काठमाडौं । फ्रान्समा गत आइतवार सम्पन्न पहिलो चरणको संसदीय चुनावमा राष्ट्रपति इमानुएल म्याक्रोनको दल रिनेइसान्स् पार्टी तेस्रो भएको छ ।
गृह मन्त्रालयले सोमवार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार विपक्षी मरिन ले पेनको अति दक्षिणपन्थी पार्टी नेशनल र्याली (आरएन)ले ३३.१५ प्रतिशत मत ल्याएर सबैभन्दा अगाडि छ । यस्तै, वामपन्थी न्यू पपुलर फ्रन्ट (एनएफपी) गठबन्धनले २७.९९ प्रतिशत मत पाएर दोस्रो हुँदा राष्ट्रपति इमानुएल म्याक्रोंको दलले २०.७६ प्रतिशत मत पाएको छ ।
अब यही जुलाई ७ मा दोस्रो चरणको चुनाव हुँदैछ । पहिलो चरणको चुनावमा आफ्नो दल तेस्रो भएपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले दोस्रो चरणको निर्वाचन अभियान सशक्त बनाउने बताएका छन् ।
दोस्रो चरणको निर्वाचनपछि ५७७ सदस्यीय राष्ट्रिय सभामा आरएनले बहुमत पाउने मतदान एजेन्सीहरूले अनुमान गरेका छन् । तर, पूर्ण बहुमतका लागि आवश्यक पर्ने २८९ सिट पार्टीले प्राप्त गर्ने आधार स्पष्ट भइसकेको छैन ।
कसरी गरिन्छ फ्रान्समा चुनाव ?
फ्रान्सको संसदीय चुनाव दुई चरणमा सञ्चालन गरिन्छ । उक्त निर्वाचनमा दर्ता भएका कुल मतदाताको कम्तीमा २५ प्रतिशतले मतदान गर्नुपर्छ ।
पहिलो चरणमा विजयी हुनका लागि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । त्यसो गर्न असफल भएमा, शीर्ष दुई उम्मेदवारहरूबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ । दोस्रो चरणमा प्रतिस्पर्धाका लागि उम्मेदवारहरूले पहिलो चरणमा दर्ता भएका मतदाताको कम्तीमा १२.५ प्रतिशत मत पाउनुपर्छ । एजेन्सीको सहयोगमा