काठमाडौं । पाँच म्युचुअल फण्डहरूले प्रस्ताव गरेको यस वर्षको लाभांश असोज १० गतेसम्म कायम रहेका इकाईधनीहरूले मात्र पाउने भएका छन् । एनएमबी फिफ्टी, एनएमबि हाईब्रिड फण्ड एल–१, सनराइज फर्स्ट म्युचुअल फण्ड, सानिमा इक्वीटी फण्ड र प्रभु सेलेक्ट फण्डको प्रतिफल असोज १० गतेसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्ने भएका हुन् ।
यी पाँच कम्पनीहरूले प्रस्तावित प्रतिफल प्रयोजनका लागि तय गरिसकेको बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम इकाईधनीहरू मात्र प्रतिफल पाउन योग्य भएका हुन् ।
एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी फिफ्टी र एनएमबि हाईब्रिड फण्ड एल–१ ले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्न लागेका हुन् । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट एनएमबी फिफ्टीले करसमेत १५ प्रतिशत र एनएमबि हाईब्रिड फण्ड एल–१ ले पनि करसमेत १५ प्रतिशत नै प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने भएको हो । यस फण्डले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट इकाईधनीहरूलाई करसमेत १६ प्रतिशत नगद लाभांश प्रतिफल वितरण गर्न लागेको हो ।
सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्वीटी फण्डले पनि प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस वर्ष योजनाले १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले प्रस्तावित प्रतिफल प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्ने भएको छ । फण्डले गत आर्थिक वर्ष ०७९/८० को लागि करसमेत ९ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । यस योजनाले पहिलो पटक प्रतिफल वितरण गर्न लागेको हो । कम्पनीहरूको बुक क्लोजको आधारमा नेप्सेले यी कम्पनीहरूको इकाई मूल्यसमेत समायोजन गरेको छ ।
नेप्सेले असोज १० गतेसम्म कायम इकाई मूल्यको आधारमा एनएमबी फिफ्टीको इकाई मूल्य प्रतिफलपछि ९ रुपैयाँ ७७ पैसा तोकेको छ । एनएमबि हाईब्रिड फण्ड एल–१ को प्रतिफल पछिको इकाई मूल्य नेप्सेले ९ रुपैयाँ ८४ पैसा तोकेको छ ।
सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजनपछि ९ रुपैयाँ ६७ पैसा र सानिमा इक्वीटी फण्डको इकाई मूल्य समायोजनपछि ९ रुपैयाँ ९७ पैसा तोकिएको छ । नेप्सेले प्रभु सेलेक्ट फण्डको इकाई मूल्य समायोजनपछि ८ रुपैयाँ ३० पैसा तोकिएको छ ।