काठमाडौंमा फोहोर व्यवस्थापनका लागि कुनै दीर्घकालीन र विश्वासिलो उपाय भेटिएको छैन । फोहोरमाथि गरिएको वा हल्ला फैलाइएको अराजनीतिमाथि बिराम लगाएर देशको राजधानीलाई गन्धमुक्त बनाउन फोहोर व्यवस्थापनलाई तार्किक अन्त्यको विन्दुमा पुर्याउन सबैले तन, मन वचनले प्रयास गर्नु आवश्यक छ ।
पहिलो कुरा फोहोरलाई अनिवार्य रूपमा कुहिने, नकुहिने, शिशा र आल्मुनियम तथा फलामजस्ता ठोस गरी ४ फरक तरीकाले छुट्ट्याएर राख्ने जिम्मेवारी आम परिवारलाई लिऊँ र दिऊँ । यसमा अलिकति लापरबाही गर्नेलाई ठाउँको ठाउँ ट्राफिक नियम मिच्नेलाई जस्तो चीट काटेर जरीवानाको व्यवस्था तिराउने व्यवस्था गरौं ।
फोहोर फाल्न प्राय: प्लास्टिक ब्यागको प्रयोग हुन्छ । त्यसको विकल्प खोजेर फोहोरलाई प्लास्टिकमुक्त बनाउन आवश्यक छ । यसो गर्दा कुहिने फोहोरलाई आधुनिक प्रविधिमार्फत मलका रूपमा प्रयोग गर्न सकिन्छ ।
बन्चरे डाँडा होस् वा अन्य कुनै ठाउँ होस् फोहोर फाल्न वा प्रशोधन गर्न जमीन त चाहिन्छ । भारतको मुम्बईमा फोहोर व्यवस्थापनको काम ज्यादै वैज्ञानिक तरीकाले गरिएको छ । फेरि पनि ११० हेक्टर जमीन फोहोर व्यवस्थापनका लागि छुट्ट्याइएको छ । शहरी क्षेत्रको प्रदूषणले छोटो समयमा धेरै नकारात्मक असर पार्ने भएकाले फोहोर व्यवस्थापनमा कहीँ कतैबाट अवरोध आउन नदिने प्रण गरौं ।
फोहोर जहिले पनि मानव बस्तीभन्दा केही पर केही टाढा फाल्ने बिस्तारै त्यहाँ मानवको बस्ती बढ्न थालेपछि बिस्तारै पर सार्ने टालटुले चलन छ । यसो गर्नुभन्दा लगभग १०० वर्ष ठाउँ परिवर्तन गर्न नपर्ने व्यवस्था गरौं । विज्ञानले जतिसुकै प्रगति गरे पनि फोहोररहित मानव अवतार सम्भव छैन र हुने छैन ।
काठमाडौंको फोहोर समस्या बल्झिरहनुमा स्थायी ठाउँको व्यवस्था नहुनु र टालटुले तरीका अवलम्बन गरिनु समस्याको मूल कारण हो । २०६२ सालमा २ वर्षका लागि भनी सिसडोलमा फोहोर फाल्न थालिएकोमा १६ वर्षसम्म त्यही ठाउँमा फोहोर फालियो, जहाँ ४३२ रोपनी जग्गामा फोहोर फाल्ने गरिएको थियो । अहिले बञ्चरेडाँडामा लगभग ७०० रोपनी जति जग्गामा फोहोर व्यवस्थापन गर्ने भनिएको छ । तापनि समस्या ज्यूँका त्यूँ छ । फोहोर व्यवस्थापन नेपालको मात्र समस्या होइन विश्व नै यसबाट प्रताडित छ । यसैले विश्व अनुभवबाट पनि हामीले केही कुरा सिक्नुपर्छ ।
पहिलो कुरा जैविक फोहोर अर्थात् कुहिने फोहोरहरू जतिसक्दो छिटो व्यवस्थित तरीकाले डिस्कम्पोज गरेर मल बनाउने प्रविधिको विकास गर्नुपर्छ । यसका लागि घरघरमा नै फोहोरको वर्गीकरण गर्नु अति नै उत्तम तरीका हो । कुहिने फोहोर सबैभन्दा छिटो व्यवस्थापन गर्नुपर्छ किनकि यसबाट २/४ दिनमै मिथेन ग्यास वायुमण्डलमा आउँछ । मिथेन कार्बनडाइअक्साइडभन्दा पनि खतरनाक हुने गर्छ ।
अब फोहोर व्यवस्थापनका लागि अलि फरक तरीकाले सोचौं ।
स्थायी स्थानको छनौट : सर्वप्रथम अब कहिल्यै परिवर्तन गर्न नपर्ने गरी ठाउँ चयन गरौं । त्यो ठाउँको वरिपरिको जग्गासमेत मुआब्जासहित अधिग्रहण गरौं ।
