काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा छूट पाउने भएका छन् । बैंक र होटलबीच भएको दुईपक्षीय समझदारीअनुसार यस्तो व्यवस्था गरिएको बताइएको छ । छूटसम्बन्धी सम्झौतामा बैंकका रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र होटलका फूड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार बैंकका ग्राहकले होटलमा सेवा सुविधाको भुक्तानी गर्दा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक तथा एटिएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छूट दिइने बताइएको छ । यस्तो छूट खानेकुरा तथा पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा लागू हुने समझदारीमा उल्लेख छ ।
नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने र्याडिसन होटल आतिथ्य सेवा (हस्पिटालिटी) उद्योगमा विशिष्ट सेवा दिने परिचित संस्था हो । होटलसँगको समझदारीले बैंकका ग्राहकले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने बैंकको अपेक्षा छ । ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको बैंकको भनाइ छ । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१७ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।