी नेपाली निर्यातकर्ता र इच्छुक नेपाली व्यवसायीहरूलाई आवश्यकता र औचित्य हेरी उपलब्ध गराउनुपर्छ ।
उपभोक्ताको चाहना कस्तो रहेको छ भन्ने विषय पनि निरन्तर अध्ययन र अनुभव संकलनको विषय भएको हुँदा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले बजारको प्रवृत्ति र अभ्यासका बारेमा सूक्ष्म रूपमा अवलोकन गरी उपभोक्ता कुन दिशामा जान चाहिरहेका छन् भन्ने वर्गीकृत सूचनाहरूको भण्डारण पनि तयार गरिरहनुपर्छ । यस्ता सूचना नेपाली उत्पादक, निर्यातकर्ता र स्टार्टअपहरूलाई उपलब्ध हुने गरी सेवा प्रवाह गर्नु आवश्यक हुन्छ ।
यसरी उपर्युक्त पाँचओटा क्षेत्रमा विद्यमान सूचना र तथ्यांकहरूको भण्डारण तयार गरी वर्गीकृत रूपमा सेवाग्राहीलाई उपलब्ध गराउने परिपाटी र प्रणालीको विकास गर्ने हो भने नेपाली कूटनीतिक नियोगहरू नेपालको निर्यात प्रवर्द्धनका लागि साँच्चिकै वरदान सावित हुने निश्चित छ । खाँचो छ, यी नियोगमा कार्यरत जनशक्तिहरूलाई उपर्युक्त पाँचओटा क्षेत्रको सूचना र तथ्यांकको भण्डारण तयार गर्ने उत्प्रेरणा र उत्साहवर्धनको पर्यावरण विकास । यत्तिमात्र गर्न सकेको खण्डमा निर्यात आयात अनुपात दोहोरो अंकमा भएका देशहरूसँगको यो अनुपात कम्तीमा पनि एकोहोरो अंकमा झार्न सकिने देखिन्छ । लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।