जैविक फोहोरबाट मल : हाम्रो भान्साबाट निस्कने फोहोरको ६० प्रतिशत अंश जैविक फोहोर नै हुन्छ । यसलाई मल बनाउने भन्न सजिलो छ काम गर्न गाह्रो छ । यसका लागि भारतको राजधानी दिल्लीको फोहोर फाल्ने ठाउँ गाजीपुरमा गरिएको प्रयासलाई बुभ्mन सान्दर्भिक हुन सक्छ । यो एशियाको सबैभन्दा ठूलो ल्यान्डफिल साइट हो । ७० एकडमा फैलिएको यो ल्यान्डफिल साइटमा लगभग दैनिक ३ हजार मेट्रिक टन फोहोर प्रशोधन गरिन्छ । त्यसको व्यवस्थापनका लागि दर्जनांैको संख्यामा ट्रोमेल मेशिन कम ब्यालिस्टिक सेपरेटरको प्रयोग गरिएको छ । यसले फोहोरलाई कुहिने र नकुहिनेमा छुट्ट्याउँछ र कुहिने फोहोरलाई तत्कालै मल बनाउने प्रक्रियामा लैजान्छ ।
नकुहिने ठोस धातुजन्य फोहोरलाई यथासम्भव अलग गरी रिसाइक्लिङ प्रक्रियामा लगिन्छ । यो महँगो छ, नेपालका लागि सम्भव छ छैन भन्नेबारेमा गहन छलफल गरेर नेपालले पनि प्रविधि अनुकरण गर्न सक्छ ।
ई–फोहोर व्यवस्थापन रणनीति : काठमाडौंलगायत ठूला शहरमा अन्य फोहोरका साथै इलेक्ट्रोनिक फोहोरको व्यवस्थापन झनै चुनौतीपूर्ण बनेको छ । यसमा मोबाइल, ल्यापटप, टिभी, डेस्कटप आदि सबै प्रकारका इलेक्ट्रिोनिक सामान बिग्रेपछि त्यसलाई फोहोरमा फाल्ने गरिएको छ । यसबाट आम्दानी गर्न सकिन्छ । जापानले २०२० ओलम्पिक गोल्ड मेडलको धातु यस्तै साधनबाट सुन निकालेर बनाएको हो भन्ने खबर बाहिर आएको थियो । अन्य फोहोर र ई–फोहोरको व्यवस्थापन केही फरक हुन्छ । यसबाट मल बन्दैन । देशले सबै प्रकारका फोहोर व्यवस्थापनका लागि दीर्घकालीन उपायको खोजी गर्न जरुरी नै छ ।
एउटा नितान्त फरक उपायका बारेमा पनि सोच्न वाञ्छनीय हुन सक्छ । यद्यपि त्यसका अनेक फाइदा बेफाइदा सम्भव र असम्भव अनेक विश्लेषण गर्न बाँकी नै रहला तर एउटा यस्तो उपाय अपनाउन सकिन्छ । काठमाडौंको जैविक फोहोरलाई निश्चित प्रकारका बोरामा पोका पारेर बाग्मती नदीको चोभार खण्डबाट बगाएर तराईमा लैजाने, त्यहाँ एक सहज ठाउँमा अर्को बाँध बनाएर माथिबाट गएका बोरालाई जमीनमा ल्याएर कुहाउने व्यवस्था गर्ने हो भने आधा तराईलाई मल पुर्याउन सकिन्छ । यसका लागि चोभर तल गणेश मन्दिरनेर राम्रो डिजाइन मिलाएर बाँध बाँधेर पानी ट्यांकी बनाउने अनि १०/१२ ट्रक फोहोर पानीमा राखेर बाँधको मुख खोल्ने अनि तराईमा अर्को बाँधबाट बोरा झिकेर गर्मीमा फोहोरबाट मल बनाएर थोरै मूल्यमा मल बेच्ने हो भने ज्यादै सजिलो तरीकाले फोहोर व्यवस्थापन हुनेछ ।
यसको इञ्जिनीयरिङ डिजाइनका बारेमा सम्बद्ध विषयका ज्ञाताबाट नक्सा बनाउनुपर्ने हुन्छ । यसबाहेक वातावरणीय पक्षमा पनि केही अध्ययन हुनुपर्ने छ । यस तरीकाले नेपालको कृषि उत्पादन बढाई खाद्यान्नमा आत्मनिर्भरतातिर लैजान सकिनेछ । यो फोहोरको मल, गाईभैंसी वा रासायनिक मलको पूर्ण विकल्प होइन तर पनि यसले उत्पादन बढाउन भूमिका खेल्छ । यस प्रविधिले मात्रै फोहोर व्यवस्थापन नगरेर उत्पादन बढाउने महान् जैविक भूमिका निर्वाहन गर्ने छ ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।