काठमाडौं। एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न गरेको छ । काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत अन्य सरोकारवाला एवं निर्णायक व्यक्तिहरूको उपस्थिति थियो । उक्त कार्यक्रम नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्यमा केन्द्रित रहेको बताइएको छ । कार्यक्रमका सहभागीले नेपालमा प्राइभेट इक्विटीका अवसरका बारेमा संवाद एवं छलफल गरेका थिए ।
कार्यक्रममा कम्पनीको भिजन र मिसनका बारेमा स्पष्ट पार्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले नेपालको समग्र आर्थिक वृद्धिमा प्राइभेट इक्विटीको महत्त्वलाई जोड दिँदै नेपालमा प्राइभेट इक्विटी क्षेत्रका अवसरका विषयमा थप प्रस्ट्याएका थिए । कम्पनीका अध्यक्ष सचिन तिब्रेवालले प्राइभेट इक्विटीमा लगानी विस्तार गर्ने एनआइबिएल इक्विटी पार्टनर्सको प्रतिबद्धतामा जोड दिएका थिए । साथै देशको समग्र वित्तीय क्षेत्रलाई अगाडि बढाउन सरोकारवालाले सहकार्य गर्नुपर्ने उनको भनाइ थियो । थट नेतृत्व, स्ट्राटेजिक नेटवर्किङ र अनुभव आदान प्रदानको उत्कृष्ट सम्मिश्रणले ‘इन्भेस्टर्स सर्कल’लाई प्रभावकारी बनाएको कम्पनीको भनाइ छ ।