नेपालको पर्यटन विविधितामय हुन सकेको छैन । हिमाल आरोहण, पदयात्रा, सांस्कृतिक अवलोकन र र प्राकृतिक अवलोकनमा नै नेपालको पर्यटन सीमित छ । त्यसभित्र पनि अनेक उपविधाको सम्भावना छ तर त्यसमा लगानी बढ्न सकेको छैन । ठूला ठूला पूर्वाधार बनाएर पर्यटन प्याकेज ल्याउन सकिएको छैन । साहसिक पर्यटनका लागि थप पूर्वाधार आवश्यक देखिन्छ । त्यसमा फाट्टफुट्ट लगानी त भएको छ तर त्यो अपुग देखिन्छ । खासगरी चिनियाँ पर्यटक लक्षित पूर्वाधारको निकै कमी देखिन्छ । हुन त नेपालको प्रकृति आफै पर्यटनको पूर्वाधार हो भन्ने गरिन्छ । पदयात्राका अनेक गन्तव्य छन् जसमा पटकपटक पर्यटन आइरहन्छन् । त्यसलाई ब्रान्डिङ गर्न आवश्यक छ ।
पदयात्रा नै नेपालको पर्यटनको ठूलो आधार बनिरहेको छ तर पदयात्राका रूटमा जथाभावी सडक खनेर त्यसको मौलिकता बिगार्ने काम भइरहेको छ । नेपालका प्राय: सबै ट्रेकिङ रूट उच्च र उच्चमध्यम खालका ‘एडभेन्चर’ रूट नै हुन् । माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, कञ्चनजंघाको सेलेले पास, शेर्पेनी कोल, आमा लाप्चा पास, गोक्यो पास, टाशी लाप्चा पास, थोरोङ पास, नार–फु पास, गोसाइँकुण्ड पास, गान्जाला पास, गोक्यो री, नुमाला बगाला पास, शे पास आदि रोमाञ्चक यात्राका लागि प्रख्यात र सुन्दर रूट हुन् ।
तर, तिनमा पनि नेपालको पूर्वपश्चिम भएर फैलिएको लामो समय लाग्ने ‘ग्रेट हिमालयन ट्रेल’ निकै महत्त्वपूर्ण छ । पर्यटकको बसाइ बढाउन तथा पदयात्राको असली अनुभव गराउन यो रूट निकै सहयोगी हुने देखिन्छ । यो रूटका लागि सरकारले गर्नुपर्ने काम धेरै बाँकी छ । त्यस्तै टुर अपरेटरहरूले पनि यसको प्याकेजको प्रवर्द्धन गर्न नसकेको देखिन्छ । यसको प्रवर्द्धन गर्न विशेष कार्यक्रम र अभियान आवश्यक देखिन्छ । यो रूट पूरा गर्ने पर्यटकलाई सम्मान गर्ने, प्रमाणपत्र दिनेलगायत काम गरेर यसमा पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।
यदि ग्रेट हिमालयन ट्रेलमा उपयुक्त पूर्वाधार बनाउन सकियो, उचित प्याकेजको प्रचार गर्न सकियो र उपयुक्त सेवा दिन सकियो भने नेपाललाई विश्वकै शीर्ष साहसिक पर्यटन गन्तव्य भनेर चिनाउन सकिन्छ ।
साथै यसको खण्डखण्ड गरेर पूरा गर्ने गरी पनि प्याकेज बनाउन सकिन्छ । एकदुई वर्षको अन्तरालमा पदयात्रामा निक्लने प्रवृत्ति पदयात्रीहरूको पाइन्छ । तिनलाई खण्डखण्ड गरेर यो ट्रेल पूरा गराउने हो भने पर्यटकको बसाइ अवधि बढाउन सकिन्छ । यसबाट थुप्रै लाभ लिन सकिन्छ ।
हिमालयन ग्रेट ट्रेल मूलत: बहुराष्ट्रिय ट्रेल हो । यो अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल भुटान हुँदै बर्मासम्म फैलिएको छ । यो पूरै रूटमा हिँड्ने पर्यटक एकाध मात्रै होलान् । नेपालभित्रको खण्ड पूरै यात्रा गर्ने पनि ज्यादै कम छन् । विदेशमा यसको प्रचारै नभएको त होइन । तर, मास पर्यटनलाई यसमा आकर्षित गर्न सकिएको छैन । बढी समय लाग्ने भएकाले र कठिन भएकाले पनि यस्तो भएको हुन सक्छ । तर, विश्वकै उच्च हिमाली क्षेत्रमा गरिने दुर्लभ ‘ग्रेट हिमालयन ट्रेल’को रूटमा ट्रेकिङ गरेर फरकफरक अनुभूति र अनुभव लिन सकिन्छ ।
