नेपाल उद्योग वाणिज्य महासङ्घले औद्योगिक सम्बन्ध मञ्च (इण्डष्ट्रियल रिलेशन फोरम) गठन गर्न पहल थालेको छ । औद्योगिक प्रतिष्ठान र श्रमिकका बीच सुमधुर सम्बन्ध स्थापित गर्दै उद्योगको उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले गठन गर्न खोजिएको यो मञ्चले निश्चय पनि बहुप्रतीक्षित असल औद्योगिक सम्बन्धको परिकल्पना गरेको छ । नेपालका प्रमुख ट्रेड युनियन र उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरू संलग्न रहने व्यवस्था गरिएको यस मञ्चले मुलुकभरिका औद्योगिक प्रतिष्ठान र श्रमिकहरूका बीच आउने समस्यालाई समाधान गर्ने विश्वास लिइएको छ । आधिकारिक ट्रेड युनियन र उद्योगपतिहरू सम्मिलित यो मञ्च धेरै पहिले गठन भइसक्नुपथ्र्यो । यसबाट औद्योगिक क्षेत्रमा उत्पन्न हुने तनाव र समस्याहरू समाधान गर्न मजदूर र उद्योगपतिले अन्त कतै धाइरहनुपर्ने अवस्थाको अन्त्य भइसक्ने थियो । यद्यपि, उद्योग र श्रमिकबीचको समस्या समाधान गर्न सरकार, उद्योगी र मजदूर सङ्गठन संलग्न त्रिपक्षीय सल्लाहकार समिति पनि छ ।
तर, सल्लाहकार समिति र विभागको पहलबाट मात्रै श्रमिक र औद्योगिक प्रतिष्ठानबीचका समस्या पूर्णरूपमा समाधान हुन सकेका छैनन् । सरकारमा रहने पार्टीनिकट ट्रेड युनियन भएको अवस्थामा त यस्ता समस्या समाधान हुनुको सट्टा झनै जटिल बन्दै जानेसमेत देखिएको छ ।
(सम्पादकीयबाट) वर्ष ७, अंक ३३९, मंगलवार ५ भदौ, २०६९