यो विविधताको अनुभूति पर्यटकका लागि निकै रोमाञ्चक हुन सक्छ । त्यसैले यसको व्यापक प्रचारप्रसार गरिनुपर्छ । एकैपटक पूरा गर्न नसक्ने अवस्थालाई दृष्टिगत गरी कठिन र सामान्य खालको गरी खण्डहरू छुट्ट्याइएको पनि छ । पदयात्रीहरूले पूर्वी, मध्य, पश्चिम भेग मात्रै पनि पदयात्रा गर्न सक्छन् । त्यसअनुसार प्याकेज बनाएर थप प्रचारप्रसार गर्न जरुरी देखिन्छ । जेहोस् नेपालले दिगो पर्यटन र गुणस्तरीय पर्यटनलाई दृष्टिगत गरी यो रूटको विकासमा थप काम गर्नुपर्ने देखिन्छ ।
ग्रेट हिमालयन ट्रेल विश्वकै लामो पदयात्रा मार्ग हो । उच्च हिमाली भेगमा गरिने यो पदयात्रामा धेरैओटा उच्च हिमाली पास (४,००० मीटरभन्दा धेरै उचाइ काटेर गरिने) पार गर्नुपर्ने हुन्छ । यसमा धेरै देश पर्ने भएकाले सम्बद्ध देश सबै मिलेर काम गर्ने र यो रूट पूरै यात्रा गर्नेलाई यी सबै देश मिलेर सम्मान गर्ने व्यवस्थाका लागि पहल गर्नु आवश्यक छ । नेपाल खण्डमा मात्रै पदयात्रा गर्न ३ महीना लाग्छ भने पूरै रूट तय गर्न निकै बढी समय लाग्छ । यस्तो पदयात्रा त विश्वमै दुर्लभजस्तो हुन्छ । एकैपटकको यात्रामा पूरै ट्रेल पार गर्न त सम्भव नै देखिँदैन । त्यसैले यी देशले संयुक्त रूपमा काम गर्दा राम्रो हुन्छ ।
पदयात्राका रूट बिग्रन थाले, धूलो र धूवाँ बढ्न थाल्यो र मौलिकता रहेन भने नेपालको पर्यटनले ठूलो क्षति भोग्नुपर्ने हुन्छ । रुबी भ्याली, मनासलु, पश्चिमको सिमकोटतर्फ ट्रेकिङ रूट मासिन थालेका छन् । त्यसैले केन्द्रीय स्तरबाटै सरकारले पदमार्ग जोगाउने नीति लिनुपर्छ ।
सरकारले २०११ मा घोषणा गरेको नेपाल भ्रमण वर्षको औपचारिक कार्यक्रमबाट ग्रेट हिमालयन ट्रेलको विकास गर्ने बताएको थियो । घोषणाको १ दशकभन्दा बढी समय भइसक्दा समेत यो परियोजनामा सरकारले पर्याप्त बजेट दिन र योजना बनाउन सकेको छैन । अर्थात् सरकारको आँखामा यो ट्रेल पर्न सकेको छैन अथवा उसले यसको महत्त्व देखेको छैन । बरु यूकेएडको संस्था एसएनभी नेपालले ग्रेट हिमालयन ट्रेलको विषयमा अध्ययन गरेर सरकारलाई सन् २०१४ मा प्रतिवेदन बुझाएको थियो । तर, सरकारले ट्रेल विस्तारमा चासो दिएन । यद्यपि सरकारले आफ्नो कार्यक्रम र बजेटमा यसबारे केही उल्लेख गरेको भने पाइन्छ ।
अहिले ग्रेट हिमालयन ट्रेलको यात्रा गर्ने ‘ट्रेन्ड’ नै शुरू भएको र पटक–पटक गरेर यो ट्रेल पूरा गर्न पर्यटकले चासो देखाएको पाइन्छ । तर, यस ट्रेकिङ ट्रेलमा पनि सडक खन्ने आदि कार्यबाट मौलिकता बिगार्न थालेको देखिन्छ । खासगरी स्थानीय सरकारलाई यसबारेमा पर्याप्त जानकारी नभएर वा स्थानीय आवश्यकतामात्र हेर्दा ट्रेललाई असर पार्ने काम भएको देखिन्छ । खासगरी गाउँ पालिकाहरूले बाटो बनाउनेलगायतका काम गरेर पदयात्रालाई असर पारेको देखिन्छ । पर्यटनको लाभ ती क्षेत्रले पनि पाउने हुँदा उनीहरूलाई यसबारे सचेत पार्न आवश्यक छ ।
त्यस्तै केन्द्रीय सरकारले पनि केही नीति बनाउन आवश्यक देखिन्छ । यसमा तालुकदार सरकारी निकायले पहल गर्न ढिला गर्नु हुँदैन । पदयात्राका रूट बिग्रन थाले, धूलो र धूवाँ बढ्न थाल्यो र मौलिकता रहेन भने नेपालको पर्यटनले ठूलो क्षति भोग्नुपर्ने हुन्छ । रुबी भ्याली, मनासलु, पश्चिमको सिमकोटतर्फ ट्रेकिङ रूट मासिन थालेका छन् । त्यसैले केन्द्रीयस्तरबाटै सरकारले गोरेटा बाटोहरूका साथै पदमार्ग जोगाउने नीति लिनुपर्छ । यो ट्रेलमा सुरक्षित र भरपर्दो यात्राका लागि पदमार्गबाहेकका अन्य महत्त्वपूर्ण संरचना पनि बन्नुपर्छ । खोंचहरूमा झोलुंगे पुल, उद्धार केन्द्र, हेलिप्याड, पोर्टर सेन्टर, सूचना पाटी, सञ्चारको पहुँचजस्ता संरचना बनाउनुपर्छ ।
ग्रेट हिमालयन ट्रेल नेपालका हिमालय पर्वतहरूमा फैलिएको एउटा अत्यन्तै चुनौतीपूर्ण र लामो पदयात्रा मार्ग हो । यसमा पर्यटकहरूले नेपालका दुर्गम हिमाली क्षेत्र, अनौठा प्राकृतिक दृश्य, जैविक विविधता र विविध संस्कृतिको समग्र अनुभव गर्न पाउँछन् । ग्रेट हिमालयन ट्रेल विश्वकै सबैभन्दा लामो र साहसिक पदयात्रा ट्रेलमध्ये एक हो । विश्वव्यापी चर्चा जति पाएको छ त्यसको दाँजोमा पर्यटक भने आएका छैनन् । यसो हुनुमा हाम्रै कमजोरी रहेको छ ।
ग्रेट हिमालयन ट्रेललाई दुई प्रमुख खण्डमा विभाजन गरिएको छ : पहिलो हो, उच्च मार्ग । उच्च मार्गमा उच्च हिमाली क्षेत्रमा हिउँ, चट्टान र विभिन्न पास पार गर्दै यात्रा गर्नुपर्छ । यो मार्ग ४,५०० देखि ६,००० मीटरको उचाइमा अवस्थित छ । यसमा कञ्चनजङ्घा, मकालु, एभरेस्ट, अन्नपूर्ण, र डोल्पाजस्ता उच्च हिमाली क्षेत्र पार गर्नुपर्ने हुन्छ । यो मार्ग अत्यन्तै चुनौतीपूर्ण मानिन्छ । त्यसैले जोकोहीको रोजाइमा यो क्षेत्र पर्दैन । शारीरिक रूपमा सक्षम तथा अनुभवी पदयात्रीहरूले मात्रै यो यात्रा गर्न सक्छन् । दोस्रो हो : निम्न मार्ग । निम्न मार्ग समुद्री सतहदेखि करीब १,५०० देखि ३,००० मीटर उचाइमा हुन्छ र पदयात्रीलाई ग्रामीण जनजीवनसँग घुलमिल गर्ने अवसर प्रदान गर्छ । कञ्चनजङ्घा क्षेत्र, मकालु वरुण क्षेत्र, सगरमाथा क्षेत्र, अन्नपूर्ण र मनाङ क्षेत्र, डोल्पा क्षेत्र, हुम्ला र पश्चिमी नेपाल क्षेत्र गरी ग्रेट हिमालयन ट्रेललाई विभिन्न क्षेत्रमा विभाजन गरिएको छ । नेपाल खण्डमा ग्रेट हिमालयन ट्रेलको अन्तिम भाग हुम्ला र पश्चिमी नेपाल हो ।
ग्रेट हिमालयन ट्रेल नेपालका हिमालय क्षेत्रको सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाको अनुभव गराउने एक अद्वितीय पदयात्रा मार्ग हो । नेपालको पर्यटन क्षेत्रमा यसले ठूलो योगदान पुर्याउन सक्छ भने स्थानीय जनजीवनमा पनि सकारात्मक प्रभाव पार्न सक्छ । तर, धेरै पर्यटकलाई यस रूटमा लान सकिएको छैन । पर्यावरणीय सन्तुलन कायम राख्दै, सुरक्षित र व्यवस्थित पर्यटन प्रवर्द्धन गरी यसलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न नेपाल सरकारले विशेष नीति र योजना ल्याउन आवश्यक छ । यदि ग्रेट हिमालयन ट्रेलमा उपयुक्त पूर्वाधार बनाउन सकियो, उचित प्याकेजको प्रचार गर्न सकियो र उपयुक्त सेवा दिन सकियो भने नेपाललाई विश्वकै शीर्ष साहसिक पर्यटन गन्तव्य भनेर चिनाउन सकिन्छ । पदयात्रामा अहिले नेपालको जुन चिनारी छ त्यसलाई यसले अझ बढी स्थापित गर्नेछ ।
लेखक पर्यटन व्यवसायी हुन् ।